
प्रहरीले नयाँ नेतृत्व पाएसँगै ६ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को पद खाली भएको छ । बढुवा प्रतिस्पर्धीमा ११ प्रहरी नायब महानिरीक्षक (डीआईजी) छन् ।
गत सोमबारदेखि एआईजीहरू टेकप्रसाद राई, दुर्गा सिंह, बुद्धिराज गुरुङ, कुवेर कडायत र जनक भट्टराई गरी ५ जना ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गए । एआईजी दीपक थापा प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त भएपछि उनको समेत गरी ६ एआईजीको पद रिक्त भएको हो ।
प्रहरीमा जनपदतर्फ ८ एआईजीको दरबन्दी छ, जसमा अहिले २ एआईजी मात्रै छन् । एआईजी टेकबहादुर तामाङले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमान्ड गरिरहेका छन् । अर्का एआईजी सुदीप गिरीले प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान)को कमान्ड गरिरहेका छन् ।
एआईजीले कमान्ड गर्ने प्रहरी मुख्यालयभित्रका ५ वटा विभागहरू डीआईजीको नेतृत्वमा छन् । प्रशासन विभाग, कार्य विभाग, मानव स्रोत विभाग, अपराध अनुसन्धान विभाग, प्रदेश सामन्य विभागमा डीआईजीले नेतृत्व गरिरहेका हुन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख थापा आईजीपी बनेसँगै त्यहाँ पनि डीआईजी चन्द्रकुवेर खापुङले नेतृत्व गरिरहेको अवस्था छ ।
रिक्त एआईजी पदमा बढुवाका लागि प्रतिस्पर्धीहरूले अहिलेदेखि नै लबिङ शुरू गरिसकेका छन् । डीआईजीहरू खापुङ, मधेश प्रदेशका डीआईजी लाममणि आचार्य र बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्मा बढुवाका प्रमुख दाबेदारमध्येका हुन् । उनीहरू २९ चैत २०७९ मा डीआईजी बढुवा भएका थिए ।
१११ टोलीका डीआईजीहरू दानबहादुर कार्की, मनोज नेउपाने, राजन अधिकारी पनि एआईजी बढुवाका दाबेदार हुन् । कार्की हाल लुम्बिनी प्रदेश प्रहरी कार्यालय, केसी प्रहरी एकेडेमी र अधिकारी कोशी प्रदेश प्रहरीमा कार्यरत छन् । २०५३ मा इन्स्पेक्टरको रूपमा प्रहरी सेवामा प्रवेश गरेका डीआइजीहरू सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बि.क. पनि एआईजी बढुवाका प्रतिस्पर्धी हुन् ।
यीनै ११ जना मध्येबाट ६ जनालाई एआईजी बनाउनुपर्ने अवस्था छ ।
अहिलेका डीआईजीहरू एआईजीमा बढुवा भएपछि यिनै मध्येबाट एकजना आईजीपीमा बढुवाका लागि दाबेदार हुन्छन्, जसका कारण एआईजी बढुवा निकै पेचिलो हुने देखिएको छ ।
अघिल्लो ब्याचका खापुङ, शर्मा र आचार्यलाई नै सिनियर बनाएर बढुवा गरिएमा तथा नेपाल प्रहरी विधेयकले ऐनको रूप नलिएको अवस्थामा आईजीपी थापाको अवकाशपछि नियुक्त हुने आईजीपीले कात्तिक २६ गतेसम्म मात्र संगठनको नेतृत्व गर्न पाउँछ ।
थापाले भदौ १८ गतेसम्म प्रहरीको नेतृत्व गर्छन् ।
राष्ट्रिय अनुसन्धानबाट आएकालाई के गर्ने ?
हाल बढुवाका प्रतिस्पर्धीमध्ये डीआईजीहरू सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमा चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक सेवा परिवर्तन गरी राष्ट्रिय अनुसन्धान विभाग (राअवि)बाट अधिकृतकै रूपमा प्रहरी सेवामा प्रवेश गरेका अधिकृत हुन् ।
उनीहरू २०५३ पुस ५ मा नेपाल प्रहरीमा प्रवेश गरेका थिए ।
डीआईजीहरू क्रमशः खापुङ, आचार्य, पोखरेल, कार्की, केसी र अधिकारी भने शुरूमै नेपाल प्रहरीमा प्रवेश गरेका अधिकृतहरू हुन् । अहिले यो टोलीले सकभर राअविबाट आएकालाई नेतृत्वमा लैजानुहुँदैन भनेर लबिङ गरिरहेको उच्च स्रोत बताउँछ । तर, राअविबाट आए पनि डीएसपीबाट एसपी बढुवा हुँदा रोलक्रममा तलमाथि परे पनि एउटै मिति (२०७४ साउन १९) मा भएका थिए ।
एसपीबाट एसएसपी बढुवा हुँदा पनि उनीहरू एउटै मिति (२०७९ असार २५) मा भएका थिए । तर, एसएसपीबाट डीआईजीमा बढुवा हुँदा भने राअविका टोली पछि परे । २०८१ जेठ ४ गते डीआईजी बढुवा निस्किँदा कार्की, केसी र अधिकारीले बाजी मारे ।
डीआईजीबाट एआईजी बढुवा गर्दा बढुवा समितिको अध्यक्ष गृह सचिव, प्रधानमन्त्री कार्यालयको सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव हुन्छन् । यो समितिले नै कसलाई माथि ल्याउने वा नल्याउने निक्र्यौल गर्छ । ‘बढुवामा राजनीतिक चलखेल भएन भने एआईजी बढुवामा राअविका कोही पनि नअटाउने प्रस्ट देखिन्छ,’ गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरसँग भने, ‘मुखैमा आएको बढुवाका लागि डीआईजीहरू दौढधूप गर्नु स्वाभाविक मान्छन् ।’
राअविबाट आएका डीआइजीहरूमध्ये सिद्धिविक्रम शाह जसरी पनि एआईजी बढुवाको रोलक्रममा अघि हुने दाउपेचमा लागेका छन् । राजनीतिक पहुँचमा पनि उनी अरूभन्दा अब्बल रहेको प्रहरी अधिकारीहरू नै बताउँछन् ।
‘हामीलाई राअविबाट आएको भनेर होच्याउन मिल्दैन, हामी संगठनमा गुच्चा खेलाएर त बसेका होइनौं नि,’ बढुवा आकांक्षीमध्येका एक डीआईजीले लोकान्तरसँग भने, ‘ऐन र नियमावलीअनुसार कार्यसम्पादन मूल्यांकन हेरेर बढुवा गरिदिए भइहाल्यो नि !’
गृहसचिव दुवाडी भन्छन्– ‘यो र ऊ हेरिँदैन, ऐन र नियमावलीअनुसार हुन्छ’
गृहसचिव गोकर्णमणि दुवाडीले एआईजी, डीआईजी, एसएसपी हुँदै माथिबाट पदपूर्ति गर्दै जाने बताए । उनले लोकान्तरसँग भने, ‘एउटै संगठनमा काम गरेपछि यो र ऊ भन्न मिल्दैन । ऐन र नियमावलीले जसलाई उपयुक्त देख्छ, उसैलाई बढुवा गर्ने हो ।’
दुवाडीले कार्यक्षमता र कार्यदक्षताका आधारमा बढुवा गर्ने बताए । एआईजीले नेतृत्व गर्ने प्रहरीका केही विभाग डीआईजीका भरमा र डीआईजीले नेतृत्व गर्ने केही प्रदेश एसएसपीले चलाइरहेका छन् ।
यी स्थानमा दरबन्दी मिलान गर्नुपर्ने होला नि भन्ने प्रश्नमा सचिव दुवाडीले भने, ‘अब शुरूमा एआईजीको बढुवा गरिन्छ, त्यसपछि डीआईजी हुँदै तलका पदपूर्ति गर्दै लैजान्छौं । विस्तारै सबै स्थान पूर्ति हुन्छ ।’