
खोटाङको केपिलासगढी गाउँपालिका– २ घर भएका ६० वर्षीय ओमप्रकाश राई प्रायः बाहिरै रहन्थे । कहिलेकाहीँ मात्र डेरामा पुग्ने उनको दैनिकीबारे परिवारका सदस्य जानकार नै थिए ।
कबाडी संकलन गर्ने उनी आइतबार बिहान मृत फेला परे । भक्तपुरको मध्यपुर थिमि नगरपालिका– ९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङमा राई मृत भेटिएपछि प्रहरीले अनुसन्धान शुरू गर्यो ।
प्रहरी वृत्त ठिमी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुग्दा राईको दाहिने कानको लोती चुँडिएको, टाउकोमा ठूलो चोट लागेको र सँगैको ढुंगामा रगत लत्पतिएको देखियो ।
‘क्राइम सीन’ देख्दैमा प्रस्ट भयो– कसैले राईको हत्या गरेको थियो । राईको शवसँगै बोरा र भित्र केही कबाडी सामान थिए । शुरूमा प्रहरी उनको वतनबारे जानकार थिएन ।
अनुसन्धान गर्दै जाँदा उनी उक्त क्षेत्रमा कबाड संकलन गर्ने र ओहोरदोहोर गर्ने ‘राई दाइ’ (स्थानीयले चिन्ने भाषा) भएको पत्ता लाग्यो । खोजतलास गर्दै जाँदा उनका छोरा सम्पर्कमा आए । राईका छोरा विसन पठाओ राइडर हुन् । बोडेमा डेरा गरी बस्दै आएका विसन प्रहरीले धेरै प्रयास गरेपछि सम्पर्कमा आएर बुवाको शव सनाखत गरे ।
वृद्ध बुवालाई किन यसरी छाडेको भनेर प्रहरीले सोधपुछ गर्दा विसनले भने, ‘हामीले घर नछाड्न धेरै भन्यौं, उहाँले मान्नुभएन । मैले पठाओ चलाएर भएपनि बुबालाई खान/लगाउन दिएकै थिएँ, उहाँलाई केमा चित्त बुझेन, डेरा छाडेर हिँड्नुभयो । कहिलेकाहीँ मात्र आउनुहुन्थ्यो ।’
विसनले बताएअनुसार उनका दाइ विदेशमा छन् । भाइ भने धरानमा पढ्दै छन् ।
प्रहरीले राईको शव भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा पोस्टमार्टमका लागि पठाएको छ । प्रहरीका अनुसार राईसँगै अन्य दुईजना व्यक्तिले पनि कबाडीका सामान संकलन गर्दै आएका थिए ।
उनीहरूलाई केन्द्रमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
‘राई सधैंजसो कबाडी संकलन गर्ने र त्यो पैसाले साँझ रमाइलो गर्ने रहेछन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘उनीसँगै हिँड्ने अन्य २ जनालाई केन्द्रमा राखेर अनुसन्धान अगाडि बढाएका छौं ।’
निलबाराहीमा शनिबार लामाहरूले पूजापाठ गरिरहेका थिए । त्यहाँ कहिलेकाहीँ लामाहरूले पूजापाठ गर्ने र भेटीको नाममा पैसा चढाउने भएपछि राई पैसा कुरेर बसेका थिए । भेटी टिप्ने विवादमा वा मदिरा सेवन गरेर मातिएपछि भएको झगडामा राईको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार श्रीमतीले गाउँकै अर्को व्यक्तिसँग बिहे गरेपछि राई एक्लै थिए ।
‘मैले बुवालाई धेरैपटक कोठामै बस्नुस् भनेर सम्झाएँ, उहाँले मान्नुभएन,’ राईका छोरा विसनले प्रहरीसँग भने, ‘परिवारको कुरा नसुन्दा आज अनाहकमा ज्यान गुमाउनुभयो ।’
विदेशमा रहेका छोराले पनि राईलाई कबाडी संकलनको काम नगर्न पटक–पटक फोनमा सुझाएका थिए ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधव बुढाथोकीका अनुसार राई यसअघि पनि उक्त ठाउँमा भेटी टिप्न जाने गरेका थिए । ‘राईको हत्या नै भएको हो, तर कसले र किन गर्यो भन्नेबारे हामीले अनुसन्धान गरिरहेका छौं,’ बुढाथोकीले भने, ‘राई बेवारिसे हिँड्ने गरेको र कहिलेकाहीँ मात्रै डेरामा जाने गरेको थाहा पाइयो ।’