२८ जेठ २०८३, बिहीबार

नेपाल टेलिकमले सञ्चालनमा ल्यायो कालिकोट-जुम्ला-मुगु सूचना महामार्ग

चैत १२, २०८१
काठमाडौं
नेपाल टेलिकमले सञ्चालनमा ल्यायो कालिकोट-जुम्ला-मुगु सूचना महामार्ग

नेपाल टेलिकमले कालिकोट जिल्लाको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगु जिल्लाको सदरमुकाम गमगढीसम्म पहिलो पटक अल डायलेट्रिक सेल्फ सपोर्टिङ (एडीएसएस) प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा ल्याएको छ।

देशको दुर्गम क्षेत्रमा समेत सर्वसुलभ रूपमा दूरसञ्चार सेवा विस्तार एवं स्तरोन्नति गर्ने लक्ष्यअनुरूप टेलिकमले सूचना महामार्ग विस्तार गरेको हो। 

यसले कालिकोट, जुम्ला, मुगु लगायतका क्षेत्रमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर तथा क्षमता वृद्धि गर्नुका साथै भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिको लागि समेत महत्त्वपूर्ण आधार निर्माण गरेको टेलिकमका प्रवक्ता हरि ढकालले बताए । 

माइक्रोवेभ रेडियो लिंकमार्फत् हाल सञ्चालनमा रहेका राजमार्ग आसपासका कम्पनीका फाइबर इन्टरनेट (एफटीटीएच) तथा मोबाइल सेवासँग सम्बन्धित उपकरणहरूका साथै एनटीटीभी (NtTV) ब्रान्डको टेलिभिजन सेवा समेत यही चैत ८ गते बाट अप्टिकल फाइबरमार्फत् सञ्चालनमा ल्याइएको छ। यसलाई नेपालको दूरसञ्चार क्षेत्रमा कोसेढुङ्गाको रूपमा लिइएको छ।

सेवा विस्तारसँगै उक्त क्षेत्रका सेवाग्राहीहरूले हाल सञ्चालनमा रहेका सेवाहरूको गुणस्तर तथा क्षमता अभिवृद्धि भएको प्रत्यक्ष अनुभव गर्न सक्ने कम्पनीले बताएको छ ।

साथै, दूरसञ्चार सेवाका लागि आवश्यक पर्ने ट्रान्समिसन रुटको वैकल्पिक मार्ग समेत स्थापना भई अटुट सेवा प्रवाहको प्रत्याभूति हुने कम्पनीले जनाएको छ।

नेपाल टेलिकमले देशको भौगोलिक चुनौतीलाई आत्मसात् गर्दै हरेक नेपालीलाई दूरसञ्चार सेवाद्वारा जोड्नका लागि निरन्तर प्रतिबद्ध रहेको बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्