
२०८१ असोज १८ गते खाजा समयमा वस्ती सर र म ‘अखडा’मा बसेर कुरा गरिरहेका थियौं । सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ कतिसम्म पुगेछ भनेर हेर्न फोनमा इन्टरनेट खोलेको थिएँ । त्यही बेलामा म्यासेन्जरमा शेषराज शिवाकोटीज्यूको एउटा म्यासेज आयो । म्यासेजमा ‘Ghar banaune kam sakiyeko bhaye, Nyayako Prakash Osti Anka- 4 (Last Anka) ko lagi – Praksh Ostiko yogdan bare ma -yo dashain bidama ek bistrit lekh lekhna pay hunthyo Madhav sir.’ भन्ने लेखिएको थियो । यो म्यासेजमा ‘घर बनाउने काम सकिएको भए…’ भनेर लेख्नुको कारण मैले अघिल्लोपटक उहाँले वस्ती सरको विषयमा लेख्न अनुरोध गर्दा मैले घर बनाउँदैछु भनेर टारेको थिएँ । त्यही कारणले त्यस्तो लेखिएको हो । खासमा साँच्चै लेख्न नभ्याउने भएर नभई नलेख्नकै लागि निहुँ बनाएको थिएँ ।
शिवाकोटी सरको यस्तो म्यासेज आएपछि त्यो म्यासेज वस्ती सरलाई देखाउँदै, “शेषराज शिवाकोटीले तपाईँको विषयमा लेखिदिनू भनेर मार्न लाग्नुभयो । अहिले पनि अर्को म्यासेज आयो । म अहिले नै तपाईँको विषयमा लेख्दिनँ । तर, उहाँलाई अहिले लेख्दिनँ पनि भनेको छैन । लेख्दिनँ भन्यो भने झन् किन, कसो, कहिले आदिजस्ता धेरै प्रश्नहरूको जवाफ दिनुपर्छ । त्यही भएर घर बनाउँदै छु भनेको, नछाड्ने पो हुनुभयो,” भनेँ ।
मैले म्यासेज देखाउँदै त्यसो भनेपछि वस्ती सर मुसुक्क हाँस्नु मात्रै भयो । केही प्रतिक्रिया जनाउनु भएन । त्यसपछि हामी जुन विषयमा कुरा गरिरहेका थियौं त्यसैमा फेरि केन्द्रित भयौं । त्यस विषयमा केही कुरा गर्ने विषय र प्रसंग दुवै भएन ।
***
पुस १४ गते उहाँको पार्थिव शरीर सद्गदका लागि विद्युतीय शवदाह गृहको भट्टीमा राख्नुअघि केही समय त्यसैको दलानमा राखिएको थियो । उहाँको मुहार ढाकेकाले म र मित्र विजयप्रसाद मिश्रले अनुहार खोल्न अनुरोध गर्यौं । कसैले ढाकेको कपडा हटाइदिनुभयो र उहाँको अन्तिम दर्शन गर्दै केही तस्वीरहरू खिच्दै थिएँ । शवको अर्कोपट्टि शेषराज सर पनि हुनुहुँदोरहेछ । उहाँ र मेरो आँखा जुधे । त्यही बेलामा उहाँले, “वस्ती सरले तपाईँलाई लेख्न लाउनूस् भनेको भन्यै हुनुहुन्थ्यो, तपाईँले लेख्नुभएन,” भन्नुभयो । मैले त्यसबेला शिवाकोटी सरलाई केही प्रतिक्रिया दिइनँ । तर, त्यही बेलामा दिमागमा याद आयो- मैले शेषराज सरको म्यासेज देखाएर कुरा गर्दा वस्ती सर किन मुस्काउनेबाहेक केही नबोलेको भन्ने थाहा पाएँ ।
उहाँले माधवलाई लेख्न लाउनू भनेर शेषराज सरलाई भन्नुभएको रहेछ । मलाई शेषराज सरले पनि त्यो कुरा भन्नुभएन । वस्ती सरले पनि भन्नुभएन । शेषराज सरले पहिलोपटक लेख्न भन्नुभएको कुरा वस्ती सरलाई सुनाउँदै, “तपाईँ कम्तीमा ७५ वर्ष पनि नपुगी त के लेख्नु ? तपाईँको जीवनको उर्वर समयमा हुनुहुन्छ । अहिले नै लेख्दा कि त्यो लेखाइ तपाईँलाई फुलेल बनाउन तयार गरिएको प्रशंसाको पोखरी हुन्छ कि त्यो आंशिक मात्र हुन्छ । वास्तविक र समग्र मूल्याङ्कन हुँदैन, त्यसैले लेख्दिनँ,” भनेको थिएँ ।
मैले त्यसोभन्दा उहाँ सहमत नै हुनुहुन्थ्यो । तर, शेषराज शिवाकोटीलाई भने अर्कै कुरा गर्नुभएको रहेछ र पो शेषराज सरले मलाई पटक–पटक भन्नुभएको रहेछ । शेषराज सरले मलाई पटक–पटक भन्नुको कारण र ‘अखडा’मा वस्ती सर मुस्काएको मात्रै कारण त अन्तिममा मात्र थाहा पाइयो ।
वस्ती सर ! तपाईँलाई मैले लेखिदियोस् भन्ने भएको भए मैले शेषराज सरको म्यासेज देखाउँदा केही संकेत गर्न सक्नुहुन्थ्यो । म तपाईँको स्वास्थ्य र सक्रियता दुवै देखेर तपाईँबाट नेपालको कानूनी क्षेत्रले धेरै पाउँछ भन्ने विश्वासमा थिएँ र समग्र मूल्याङ्कन गरेर कम्तीमा ७५ वर्ष पुगेपछि लेखूँला भन्नेमा थिएँ । अर्कोतिर तपाईँले मलाई लेखिदेओस् भन्ने संकेतसम्म पनि नगरे पनि शेषराज सरलाई चाहिँ, “माधबलाई लेखाऊ” भन्नुभएको रहेछ । के तपाईँलाई दैवले केही छनक दिइसकेको थियो यस्तो हुन्छ भनेर ? मलाई नभनी शेषराज सरलाई भनेकोमा मेरो गुनासो र तपाईँलाई प्रश्न पनि छ ।
***
अघिल्लो अङ्कमा लेखेजस्तै उहाँ र म शिक्षक र विद्यार्थी कहिल्यै भएनौं यद्यपि कतिपय कुरामा म उहाँलाई गुरु मान्छु । धानबाली भित्र्याइवरी म २०४५ साल कार्तिक २७ गते प्रदर्शनी मार्ग पुग्ने बाटो सोद्धै नेपाल ल क्याम्पसमा छिरेँ । प्रमाण-पत्र तहमा उहाँले लेखेको प्रमाण कानून नामक पुस्तक क्याम्पसको गेटमा नै दुर्गाप्रसाद भन्ने पियनले बिक्री गर्नुहुन्थ्यो र मैले पनि किनेँ ।
उहाँको थर पनि मैले शुद्धरूपमा उच्चारण गर्न नजानेर किताबमा “वस्ती” लेखिएको भए पनि म “बस्ती” भनेर उच्चारण गर्थेँ । त्यस बेलामा उहाँले क्याम्पस छोडिसक्नुभएको थियो कि पढाउँदै हुनुहुन्थ्यो त्यो पनि थाहा भएन । त्यसैले विद्यार्थीकालमा उहाँसँग भेट भएन ।
म अधिवक्ता नभई अभिवक्ताबाट नै कानून व्यवसायमा छिरेँ । त्यस्तो गर्नुको कारण चाँडो वकिल हुने रहरले नभई अधिवक्ता हुनलाई भन्नु सही हुन्छ । अर्को शब्दमा, गुजारा चलाउँदै पढाइलाई अगाडि बढाउनुपर्ने बाध्यताका कारण पनि अभिवक्ताबाट नै कानून व्यवसायमा प्रवेश गरेँ । त्यसैले उहाँले नचिने पनि वस्ती सरलाई नमस्कार गर्ने मौका भनेँ म अधिवक्ता हुनुभन्दा अघिदेखि नै पाएँ हुँ । त्यसबेलाको मेरो र उहाँको यो परिचयचाहिँ ‘राजालाई सबैले चिन्छन्, तर राजाले कमैलाई चिन्छन्’ भनेजस्तो एकतर्फी थियो ।
ल क्याम्पसमा ५ वर्ष अध्ययन गरेपछि मैले बी. एल. उत्तीर्ण गरेँ । अधिवक्ताको इजाजत पाउन परीक्षा प्रणाली शुरू भइसकेको थियो । अधिवक्ताको इजाजतका लागि परीक्षा दिनेमध्ये म दोस्रो छिमलको हुँ । पैसा नभएकाले परीक्षा उत्तीर्ण गर्नेबित्तिकै अधिवक्ताको प्रमाण-पत्र लिन नपाए पनि वारेस र अभिवक्ताको हैसियतमा कानून व्यवसायमा २०४८ सालदेखि नै प्रवेश गरिसकेको थिएँ । म भोलि वकिल नै हुने हो भन्ने भएकाले समय मिलेको बेलामा सर्वोच्च अदालतमा बहस सुन्न जान्थेँ । उहाँले गरेको बहस पनि सुन्न जाने भए पनि, शायद स्वर मसिनो भएको र बहस गर्दा कतिपय वकिलजस्तो नउफ्रने भएकोले होला, त्यसबेला उहाँको बहसले मलाई त्यति आकर्षित गरेन ।
एकातर्फ त्यतिबेला मुद्दाको विषयवस्तु र ठहर गर्नुपर्ने प्रश्न बुझ्न सक्ने क्षमता ममा विकास भइसकेको थिएन पनि होला । अर्कोतर्फ ती कुरा बुझ्न सम्बन्धित मुद्दाको मिसिल नै पढ्नुपर्ने हुन्छ वा बहस शुरूदेखि नै सुन्नुपर्ने हुन्छ । ती कुरा नभएपछि आकर्षित हुने ठूलै स्वर हुनेको बहसमा हो । त्यसैले शुरूमा उहाँको बहसप्रति मलाई आकर्षण रहेन ।
प्राज्ञिक कुरामा पनि सक्रिय रहनुहुने कानून व्यवसायीहरूले धेरै अघिदेखि नै ‘कानून’ नामक जर्नल निकालिराख्नुभएको थियो । पुरानो कानून १८ अङ्क निस्केर बन्द भयो । पुरानो बन्द भएपछि २०५३ साल फागुनदेखि पुनः नयाँ साजसज्जा साथ नयाँ ‘कानून’ प्रकाशन हुन थाल्यो । खाजा खर्च कटाएर पनि शुरूदेखि नै मैले ‘कानून’हरू किनेर पढ्ने गरेको थिएँ । वस्ती सरसँगको सम्बन्ध एकपटक अमिल्याउने र बाँकी अवधि महकिलो बनाउने माध्यम पनि त्यही ‘कानून’ पत्रिका बन्यो । खासमा हाम्रो दोहोरो परिचय गराउने काम त्यही ‘कानून’ ले गर्यो ।
‘कानून’ हाम्रो परिचयको माध्यम बने पनि हाम्रो सम्बन्धलाई दीर्घजीवी बनाउनेचाहिँ हामी दुवैको अपनत्वप्रति अर्थात् आफ्नो इतिहासप्रति असीम मायाँ हो भन्ने लाग्छ । तर, त्यति लामो सम्बन्धमा हामीले कहिल्यै पनि हाम्रो सम्बन्धको अमिलोपन र महकिलोपनको विषयमा कुरासम्म पनि उठाएनौं । विगतलाई इतिहासको गर्तमा नै छोडिदियौं । कहिल्यै कोट्याएनौं । बरु हामीलाई बाँध्ने डोरीलाई नै कसरी कसिलो र खिरिलो पार्दै लाने भन्नेमा नै समय बितायौं । एकजनाले कुनै एउटा सानो कुरामात्रै पाए पनि अर्कोलाई सुनाइहाल्ने बानी विकास गर्यौं । त्यसले आ-आफ्ना परिस्थिति जेजस्ता भए पनि आ-आफूमा भएको ज्ञान तथा स्रोत बाँड्ने, एकअर्काको ज्ञानलाई परिमार्जन गर्नेलगायतका धेरै फाइदा पुर्यायो । त्यो बानीले हामी दुईजनालाई मात्र नभएर नेपाली कानूनी क्षेत्रलाई पनि केही न केही फाइदा गर्यो भन्ने मेरो बुझाइ छ । आफूले थाहा पाएका कुरा बाँड्नमा दुवैले कहिल्यै कन्जुस्याइँ गरेनौं । यसले हामीहरूको सम्बन्धलाई फेरि कहिल्यै अमिलिन दिएन । हामीमा भएको ज्ञानलाई परीक्षण, संपरीक्षण र परिमार्जन गर्न थप मद्दत गर्यो ।
मानव अधिकार आयोग सदस्यको कार्यकाल समाप्त भएपछि उहाँको सार्वजनिक सेवामा पूर्णविराम लाग्यो । त्यसपछि उहाँ पूर्णकालीन अध्ययनकर्ता र लेखक बन्नुभयो । मचाहिँ चुलोचौको चलाउन अदालत धाउनुपर्ने बाध्यता भएकाले अधिकांश समय अदालत र मुद्दाका मिसिलमै बित्ने हुँदा मुद्दा बाहेकका कुरामा लाग्न पनि फुर्सद नै निकाल्न पर्ने बाध्यता थियो र छ । त्यसैले मैले उहाँलाई त्यति धेरै सहयोग गर्न सकिनँ । मैले अहिलेको चरणलाई जीविकोपार्जन गर्दै पछिको लागि प्रमाण जुटाएर राख्ने चरणको रूपमा उपयोग गरिरहेको छु ।
दोहोरो परिचयदेखि सम्बन्ध अमिलिनेसम्मः
‘कानून’ को अङ्क ८ मा गणेशराज शर्माले ‘संविधानः आदर्श र यथार्थहरूमा’ नामक र भीमार्जुन आचार्यले (उहाँले त्यतिबेला विद्यावारिधि गर्नुभएको थिएन) ‘वर्तमान संविधानमा न्यायिक पुनरवलोकनको प्रयोग’ शीर्षकमा लेख लेख्नुभएको थियो । ती लेखका केही कुरा र सम्पादकीय पद्धतिसमेतलाई लिएर मैले ‘अलि मिलेन कि ?’ भन्ने शीर्षकमा पाठक प्रतिक्रिया लेखेको थिएँ (कानून, अङ्क १०, पृष्ठ ३४ मा प्रकाशित छ) । त्यो लेखाइ नै मेरो उहाँसँगको दोहोरो परिचयको माध्यम हो ।
गणेशराज शर्माले ‘कानून’ मा प्रकाशित मेरो पाठक प्रतिक्रियाको जवाफमा केही लेख्नुभएन । बरु भेटेको बेलामा ‘तपाईँले स्रोत दिएर लेख्नुपर्छ भन्नुभएको रहेछ । तपाईँको कुरा ठीक हो । त्यसो गर्दा हाम्रै लेखलाई आधिकारिक बनाउँछ । तर, अब हामी बूढा भइसक्यौं । तपाईँहरूको जस्तो युवा जोश छैन । त्यसैले म त तपाईँले भनेजस्तो गरी लेख्न सक्दिनँ,’ भन्नुभयो । भीमार्जुन आचार्यले भने निकै कडा भाषामा जवाफ लेख्नुभयो ।
भीमार्जुनजीको प्रतिक्रिया आएपछि मैले पनि पुनः प्रतिक्रिया लेखेर प्रकाशनका लागि वस्ती सरलाई दिएँ । साथै, मेरो लेखाइका स्रोतहरूको फोटोकपी पनि दिएँ र भीमार्जुनजीलाई पनि यदि तपाईँलाई सही छु भन्ने लाग्छ भने स्रोतसहित लेख्नुहोला भनेर लेखेको थिएँ । मेरो त्यो पुनः प्रतिक्रिया अङ्क १४ मा प्रकाशित हुने भनेर अङ्क १३ को ३२ औं पृष्ठमा “आगामी अङ्कका लेखक” भनेर प्रकाशित पनि भएको थियो । तर, खै कुन्नि किन हो त्यो प्रकाशित भएन । मैले किन प्रकाशित भएन भनेर सोधे पनि वस्ती सरबाट त्यसको खास कारणसहितको जवाफ कहिल्यै पाइनँ । उहाँले सिधा जवाफ नदिई तर्काउनुभयो । त्यसबाट मलाई अलि चिसो लाग्यो, यद्यपि मैले केही प्रतिक्रिया जनाइनँ बरु जसरी पनि मेरो लेखाइ प्रकाशन गर्नुपर्छ भन्ने लागेर मैले ‘नजीर’ भन्ने अर्को जर्नलमा प्रकाशन गरेँ । भीमार्जुनजीले त्यसपछि आफ्नो लेखाइको प्रतिरक्षा गर्नुभएन । त्यसैले त्यो त्यहीँ सिद्धियो ।
अघिल्लो अङ्कमा आगामी अङ्कमा प्रकाशित हुने भनेर छापेर पनि प्रकाशित नगर्दा स्वाभाविक रूपमा नै मन कताकता खसक्क भयो र पनि कानून र वस्ती सरलाई माया मार्ने तहमा भने पुगिसकेको थिइनँ ।
तिनताका सर्वोच्च अदालतले आवश्यक नभए पनि निर्देशनात्मक आदेश जारी गर्ने, परमादेश जारी गर्नुपर्ने भए पनि आवश्यकचाहिँ जारी नगर्ने तर त्यसको सट्टामा निर्देशनात्मक आदेशहरू जारी गर्ने गरिरहेको थियो । वस्ती सरले मलाई निर्देशनात्मक आदेशको बारेमा लेख्न भन्नुभयो । उहाँको आग्रहलाई मानेर “निर्देशनात्मक आदेशका बारेमा एक प्राक्कथनीय टिप्पणी” (कानून पूर्णाङ्क ३४ पृष्ठ ५९-६३) शीर्षकको लेख लेखेँ । त्यो पनि फेरि निक्कै सम्पादन भएछ । त्यत्रो सम्पादन भएको मैले सुइँको पनि पाइनँ ! फेरि पनि मन कटक्क खायो । त्यस बेलाचाहिँ उहाँसँग असन्तुष्टि पोखेँ । फेरि पनि उहाँले कुनै खास कारण दिनुभएन । मौनतालाई नै जवाफ मान्नुपर्ने अवस्था आयो ।
लेख भन्न पनि नछोड्ने, जतिपटक लेख्यो उतिपटक सम्पादन गर्न पनि नछोड्ने, सम्पादन गर्नुअघि जानकारी पनि नदिने र सम्पादन गर्नुको कारण पनि नभन्ने भएकाले म भित्रभित्रै तातिइसकेको थिएँ र पनि खासै केही भनिहालेको थिइनँ ।
त्यसपछि गज्जब त के भयो भने त्यसको केही समयपछि नै अकस्मात् मेरो “बढुवा” गरी प्रबन्ध सम्पादक बनाइदिनुभयो । अब त झन बोल्ने कुरै भएन । मलाई नै प्रबन्ध सम्पादक बनाइदिएपछि त अब मेरा लेखहरू मैले सोचेभन्दा फरक गरी सम्पादन पनि नहोलान् भन्ने आशा पनि पलायो । ‘कानून’जस्तो पत्रिकाको प्रबन्ध सम्पादक हुनु ठूलो कुरा हो भनेर नाक पनि टिप्न बिर्सेको घिरौंलाजत्रो बनाएँ । खासभन्दा एक किसिमले मभित्र लोभ पलायो । त्यसैले अगाडि तात्तिएको भए पनि म फनक्क १८० डिग्री घुमेर उहाँको प्रस्ताव स्वीकार गरेर प्रबन्ध सम्पादक भएँ ।
त्यसपछि "कानूनको आगामी अङ्क मानव अधिकारसम्बन्धी अङ्क निकाल्ने भएकाले मूल लेख तपाईँले नै लेखिदिनुस् । नेपालका कानूनी, ऐतिहासिक सामग्री तपाईँसँग धेरै छन्" भनेर भन्नुभयो । म फेरि मख्ख ! एकातिर प्रबन्ध सम्पादक भएको, अर्कोतिर मानव अधिकारका सम्बन्धमा मूल लेख लेख्न जिम्मेवारी पनि पाएको ! पहिला मेरा लेख मैले थाहा नपाई सम्पादन हुने भए पनि अब त आफैँ प्रबन्ध सम्पादक भएकाले सम्पादन हुने सम्भावना पनि रहेन र केही सम्पादन गर्नुपर्ने भए पनि प्रकाशन हुनुभन्दा अघि नै आफूले थाहा पाउने भएकोले मेरा त भुइँमा खुट्टै भएनन् । फुर्किनुसम्म फुर्किइयो !
पद प्रबन्ध सम्पादकको भए पनि केही पनि “प्रबन्ध” गर्ने वा सम्पादन गर्ने काम पाइएन । पदअनुसारको काम नपाएपछि दुःख पनि लागेको थिएन । कानून हरेक दोस्रो महिनाको १५ गते प्रकाशन हुन्थ्यो । मेरो लेखमा केही पनि सम्पादन गर्नुपर्छ भनेर नभनेकाले मैले जे लेखेँ त्यही प्रकाशन हुन्छ भनेर विश्वस्त थिएँ । तर, जब प्रकाशन भयो त्यसपछि फेरि उही कर्म दोहोरिएछ ! यसपटक त झन धेरै तलमाथि भएछ । प्रबन्ध सम्पादक भएर पनि सुइँको पाइनँ !
आफैँ “प्रबन्ध सम्पादक” आफ्नै लेख थाहा नपाई सम्पादन भएपछि ‘कानून’सँगको सम्बन्धलाई निरन्तरता दिनुको अर्थै देखिनँ । त्यसैले ‘कानून’ प्रकाशन गर्ने संस्था- कानून व्यवसायी क्लब-को सदस्यबाट नै राजीनामा दिएँ । त्यसपछि उहाँ र मेरो सम्बन्ध केवल औपचारिकतामा सीमित रह्यो । म पनि सकेसम्म नमस्कार पनि गर्न नपरोस् भनेर तर्किन्थेँ । उहाँ पनि नमस्कार पनि फर्काउन नपरोस् जस्तो गर्नुहुन्थ्यो । त्यस बखतमा हाम्रो सम्बन्ध यसरी सिद्धियो ।
पढ्नुहोस्, भाग - १ :
प्रकाश वस्ती : सम्झाउनी-बिर्साउनी– १