
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा ‘संविधान र गणतन्त्र पक्षधर’ दलहरूको बैठक गरे ।
सो बैठकमा विपक्षी नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बोलाइएको थियो । तर, विपक्षमा रहे पनि राप्रपालाई बोलाइएन । विपक्षी मोर्चामा भए पनि राजतन्त्रको मुद्दा बोक्दै विरोध प्रदर्शनमा उत्रिरहेकाले राप्रपालाई नबोलाइएको प्रस्टीकरण प्रचण्डले दिए ।
राप्रपामात्रै होइन, प्रचण्डले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उप–सभापति डा. स्वर्णिम वाग्लेलाई गणतन्त्रबारे तपाईंहरूको ‘पोजिसन’ के हो ? भनेर सोधे । सरकारविरुद्धको विपक्षी मोर्चामा आफूसँगै भए पनि प्रचण्डले कान्छो दल रास्वपाप्रति आशंकाको दृष्टिले हेरे । राजावादीले गणतन्त्रविरुद्ध थालेको विरोधप्रति रास्वपा नरम भयो कि भन्ने आशंका उनको थियो ।
पपुलिस्ट मुद्दा अगाडि सारेर गत निर्वाचनबाट उदाएको रास्वपाको सैद्धान्तिक दृष्टिकोण अझै प्रस्ट भएको छैन । राजावादीले संविधान र गणतन्त्रविरुद्ध धावा बोलेर विरोध प्रदर्शन गरिरहँदा सोही रास्वपाले साँधेको मौनताले प्रचण्डलाई झस्काएको थियो ।
गणतन्त्रको पक्षमा एउटा बैठक गरेका प्रचण्डलाई बुधबार नै अर्को बैठकको चटारो थियो । त्यो बैठक माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा डाकिएको थियो ।
यो बैठकमा रास्वपा र राप्रपा दुवै थिएनन् । नेकपा एस, विप्लव नेतृत्वको नेकपालगायत दलका नेताहरू मात्रै सहभागी थिए ।
बैठकले राजावादीलाई चैत १५ हुने समाजवादी मोर्चाको जनप्रदर्शनलाई ‘अवरोध गर्ने धृष्टता नगर्न’ चेतावनी दिएको थियो । किनकि समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा प्रदर्शन र सभा राखेकै दिन राजावादीहरूले पनि काठमाडौंमा प्रदर्शन गर्ने र समाजवादीको मोर्चाको कार्यक्रमलाई बिथोल्ने चेतावनी दिएका थिए ।
यी दुई घटनापछि बिहीबार बिहानै भएको एक कार्यक्रममा उनै प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओली र सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एकै मञ्चमा देखिए । जवाफदेहिता निगरानी समिति र द्वन्द्वपीडित संगठनहरूले बिहीबार बिहान गरेको कार्यक्रममा प्रचण्डले ठूला दलसँग अन्य कुरामा विवाद भए पनि शान्ति प्रक्रियामा सवालमा एक ठाउँमा रहेको प्रस्ट्याए ।
‘सदनमा बहस भइरहेको छ । थुप्रै कुरा छ । तिनमा विवाद चलिरहेको छ । यी तमाम विवाद र विमतिको बीचमा पनि शान्ति प्रक्रिया टुंग्याउनुपर्छ भन्ने कुरामा हामीबीच कहिल्यै विवाद भएको छैन,’ प्रचण्डले भने, ‘कहिले प्राविधिक, कहिले कानूनी, कहिले राजनीतिक उत्तारचढाव भइरहेको छ, यसैले ढिला भयो । तर, यीसँग सम्बन्धित प्रिन्सिपलमा विवाद भएको हुनाले डिले भएको भन्न मिल्दैन ।’
प्रचण्ड राजनीतिमा लामो अनुभव भएका नेता हुन् । तर, राष्ट्रिय राजनीतिमा देखिएका घटनाक्रममा व्यावहारिक र समयसापेक्ष ‘पोजिसन’ लिन नसक्दा प्रचण्डलाई हरबखत आफ्नो पोजिसन फेर्नुपर्ने बाध्यता आइलाग्छ ।
नेपाल विद्युत् प्राधिकारणका निर्देशक कुलमान घिसिङलाई हटाएपछि माओवादी थप आक्रोशित भएको छ । यसैले शुक्रबार हुने प्रदर्शन राजावादीविरुद्ध हो वा सरकारविरुद्ध भन्नेमा माओवादीमा विरोधाभास देखिन्छ । माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले भोलि हुने प्रदर्शन सरकारको कुशासनविरुद्ध तथा गणतन्त्र, संघीयता र समावेशिताको पक्षमा राखिएको बताए ।
‘सरकारको कुशासनविरुद्ध खबरदारी पनि हो । संविधानको पक्षमा, गणतन्त्र, संघीयता, समावेशिताको पक्षमा र अराजकताविरुद्ध पनि हो । हामीले सबै कुरा ख्याल गरेका छौं । सुविचारित ढंगले अगाडि बढेका छौं । संविधानको व्यवस्थाको ख्याल गरेका छौं । प्रतिगमनकारी हौसिएका छन् । उनीहरू हौसिनुको तुक र औचित्य छैन । उनीहरूको विरोध निष्कर्षमा पुग्दैन । पानीको फोकाजस्ता हुन्,’ सापकोटाले भने, ‘केही हुन्छ कि भनेर राजावादी हौसिएको सरकारको नालायकीले हो । सरकारले आगोमा घ्यु थपेको हो ।’
प्रमुख प्रतिपक्षी माओवादी मात्रै धर्मसंकटमा छैन । विपक्षी दलका रूपमा रहेको रास्वपाले समेत सरकारलाई दबाब दिने नीति लिँदा राजावादीको प्रदर्शनलाई समर्थन रहेकोजस्तो संकेत दिएको छ ।
अर्कातिर, राजेन्द्र लिङ्देनको राप्रपासमेत विपक्षी कित्तामा माओवादीसँगै छ । तर, देशमा गणतन्त्रको बिउ रोप्ने काम आफैंले गरेको दाबी गर्ने माओवादीलाई विपक्षीको रूपमा कट्टर राजावादी राप्रपा र प्रस्ट राजनीतिक धार नसमातेको रास्वपालाई समेत सँगै लिएर हिँड्नुपर्ने बाध्यता छ ।
सरकारमाथि दबाब बढाउन प्रचण्डलाई राप्रपाको समेत साथ चाहिन्छ । तर, उनीहरूसँग धेरै टाँस्सिदा गणतन्त्रविरोधीलाई बोकेको अपजस लिनुपर्ने जोखिम छ । एकै समय, अझै एकैदिन दुवैतिर इंगेज हुनुपर्ने परिस्थितिले प्रचण्डलाई चरम विरोधाभाषमा पुर्याएको छ । यही दोधार र अप्ठ्यारोप्रति संकेत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रचण्डलाई लक्षित गरेर उनी सहभागी भएकै कार्यक्रममा कटाक्ष गरे ।

‘कर्मचारीले ठीक ढंगले काम नगरेपछि हटाइयो । अर्को एकजना कुनि पोखराबाट आउनुभयो । दरबार कि कता जाने रे ! अल्झिने र सेन्टिमेन्टमा बहकिने बेला होइन । यस्ता कुराले जनतामा असन्तुष्टि बढ्छ । जनतालाई सन्तुष्ट बनाएर जाने बाटो लिनुपर्छ,’ ओलीले भने, ‘देशमा यस्तो अवस्था छ । यो बेला काममार्फत भन्ने हो । देशमा यस्तो हुँदा सत्तापक्ष–विपक्ष भन्ने होइन ।’
अशान्ति मच्चाउने काममा नलाग्न ओलीले दलहरूलाई आग्रह गरे ।
‘२० प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् । गरिबीको प्यारोमिटर कसरी घटाउने, सामाजिक पीडा कसरी समाधान गर्ने भन्नेतिर लाग्नुपर्छ,’ ओलीले भने, ‘पीडितको कुरा र गरिबको भोकलाई समाधान गरौं । अशान्ति मच्चाएर जाने बेला होइन । म सबै राजनीतिक दलहरूलाई आह्वान गर्छु, हामी जवाफदेही बनौं ।’
कार्यक्रमलगत्तै ओलीले शान्ति प्रक्रिया टुंग्याउन प्रक्रिया अगाडि बढेको भन्दै सामाजिक सञ्जालमा देउवा र प्रचण्डलाई मित्र भनेर फोटो शेयर गरेका थिए ।
‘हामीले संक्रमणकालीन न्यायसम्बन्धी कानून केही समयअगाडि संसदबाट पारित गरेका छौं । अहिले त्यससम्बन्धी आयोग बनाउने प्रक्रिया अघि बढेको छ,’ ओलीले लेखेका थिए, ‘संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्वपीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकारसम्बन्धी’ राष्ट्रिय सम्मेलनमा सहभागी हुने क्रममा मेरा मित्रहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज ।’
केहीदिन अगाडिसम्म आपसमा तिक्तता पोखिरहेका नेताहरू एक ठाउँमा उभिएपछि सामाजिक सञ्जालमा फरक–फरक टिप्पणी देखिन थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले सामाजिक सञ्जालमा लेख्दै लोकतन्त्रको नाममा सिन्डिकेट चलेको आरोप लगाएका छन् ।
‘देशमा लोकतन्त्रको नाममा सिन्डिकेट चलिरहेको छ भन्ने गज्जबको उदाहरण हो यो । संसद् बन्द छ । भाषणमा कहिले भेट नहुने र भेट्नेबित्तिकै काटाकाट हुनेझैँ चर्को स्वर सुनिन्छ । तर, वास्तविकता के हो, तस्वीरमा छर्लंग छ,’ कार्कीले लेखेका छन्, ‘यिनका भाषण सुनेर यिनका दस्तामा लागेर सडकमा उभिनुअघि, सञ्जालमा गाली गर्नुअघि यही तस्वीर हेर्नुहोला । यो स्क्याम र सिन्डिकेटबाट देश जोगिनुपर्छ । प्रिय साथीहरू, यीसँग सरकारमा त के, सडकमा पनि सँगै उभिन हुन्न ।’
पुराना कम्युनिस्ट नेता राधाकृष्ण मैनाली सरकारबाट बाहिरिएपछि प्रचण्डमा कसरी हुन्छ फेरि प्रधानमन्त्री बन्ने अभिलाषा देखिएको बताउँछन् ।
‘हुनलाई ओली, देउवा र प्रचण्ड तिनै जनालाई कसरी हुन्छ प्रधानमन्त्री बन्ने, त्यो पदमा टिकिरहने भन्ने महत्त्वाकांक्षा छ । हठात् हट्नुपरेपछि प्रचण्डमा अलि बढी इगो देखिन्छ,’ मैनालीले लोकान्तरसँग भने, ‘यसैले स्वार्थअनुसार राजावादी राप्रपाको पनि साथ लिएर सरकारमाथि दबाब बढाउन उनीहरूलाई उचाल्ने, रास्वपा पनि मसँगै छ भनेर देखाउने र अस्तव्यस्तता निम्त्याएर लाभ लिने, परि आए प्रधानमन्त्री नै बन्नेसम्मको उनको अभिलाषा देखिन्छ ।’
एकातिरको स्वार्थ हेर्दा राजावादी हाबी हुन सक्ने जोखिमप्रति प्रचण्डले कम आकलन गरेको हुन सक्ने उनी बताउँछन् । ‘व्यक्तिगत स्वार्थ हेर्दा प्रचण्डलाई राजावादी उचाल्दा फाइदा हुन्छ भन्ने सोचाइ होला । तर, सँगै समाजवादी मोर्चालाई पनि सक्रिय गराएर परिवर्तनका मुद्दाको नेतृत्वकर्ता नै मै हुँ भन्ने देखाउन प्रचण्ड उद्दत छन्,’ मैनालीले भने, ‘शुक्रबार एकैदिन राजावादी र गणतन्त्रवादीको प्रदर्शन छ । राजावादीले यसअघिको भन्दा ठूलो प्रदर्शन गरे भने गणतन्त्रवादीलाई दबाब पुग्ने होला । लामो अन्तरालमा परिस्थितिअनुसार नेताले पोजिसन परिवर्तन गर्न सक्छन् । तर, छोटो समयमा अव्यावहारिक हिसाबले पोजिसन बनाउँदा नेता आफैं अस्थिर बन्छन् ।’