०९ साउन २०८३, शनिबार
रुस-युक्रेन युद्ध अन्त्यको प्रयास

आ-आफ्नै डम्फु बजाउँदै ट्रम्प, जेलेन्स्की र पुटिन, अझै टाढा छ शान्ति !

चैत ७, २०८१
काठमाडौं
आ-आफ्नै डम्फु बजाउँदै ट्रम्प, जेलेन्स्की र पुटिन, अझै टाढा छ शान्ति !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्यका लागि यो साता तीव्र कूटनीतिक प्रयास गरे । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग र त्यसलगत्तै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको टेलिफोन वार्तालाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले युक्रेन युद्ध अन्त्यका लागि गरिएको सबैभन्दा ‘सघन पहल' भनेका छन् ।

तर, तीन वर्षअघि शुरू भएको युद्ध अन्त्यका प्रारम्भिक संकेत भने निराशाजनक छन् । पुटिनले ट्रम्पको ३० दिने युद्धविराम प्रस्ताव अस्वीकार गरेका छन् । युक्रेनको ऊर्जा संरचनामा आक्रमण नगर्ने तर, तत्काल युद्धविराम पनि नगर्ने पुटिनको रणनीति छ ।

तर, ट्रम्प भने आफूले लिएका सबै पहलकदमीलाई आफ्नो विजय भएको भन्दै अधिक आशावादी देखिएका छन् । सीएनएनले आफ्नो एक विश्लेषणमा भनेको छ, 'प्रत्येक पक्षले आफ्नो स्वार्थअनुसार कूटनीति खेलिरहेका छन् । वार्ता असफल भएमा यसमा संलग्न सबै पक्षले सार्वजनिक सम्बन्ध व्यवस्थापनको रणनीति अपनाइरहेका छन् ।'

ह्वाइट हाउसको दाबी र वास्तविकता
ह्वाइट हाउसले शान्ति प्रक्रियाको सम्भावना जीवित राख्न र ट्रम्पलाई कुशल 'सम्झौताकार'का रूपमा प्रस्तुत गर्न ठूलै प्रगति भएको दाबी गरिरहेको छ । तर, वास्तविकता केही फरक छ । पुटिनले युद्धविराम प्रस्ताव ठाडै अस्वीकार गरेका छन् ।

पुटिन अझै युद्ध अन्त्य गर्न इच्छुक देखिएका छैनन् । उनले युक्रेनका लागि नयाँ र अपमानजनक शर्तहरू अघि सारेका छन् । युक्रेनले आफ्नो सार्वभौमसत्ता गुमाउने गरी कुनै पनि सम्झौता नहुने प्रष्ट पारिसकेको छ । 

यद्यपि, पुटिनले पनि ट्रम्पसँग सम्बन्ध बिगार्न चाहँदैनन् । उनले ट्रम्पलाई 'दुई महाशक्ति देशबीचको सुमधुर सम्बन्ध'को आकर्षक नारा देखाएर लोभ्याउने रणनीति अपनाइरहेका छन् ।

जेलेन्स्कीले पनि ट्रम्पसँगको सम्बन्ध सुधार्न निकै सावधानी अपनाइरहेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ओभल अफिसमा भएको अघिल्लो विवाद दोहोरिन नदिन उनले ट्रम्पका अधिकांश प्रस्तावमा सहमति जनाएका छन् । 

जेलेन्स्कीले यसअघि युद्धविराम सम्झौताका लागि पुटिन योग्य नभएको बारम्बार भन्दै आएका थिए । यो पुष्टि भएको कतिपय अमेरिकी सञ्चारमाध्यमहरूको दाबी छ । 

युक्रेन र रुसको रणनीति
युक्रेन र रुस दुवैले ट्रम्पको ध्यानाकर्षण गर्न र शान्ति प्रक्रियामा अवरोधको दोष एकअर्कालाई लगाउन खोजिरहेका छन् । शान्तिका लागि पहल भइरहेको बेलामा पनि दुवै पक्षबीचको हिंसात्मक आक्रमण र प्रत्याक्रमण रोकिएको छैन । 

दुवै पक्षले एकले अर्कालाई अमेरिकी मध्यस्थतामा भएको ‘ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने' मौखिक सम्झौता तोडेको आरोप लगाएका छन् । ट्रम्पले केही दिनअघि पुटिनसँग गरेको कुराकानीमा ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने सहमति भएको दाबी गरेका थिए ।

तर, रुस र युक्रेन दुवैले यो आंशिक र अनौपचारिक तर महत्त्वपूर्ण सहमति मानिरहेका छैनन् । सीएनएन लेख्छ, 'यो सहमति नमान्नुको अर्थ हो, दुवैले ट्रम्पको प्रयासलाई गम्भीरतापूर्वक लिएका छैनन् ।'

यसले छिट्टै शान्ति सम्झौता हुँदैछ भन्ने ट्रम्पको दाबी पनि खण्डित गरेको छ । 

ह्वाइट हाउसले पुटिनको अडान र शर्तलाई बेवास्ता गर्दै २ दिनअघि भएको ट्रम्प-पुटिन वार्तालाई सकारात्मक रूपमा व्याख्या गरेको छ । यसैको पृष्ठभूमिमा दुवै देशबीच छिट्टै साउदी अरबमा प्राविधिक वार्ता हुने अनुमान गर्न थालिएको ह्वाइट हाउसले जनाएको छ ।

कतिपय विश्लेषकले शान्ति वार्ताका क्रममा 'प्रगतिको भ्रम' सिर्जना गर्नु ट्रम्पको कूटनीतिक चाल मात्र हुनसक्ने आंकलन गरेका छन् ।

ट्रम्पले आफ्नो प्रतिष्ठा जोगाउने प्रयास पनि गरिरहेका छन् । उनले आफ्नो चुनावी अभियानमा २४ घण्टाभित्र युद्ध समाधान गर्ने वाचा गरेका थिए । मंगलबारको वार्तामा पुटिन ट्रम्पमाथि स्पष्ट रूपमा हाबी भएका थिए । ट्रम्पले क्रेमलिनमाथि कुनै दबाब दिने प्रयास गरेनन् ।

ट्रम्प र जेलेन्स्कीको सम्बन्धमा सुधार
बुधबार ट्रम्प र जेलेन्स्कीबीच भएको एक घण्टाको वार्तामा ट्रम्पले नरम व्यवहार देखाएका थिए । उनले युक्रेनलाई युरोपमा आवश्यक हवाई सुरक्षा उपकरण खोज्न सहयोग गर्ने प्रतिज्ञा गरे । ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकाले युक्रेनलाई सैन्य सहायता र गुप्तचर जानकारी प्रदान गर्ने काम जारी राख्ने बताएकी छन् ।

ट्रम्पले पहिले ३० दिने युद्धविरामका लागि युक्रेनमाथि दबाब दिन सैन्य सहायता रोकेका थिए । अहिले उनको यो कदम पुटिनको चाहनाविरुद्ध रहेको देखिन्छ । पुटिनले अमेरिकी सैन्य सहायता स्थायी रूपमा बन्द गर्नु शान्ति सम्झौताका लागि अनिवार्य शर्त बनाएका थिए ।

वार्तापछि ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, 'मैले भर्खरै युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग टेलिफोन वार्ता गरें । हिजो पुटिनसँग भएको वार्ताको आधारमा रुस र युक्रेनका भूभागहरू समायोजन गर्नेबारे छलफल भयो । हामी सही दिशामा छौं ।’

रुसको अपरिवर्तनीय अडान
ट्रम्प प्रशासनले क्रेमलिनको कठिन कूटनीति अनुभव गरिरहेको छ । पुटिनले ३० दिने युद्धविराममा सैद्धान्तिक सहमति जनाए पनि व्यवहारमा उनले युक्रेन र पश्चिमको आत्मसमर्पण गराउने शर्तहरू अघि सारेका छन् ।

वार्ता लम्बिँदै जाँदा रुसी सेनाले युद्धक्षेत्रमा थप फाइदा उठाउने अवसर पाउँछन् । पुटिनको शर्तअनुसार युक्रेन रुसी क्षेत्र कुर्स्कबाट फिर्ता हुनुपर्नेछ । जुन युद्धका क्रममा युक्रेनले प्राप्त गरेको एकमात्र भौगोलिक लाभ हो । 

युक्रेनी सरकारको परिवर्तन, युक्रेनी सेनाको विघटन र नेटोको पूर्वी युरोपबाट फिर्तालगायतका पुटिनका शर्त तीन वर्षदेखि परिवर्तन भएका छैनन् । 
साउदी अरबमा यस महिनाको शुरूमा भएको वार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मस्कोको गम्भीरता परीक्षण गर्ने बताएका थिए ।

उनले दिएको मापदण्डअनुसार अहिले मस्कोले नकारात्मक जवाफ दिएको छ । तर, कूटनीतिक कारणले अमेरिका अझै प्रयास जारी राख्न बाध्य छ ।
फिनल्यान्डकी विदेशमन्त्री एलिना भाल्टोनेनले सीएनएनसँग भनेकी थिइन्, 'ट्रम्प शान्ति चाहन्छन्, युरोप शान्ति चाहन्छ, युक्रेन शान्ति चाहन्छ । केवल एक मात्र बाधा छ, त्यो हो पुटिन ।'

युक्रेनको बाध्यता
रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले जेलेन्स्कीको ट्रम्पसँगको वार्तालाई ‘उत्कृष्ट’ भनेका छन् । यो जेलेन्स्कीका लागि कूटनीतिक विजय हो । उनी तीन हप्ता अघि मात्रै ओभल अफिसबाट अपमानजनक ढंगबाट बाहिरिएका थिए ।

जेलेन्स्कीले वार्तापछि कृतज्ञता र प्रशंसा व्यक्त गर्दै भने, 'अमेरिका, राष्ट्रपति ट्रम्प र अमेरिकी नेतृत्वमा स्थायी शान्ति सम्भव हुने कुरालाई हामीले विश्वास गरेका छौं । युद्धको पुनरावृत्ति रोक्न हामीलाई सुरक्षाको प्रत्याभूति आवश्यक छ ।'

यसैबीच, युक्रेनले युरोपेली मुलुकहरूसँग पनि समानान्तर रूपमा वार्ता गरिरहेको छ । यदि ट्रम्पले सहयोग दिन बन्द गरे भने पनि, युरोपले युक्रेनलाई सहायता गर्न छुट्टै गठबन्धन बनाउने तयारी गरिरहेको छ । 

जेलेन्स्कीका प्रमुख सहयोगी आन्द्रिय येरमाकले पनि युक्रेन छिटो भन्दा छिटो युरोपियन युनियनको सदस्य बन्नुपर्ने माग गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्