२५ जेठ २०८३, सोमबार
पूर्वसचिवका सुझाव

निजामती सेवा विधेयकले सम्बोधन गर्नैपर्ने केही सवाल

चैत १४, २०८१
काठमाडौं
निजामती सेवा विधेयकले सम्बोधन गर्नैपर्ने केही सवाल

अहिले संघीय निजामती सेवा विधेयक संसदीय प्रक्रियामा पुनः प्रवेश पाई प्रसव प्रक्रियामा छ । २०७३/७४ मा नै बनिसक्नुपर्ने ऐन निकै ढिलागरी प्रक्रियामा अगाडि बढेको हो । छलफलको लामो प्रक्रिया र खास सवालहरूमा साझा निष्कर्ष बन्न नसकेकाले विधेयक कहिले ऐन बन्छ भन्न सकिने अवस्था छैन । विभिन्न स्वार्थ समूहले लबिङ गरिरहेकाले पनि यो अरू गिजोलिएला कि भन्ने स्थिति छ ।

जति धेरै समय, त्यति नै निजामती सेवाको अन्तर्यबाट विधेयक टाढा जाला कि भन्ने संशय रहने नै भयो । साथै, विधेयकमा प्रस्ताव गरिएका कतिपय कुरा सामयिक सन्दर्भ र संवैधानिक आशयलाई सम्बोधन गर्न पनि सक्षम छैनन् । ऐनमा निजामती सेवाको गतिशीलता, सामयिक सन्दर्भ र संवैधानिक आशयलाई सम्बोधन गर्न नसकिए सुशासन र शासकीय प्रभावकारिताको सही साथी निजामती सेवा बन्न सक्ने छैन । 

यसको पृष्ठभूमिमा ४ सन्दर्भ रहेका छन् । पहिलो, शासकीय व्यवस्था एकात्मकबाट संघीय स्वरूपमा परिवर्तन भएको छ । संघीय लोकतान्त्रिक प्रणालीका मूल्य मान्यतालाई यसले सम्बोधन गर्नुपर्छ । दोस्रो, उदारीकरण र विश्वव्यापीकरणले बढाएको अन्तरआबद्धताले पनि नागरिक सेवा व्यवस्थापन र निजामती सेवाबीच खास मूल्यको माग गरेकाले त्यसलाई सम्बोधन गर्नुपर्ने अवस्था छ ।

तेस्रो, राज्य सञ्चालनका अवधारणामा व्यापक फेरबदल आएकाले सेवा व्यवस्थापन शास्त्रीय ढंगबाट चल्न नसक्ने भई नागरिक सहकार्यको अभ्यासको माग छ । चौथो, लामो समयदेखि निजामती सेवा कानूनको रिक्तता छ । कानूनी रिक्ततालाई पूरा गरी शासकीय तहहरूको प्रणाली निर्माण र कर्मचारीको अभिभावकत्व दिनुपर्ने अवस्था छ । पाँचौं, निजामती कर्मचारीको मनोबल यति गिरेको छ कि यो संस्था विज्ञ र व्यावसायिक भैकन पनि स्वस्फूर्त कार्य गर्ने आन्तरिक उत्साहमा छैन । यसर्थ संघीय निजामती सेवा ऐन शास्त्रीय सोच शैलीबाट माथि उठी सामाजिक–शासकीय सन्दर्भलाई सम्बोधन गर्नेगरी बन्नुपर्छ, तर ढिला हुनुहुन्न । किनकि कानूनी रिक्तताले देख्य–अदेख्य संक्रमणलाई आमन्त्रण गरिरहेको छ । 

संसदीय प्रक्रियामा पुगेको विधेयकका कतिपय राम्रा पक्ष छन् । पहिलो त कानून बन्ने प्रयास भएको छ । कानून नै बन्दैन कि भन्ने सन्देह देखिएको थियो । संसदले प्राथमिकता दिएका कानून अभावका कारण देखिएको तदर्थता चिर्नेछ । यसका कतिपय प्रावधान परिवर्तन गरेको छ । जस्तो कि पदपूर्ति, तहसंरचना, सेवा प्रवेश र आकाशको उमेर, समावेशिता, परीक्षणकाल, नेतृत्व विकास, निजामती सेवा सञ्चालनका सिद्धान्त, आचरण, प्रशासन सुधार, तलब तथा अन्य सुविधाका नयाँ प्रावधानहरू प्रस्तावित छन् । 

तर, ऐनले माथि उल्लेख गरेझैँ सन्दर्भ र गतिशीलता पक्डिन र निजामती सेवालाई नागरिक सेवाको दह्रिलो संवाहक बनाउन केही आधारभूत पक्षमा ध्यान दिनु जरुरी छ । निजामती सेवाका दुई आयाम छन्, (क) नागरिक सेवा व्यवस्थापन र (ख) सेवा व्यवस्थापनका लागि वृत्ति सेवकका रूपमा निजामती कर्मचारीको व्यवस्थापन । विधेयक नागरिक सेवाको भूमिकामा भन्दा कर्मचारी व्यवस्थापनमा केन्द्रित छ । यो आधारभूत कुरामा दृष्टिकोणयुक्त व्यावहारिक सोच राखेर मात्र निजामती सेवालाई जनताको सेवा बनाउन सकिन्छ । नागरिकको माया नपाइकन निजामती कर्मचारीले काम गर्नु फगत जागिरको व्यवस्थापन हो । निजामती कर्मचारीको कानूनी, सांकेतिक र नैतिक दायित्व नागरिकको सेवा हो । यो दायित्व किटान गर्न नागरिक जवाफदेहिता स्पष्ट हुने गरी जवाफदेहिताका प्रावधानहरू, नागरिक विवेचना पद्धति र नागरिक प्रशासन सम्बन्धका विषय उल्लेख गर्न विधेयकले भुलेको छ । नागरिक सेवाका मूल्यहरू घोषणा गरी यसलाई संस्थागत गर्ने प्रावधान आवश्यक छन् । विधेयक प्रक्रियामा यस विषयमा ध्यान दिइएको छैन । 

निजामती सेवाको मूल्य शुरूमा नै घोषणा गरेर त्यसपछिका प्रावधानले त्यसलाई चलायमान बनाउने दृष्टिकोण राख्नु आवश्यक । कतिपय देशमा यस्तो प्रचलन छ । यसले निजामती सेवालाई मूल्यमा आधारित बनाउने आधार दिन्छ ।

पहिलो पक्ष सम्बोधन गरिसकेपछि त्यसलाई कार्यरूप दिन संयन्त्रात्मक पक्षमा ध्यान दिनुपर्छ । त्यो भनेको निजामती कर्मचारीको व्यवस्थापन हो । यसको शुरूआत संघीयताको कुराबाट शुरू हुनुपर्छ । नागरिक सेवाको दायित्व शासकीय तहहरूमा वर्गीकृत भएपछि त्यसलाई व्यवस्थापन गर्ने प्रणाली (निजामती सेवा) पनि तीनै तहको अलग–अलग हुने संवैधानिक सिद्धान्त हो । धारा २८५, साझा अधिकार क्षेत्र र कार्यविभाजनको सिद्धान्तलाई सम्बोधन गरेर मात्र निजामती सेवा संघीय शासन प्रणाली अनुरूप हुनसक्छ । नेपालको संघीयता समन्वयात्मक स्वायत्तता (वा सहशासकीय पद्धति)मा छ । यो अलि जटिल हो । तर संविधानले घोषणा गरिसकेपछि त्यहाँभन्दा विषयान्तर हुने छुट छैन । यसले व्यापक परिवर्तन मागेको छ, सीमान्त सुधार होइन । प्रस्तावका कतिपय प्रावधानले यसलाई स्वीकार्दैन । संसदीय प्रक्रियाले प्रस्तावित प्रावधानलाई परिमार्जन गर्नुपर्दछ । 

निजामती सेवाको मूल्य शुरूमा नै घोषणा गरेर त्यसपछिका प्रावधानले त्यसलाई चलायमान बनाउने दृष्टिकोण राख्नु आवश्यक । कतिपय देशमा यस्तो प्रचलन छ । यसले निजामती सेवालाई मूल्यमा आधारित बनाउने आधार दिन्छ । निजामती सेवाको परिभाषा फराकिलो बनाउन धारा २४३ को भावना समेट्नुपर्छ । संघीय निजामती सेवा ऐन लागू हुने सन्दर्भमा मात्र निजामती सेवाको व्याख्या गरी प्रदेश तथा निजामती सेवालाई पनि निजामती सेवाको वृहत् परिभाषामा ल्याउनु पर्दछ । संघीय निजामती सेवा मार्गदर्शक कानून हो । त्यसो गर्दा मात्र स्थानीय तहका कर्मचारीको भावना समेटिन्छ र राष्ट्रिय मूल्य कार्यान्वयनमा सहजता आउँछ । 

पेशागत विशिष्ठता र नेतृत्व विकासका लागि तहगत प्रणाली भनिए पनि दर्जाभित्रको तहले कार्यमूलकता दिँदैन । कर्मचारीले वृत्ति खुट्किला मात्र चढ्छन् । त्यसैले निजामती सेवालाई सहायक, पेशागत र  कार्यकारी ३ क्लस्टरमा वर्गीकरण गरेर तहलाई कार्यमूलक बनाउनुपर्छ । अर्को पक्ष पदपूर्तिलाई सकारात्मक र फराकिलो बनाउन, स्रोतमै उम्मेदवार खोजी र आवेदनप्रेरित गर्न तथा उम्मेदवारको स्वभाव अनि अभिरुचि परीक्षण गर्न परीक्षण विधि सुधार गर्नुपर्छ । पाँचौं तहमा १०० प्रतिशत बन्द पदपूर्तिको व्यवस्था राम्रो होइन, ४० प्रतिशत बढुवा र ६० प्रतिशत खुला गर्दा श्रम बजारका प्रतिभा व्यवस्थापन हुन्छ । त्यसो गर्न नसकिए यसले राजनैतिक लागत पनि व्यवहोर्नुपर्ने हुन्छ ।

प्रणालीलई गतावधिक बन्न नदिन र प्रणालीभित्र सिर्जनात्मक तनाव ल्याउन उच्च तहमा खुला र आन्तरिक प्रतिस्पर्धाको व्यवस्था आवश्यक छ  । अहिले कल्पना नगरिएको बहुसीपयुक्त कर्मचारीको माग भैरहेको छ र भोलि यो बढ्दै जानेछ । असफल अपवादलाई सामान्यीकरण गरिनु प्रणाली गतावधिक बनाउनेतर्फ उन्मुख हुनु हो । प्रणाली ताजा बनेन र थुनियो भने सिर्जनशीलता र अग्रसरतामा बिर्को लाग्छ । त्यसको प्रभाव नीति, कानून, संवाद, वार्ता र सेवा व्यवस्थापनमा पर्नेछ । साथै, योग्यता प्रणालीका नवीन विधिहरू अवलम्बन गर्नेतर्फ विधेयक प्रवृत्त हुनुपर्छ । 

समावेशिता सम्बोधनका लागि प्रत्येक समूहबाट ५० प्रतिशत महिलाका लागि अवसर आरक्षित गर्ने र प्रत्येक आरक्षित समूहका लागि छुट्टाछुट्टै प्रतिस्पर्धा सैद्धान्तिक रूपमा राम्रो हो, तर व्यवस्थापन गर्न निकै कठिन छ । व्यवस्थापन कुशल नभएमा प्रणाली झनै असमावेशी बन्ने खतरा रहन्छ । 

समावेशी पदका लागि आधार सूचक नबनाएमा त्यही वर्गको हुने/खानेले नीति लाभ हडप्छ, जुन अहिले नै देखिएको छ । यसलाई वास्तविक आधार सूचक बनाएर भनिएको वर्गमा नीति लाभ पुर्‍याउन सम्मानित सर्वोच्च अदालतले आदेश दिएको छ । सम्पत्ति, शिक्षा, पारिवारिक हैसियत, आवास संरचनाको अवस्था हेरेर सूचक बनाउनुपर्छ । एकपटक आरक्षण उपभोग गर्नेले यो सुविधा फेरि पाउनुहुन्न । साथै, आरक्षणको सम्बन्धमा धारा ४२ को कार्यान्वयन धारा १८ (३) को स्पष्टीकरण (आर्थिक रूपमा विपन्न) निरपेक्ष हुन सक्दैन । विपन्न वर्ग को हो र त्यसका सूचक के हुन् भन्ने स्पष्ट व्याख्या गर्नुपर्छ । आरक्षणका प्रावधान एकपटक (शाखा अधिकृत तहमा) मात्र सीमित गरिनु पर्दछ । एकै व्यक्तिले पटक–पटक आरक्षणको लाभ लिँदा नीति लाभ क्याप्चर हुन गई प्रणाली वास्तविक रूपमा असमावेशी बन्ने गर्दछ । यस सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको निर्णय र समावेशी आयोगको सिफारिसलाई समेत सन्दर्भमा राख्नुपर्दछ । 

बढुवा समितिमा लोकसेवा आयोगको महत्त्व बढाउनु पर्छ । प्रस्तावित प्रावधानहरूमा कानून सचिव राख्न खोजिएको छ । मुख्य सचिव र सामान्य सचिवले कानूनी प्रावधान जान्दैनन् भन्ने कल्पना विधिनिर्माताले गर्नु हुन्न । आवश्यक सेवा दिन मन्त्रालयहरूमा कानून डेस्क छन्, सरकारलाई चाहिएको समयमा परामर्श दिनु कानून सचिवको पनि कर्तव्य हो । यस प्रकारको प्रावधानले समग्र प्रणालीमा अस्वस्थ प्रभाव पर्नेतर्फ सम्बद्ध पक्षले गम्भीरतासाथ विचार गर्नुपर्छ । साथै, अधिकृत बढुवाका लागि बढुवा समितिको सचिवालयको अध्यक्षता गर्ने पदाधिकारीको कार्यालय हुनुपर्छ । मुख्यसचिव नियुक्तिलाई योग्यता प्रणालीमा ल्याउन लोकसेवा आयोगको अध्यक्ष, वरिष्ठ सदस्य र आयोगको अध्यक्षले तोकेको पूर्वमुख्यसचिव वा आयोगको पूर्व अध्यक्ष भएको ३ सदस्यीय समिति बनाउने व्यवस्था जरुरी छ । विशिष्ट श्रेणीमा बढुवाको आधार प्रस्ट पार्नुपर्छ । मुख्यसचिव र सचिवका लागि वरिष्ठता, कार्यसम्पादन क्षमता र निर्णय तथा नेतृत्व क्षमताको सूचक भारसहित स्पष्ट पार्नुपर्छ । 

आम कर्मचारीको सीप आर्जन गर्ने हक सुनिश्चित हुनुपर्छ । प्रत्येक वर्ष प्रत्येक कर्मचारीले तालिममार्फत पुनर्ताजगी हुन पाउने हक निश्चित गर्नुपर्छ । तालिम, मनोनयन, छात्रवृत्तिमा विदेश गएर उतै अर्को मुलुकको कर्मचारी वा नागरिक बन्ने कामलाई नैतिक पतनको अपराधमा राखी कारबाहीको दायरामा ल्याउनुपर्छ ।

संघीय निजामती सेवा संघीय सरकारको निजामती र राष्ट्रिय प्रणाली निर्माण गर्ने सार्वजनिक व्यवस्थापनको आधार हो । यसमा रहने प्रणालीले तीनै तहको निजामती कर्मचारीको वृत्ति व्यवस्थापन, मार्गदर्शन, वृत्ति गतिशीलता र समायोजन भई स्थानीय तहमा कार्यरत कर्मचारीको वृत्ति व्यवस्थापन गर्ने प्रावधानहरू रहनुपर्दछ । राष्ट्रिय प्रणाली निर्माणका लागि पनि आवश्यक छ । 

आम कर्मचारीको सीप आर्जन गर्ने हक सुनिश्चित हुनुपर्छ । प्रत्येक वर्ष प्रत्येक कर्मचारीले तालिममार्फत पुनर्ताजगी हुन पाउने हक निश्चित गर्नुपर्छ । तालिम, मनोनयन, छात्रवृत्तिमा विदेश गएर उतै अर्को मुलुकको कर्मचारी वा नागरिक बन्ने कामलाई नैतिक पतनको अपराधमा राखी कारबाहीको दायरामा ल्याउनुपर्छ । राज्यले लगानी गरेर सीप क्षमता विकास गरेका व्यक्तिले राज्यमाथि व्यभिचार गर्ने छुट दिनुहुँदैन । निजामती कर्मचारीको एउटा मात्र युनियन (ट्रेड युनियन नभनीकन) व्यवस्था गरी यसले गर्ने काम दिग्दर्शनमार्फत स्पष्ट पार्नुपर्छ । धेरै कर्मचारी युनियनले समूह भावनामा काम गर्नुपर्ने कर्मचारीलाई आस्थामा विभाजन गरी अनुशासनहीन बनाएको छ । यसबाट शिक्षा लिनुपर्छ । 

अवकाश व्यवस्थापनका प्रावधान थप गरी (१) जीवन, जवानी र जोश राष्ट्रसेवामा उत्सर्ग गर्ने कर्मचारीको कदर गर्ने, (२) उसको ज्ञान, सीप र अनुभवको उपयोग गर्ने र (३) तलब वृद्धि हुँदा त्यही प्रतिशतको आधारमा निवृत्तिभरण बढ्ने प्रावधान राख्नु जरुरी छ  । संविधानको धारा ५१ (राज्यका नीतिहरू) का देहाय (क) (७) मा पूर्व कर्मचारी र राष्ट्रसेवकहरूको विषयमा राज्यलाई निर्देश गरिएको छ ।

कार्यकारी तहमा पुग्ने व्यक्तिको नेतृत्व परीक्षणका लागि लोकसेवा आयोगले नेतृत्व परीक्षण गर्ने विधि स्थापित गर्नुपर्छ । आयोगबाहेक अन्य संयन्त्रबाट नेतृत्व परीक्षण भएमा योग्यता र क्षमताभन्दा उभय पक्षले प्रश्रय पउन पुग्छ । साथै, निश्चितभन्दा बढी (क) बेरुजू भएमा, (ख) खर्च नभएमा र (ग) सिकायत भएमा नेतृत्व परीक्षणको वृत्तबाट बाहिर पर्ने व्यवस्था गर्नुपर्छ । (@mainaligopi) 

salt training

कमेन्ट गर्नुहोस्