१० साउन २०८३, आइतबार

मोरङमा अन्तत:  गल्यो एमालेको संस्थापन पक्ष, के भयो बैठकमा ?

चैत ७, २०८१
विराटनगर
मोरङमा अन्तत:  गल्यो एमालेको संस्थापन पक्ष, के भयो बैठकमा ?

१०‍औं जिल्ला अधिवेशन अगावै छताछुल्ल भएको एमाले मोरङको विवाद जिल्ला कमिटीको बैठकसम्म आइपुग्दा केही मत्थर भएको छ । 

खासगरी, संस्थापन पक्षकै नेताहरूले आफ्नो समूहको रणनीतिमा साथ नदिएपछि ‘ब्याक फायर’ हुन पुग्यो ।

बिहीबार नवनिर्वाचित जिल्ला कमिटीको पहिलो पूर्ण बैठकसम्म आइपुग्दा संस्थापन समूहले बनाएको रणनीतिको बेलुन फुटेको छ । जसमा छेस्कोको रूपमा सोही समूहका नेताहरूले काम गरे । 

जिल्ला कमिटी बैठकको अघिल्लो दिन बुधबार गोप्य भेला गरेको संस्थापन पक्षले बिहीबार बिहान पनि ‘सँगै खाना खाने’ भनेर आफ्नो समूहका नेताहरूलाई जम्मा गरेको थियो । जहाँ जिल्ला कमिटीको बैठकमा इतर समूहलाई पेल्ने यो रणनीति बनेको थियो । 

तर, ‘गुट भेला’मा बनाइएको इतर समूहलाई पेल्ने रणनीति बैठक हलमा पुग्दा भने सेलाइसकेको थियो ।  गुट भेला गर्नु नहुने भन्दै संस्थापन पक्षकै केही सदस्यले बैठकमा विरोध गरेपछि रणनीति फेल खाएको संस्थापन पक्षका एक नेताले बताए । 

जसका कारण पदाधिकारीमा बहुमत रहेको इतर समूहलाई पनि ‘हाइसञ्चो’ भएको छ । ‘हामीले सबैलाई समेटेर नै  सचिवालयमा राख्ने लिस्ट तय गरेका थियौं’, एक पदाधिकारीले भने, ‘हिजो उहाँहरूले गर्नुभएको गुट भेला आज पानीको फोका जस्तै भयो।’ 

बिहीबारको जिल्ला कमिटीको पहिलो बैठकले २५ सदस्यीय सचिवालय गठन गरेको छ । बैठकले पाँच पदाधिकारीसहित २५ सदस्यीय सचिवालय गठन गरेको सचिव सोमराज थापाले जानकारी दिए । बैठकमा संस्थापन पक्षका केही जिल्ला सदस्यले सचिवालयमा ल्याइएका नामको भने विरोध गरेका थिए। 

जिल्ला अध्यक्ष अजम्बर राईको अध्यक्षता र प्रदेशका इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यतामा बसेको बैठकले पार्टीलाई जनस्तरसम्म पुर्‍याउने र संगठनात्मक सुदृढीकरण गर्ने प्रस्तावहरू पारित गरेको छ।

प्रायोजित मिथ्या प्रचार र साइबर हमलाको प्रतिवाद गर्ने निर्णय समेत आजको बैठकले गरेको छ । वडा र टोल तहसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा कम्युनिस्ट आचरणयुक्त कार्यकर्ता निर्माणमा जोड दिने निर्णय भएको सचिव थापाले बताए । आत्मविश्वास जगाएर पार्टीलाई घर–घर पुर्‍याउने र जनतामा आशाको उज्यालो दियालो जगाउने निर्णय गरिएको एमालेले जनाएको छ।

बैठकले चैत मसान्तसम्ममा पालिका कमिटी अधिवेशन सम्पन्न गर्ने, जनसंगठनको सम्मेलन गर्ने, पार्टी संगठित सदस्यता वृद्धि–विस्तार, नवीकरण र मातहत कमिटीको कार्यालय व्यवस्थापन गर्ने कार्ययोजना पारित गरेको छ।

पार्टी र पार्टीको मूल नेतृत्वमाथि भइरहेको ‘चौतर्फी हमला’को घोर निन्दा गर्दै वर्गवैरीका हतकण्डालाई सघाउ पुग्ने गतिविधि नगर्न निर्देशन समेत दिएको सचिव थापाले बताए ।

साथै, आन्तरिक बहस–विमर्श वा असन्तुष्टिका पक्षलाई समन्वयात्मक सुधार योजनामार्फत् समाधान गर्ने उपाय खोज्ने प्रतिबद्धता समेत बैठकले जनाएको थापाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्