
चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’को प्रसारण रोकिएको छ । तेस्रो सिजनको ९३ श्रृंखला उत्पादन, प्रसारणपछि सिरियल रोकिएको हो ।
परिष्कृत सिर्जनाको तयारीका लागि केही समय विश्राम लिएको सिरियसलका लेखक, कलाकार एवं निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले जानकारी दिएका छन् । उनका अनुसार चौथो सिजन चाँडै शुरू हुनेछ ।
‘यसबाट प्राप्त गरेको ज्ञान, सीप र अनुभवलाई विवेकसम्मत प्रयोग गरेर थप उत्कृष्टताका साथ हामी चाँडै नै चौथो सिजन लिएर आउने प्रतिवद्धता प्रकट गर्दछौ’, पाँडेले भनेका छन् ।
उनले चौथो सिजनमा कसरी आउनुपर्ला भनेर उनले दर्शक एवं शुभेच्छुकहरूसँग सुझाव समेत मागेका छन् ।
‘हामीलाई विश्वाश छ, यहाँहरूबाट निरन्तर प्रवाह भइरहेको सद्भाव, प्रेम र शुभेच्छामा कुनै कमी आउने छैन । चौथो सिजनमा हामी कसरी आउनुपर्ला?’, पाँडेले भनेका छन्, ‘कला सिर्जनामार्फत् नेपाली सामाजिक रूपान्तरणका लागि समाजशास्त्रमा आधारित मौलिक कथा, भाषा, शैली, पात्र, प्रवृत्ति (व्यक्ति/व्यक्तित्वका आचरण), पहिचान, संवेदनशीलता, भाइचारा, विविधताभित्रका मिठास जस्ता पक्षलाई कुन रूपमा उठाएको हेर्न चाहनुहुन्छ? यहाँहरूबाट प्राप्त हुने रचनात्मक एवं सिर्जनात्मक अपेक्षा र अनुभूतिप्रति सदैव ऋणी रहनेछौं ।’
सक्किगोनि टिमले बनाएको फिचर फिल्म ‘लाज शरणम्’ यतिबेला हलमा चलिरहेको छ ।