
भौगर्भिक रचनाको जीवन्त इतिहास हो, पोखरा उपत्यका । परापूर्वकालमा भूकम्पीय गतिविधिले निर्माण गरेको पोखरा भौगर्भिक रूपमा जति सुन्दर छ उति नै कमजोर पनि । प्राकृतिक र भूकम्पीय गतिविधिले बगेर आएका लेदोले पोखरा उपत्यका बन्यो ।
अन्नपूर्ण हिमश्रृखंलाबाट सेती नदीले बगाएर ल्याएको चुनयुक्त लेदो माटोले पोखराको भूसंरचनालाई संवेदनशील बनाउँछ । यसकारण समयसमयमा पोखराको जमिनमा भ्वाङ परिरहन्छ । कतिपय भ्वाङ पोखराको भूबनोट अनुसार प्राकृतिक हुन् भने कतिपय मानवीय गतिविधिका कारण बनेका छन् ।
भौगर्भिक रूपमा संवेदनशील रहेको पोखरा कति सुरक्षित ? लोकान्तरसँग भूगर्भविद् श्रीकमल द्विवेदीले के भने, पढ्नुहोस् :
सेतीले ल्याएको ग्रेगानामा चुनयुक्त लेदो जुन छ, त्यो लेदो जमेर बनेको उपत्यका हो, पोखरा । कतिपय बलियो पनि छ । नजमेको चुनयुक्त कमेरो माटो पनि छ । ठाउँठाउँमा कमेरो माटो बगेर जाँदा बेलाबेलामा माथि रहेको भारवान क्षमता कम हुँदा खसेर भ्वाङ पर्छ ।
त्यसमाथि पनि अहिले मानवीय कारण छ । घरायसी ढल व्यवस्थित रूपमा नफाली आफैं सोसेर जान्छ भनेर छोडेका छौं । त्यसरी सोसेर जाँदा ढलको झोलले चुनलाई घुलाएर भ्वाङ पर्छ । दोस्रो, सेती आफैं पनि गहिरो गल्छीबाट बगिरहेको छ । त्यो सेती बग्ने क्रममा तलपट्टी कतिपय ठाउँमा खियाएको पनि हुनसक्छ ।
पोखरा आफैं पनि धेरै पानी पर्ने ठाउँ हो । एक त आकाशबाट धेरै पानी पर्छ । यस्तो चुनयुक्त ठाउँमा धेरै पानी पर्दा पानी आफैंले पनि खियाउने हुन्छ । त्यस्तोलाई हामीले कास्ट टोपोग्राफी भन्छौं । चुनयुक्त ठाउँमा भ्वाङ पर्ने प्राकृतिक कारण पनि छ । त्यसमाथि हाम्रो मानवीय कारण थपियो ।
हामीले ढललाई अव्यवस्थित रूपमा सेतीमा छिर्न नदिएर सकेदेखि शुद्धीकरणले मात्र पानी खोलामा बगाउनुपर्ने हो । अब तर त्यस्तो भएको छैन । ढल जहाँबाट बग्छ त्यसलाई सोझै लगेर खोलामा नदीमा मिसाएका छौं । मुख्यगरी पानीलाई व्यवस्थित गर्नुपर्यो । ढललाई छोड्नुभएन ।
सन् १९९८ मा खानी विभागले पोखराको जियोटेक्निकल इन्जिनियरिङ अध्ययन गरेको छ । कस्तो खालको अवस्थाको माटो अथवा चट्टान कस्तो छ भन्ने बारेमा नक्साकंन गरेको हो । कुनैपनि संरचना बनाउनुपूर्व इन्जिनियरले जमिनको भौगर्भिक अवस्था कस्तो छ भनेर त्यो नक्साको प्रयोग गर्नुपर्ने हुन्छ ।
भोलि जेसुकै होस् भनेर हल्का संरचना बनाउने कि कमसेकम पब्लिक भवनहरू, जहाँ धेरै मान्छेहरू जम्मा हुन्छन् त्यसको मूनि के छ कस्तो छ अध्ययन गरेर राम्रोसँग डिजाइन गर्ने ? सार्वजनिक भवनमा संरचना बनाउनुअघि जियोटेकनिकल इन्जियिनर बसेर राम्रोसँग डिजाइन गर्नुपर्छ ।
पश्चिमी क्षेत्रमा भूइँचालो नगएको पनि लामो समय भइसकेको छ । लगभग सन् १५०५ मा गढवाल भूकम्प गएपछि यो बेल्टमा भूइँचालो गएको छैन । त्यस्तो खालको भूइँचालोबाट सुरक्षित राख्न अहिलेदेखि बलियो संरचना बनाउनु आवश्यक छ। भोलि भूइँचालो आफैंले क्षति गर्ने होइन, हामीले बनाएको संरचना भत्किएर हुने हो ।
डेभिज फल्स र गुप्तेश्वर गुफा क्षेत्रमा विस्तृत अध्ययन नगरि भन्न सकिँदैन । मूनिपट्टी गुफा छ । गुफाको माथि बस्ती छ । त्यहाँ ट्वाइलेटको ढल जति सबै बगाइरहेका छौं । चुन खिइरहेको छ । केही पनि वास्ता नगरि बस्ने हो भने भोलि खिइँदै गएपछि यस्तो भएन भन्दै गुनासो मात्र गर्ने ? कति सुरक्षित बस्ती बसाउने ? जमिनमूनि के छ कसो छ भनेर बसाउने कि भोलि प्रकृतिको लिला हो जेपनि हुनसक्छ भनेर बस्ने ? व्यवस्थित बस्ती बनाउने हो भने त्यस्तो गर्न पाइएन ।
जियोलोजिकल म्याप पुरानो हुँदैन । त्यो भनेको कहाँ के छ भन्ने हो । त्यो नक्सांकन हो । त्यसमा कस्तो खालको माटो छ, कस्तो खालको चट्टान छ, के छ जमिनको अवस्था भन्ने नक्सांकन हो । जमिनको भारवान क्षमता कति हो, त्यो अध्ययन काम लाग्दैन भन्ने मान्छेले अर्को अध्ययन गर्नुपर्यो । आफैंले अध्ययन गर्नुपर्यो । त्यो नक्साले जनरल कुरा भन्छ । जस्तो; एउटा घर ठ्याक्कै यहाँ बनाउँदा के हुन्छ त्यसले देखाउन सक्दैन । त्यो कुरा विस्तृत अध्ययन गर्नुपर्यो । भौगर्भिक अध्ययन नगरिकन धेरै ठूलो संरचना बनाउनु हुँदैन ।
(लोकान्तरकी गण्डकी संवाददाता रिना थापाले भूगर्भविद् श्रीकमल द्विवेदीसँग गरेको कुराकानीमा आधारित)