२९ जेठ २०८३, शुक्रबार
पुस्तक समीक्षा

बैंकिङ क्षेत्रका एक अब्बल व्यक्तित्वले आफैंलाई नियाल्दा...

चैत १६, २०८१
काठमाडौं
बैंकिङ क्षेत्रका एक अब्बल व्यक्तित्वले आफैंलाई नियाल्दा...
  • सविता कनौजे

​नेपाल राष्ट्र बैंकको पूर्वकार्यकारी निर्देशक तथा वित्तीय क्षेत्रका एक अब्बल व्यक्तित्व राजनसिंह भण्डारीले 'आफैंलाई नियाल्दा' (सपना, संघर्ष र समृद्धिको स्वाभिमानी आत्मकथा) पुस्तकमार्फत चार दशकभन्दा बढीको आफ्नो संघर्षको यात्रालाई सार्वजनिक गरेका छन्। लेखकले यस पुस्तकमा दुई भूमिका, आफ्नो आत्मकथन तथा परिच्छेद १ देखि १३ सम्म ३१२ पृष्ठमा आफैंलाई फर्केर हेरेका छन्। मूलतः यो पुस्तक लेखकको आफ्नै आत्मवृतान्त हो जसमा  आफ्नो निर्भीक स्वभाव र पेशागत दक्षताको इमानदार अभिव्यक्ति दिइएको छ ।

परिवारको उचित  माया, हेरचाह र हुर्काइले व्यक्तित्व निर्माणमा ठूलो भूमिका खेल्ने कुरा लेखकले आफ्नो आत्मकथामा व्यक्त गरेका छन् । पुर्खा र पारिवारिक पृष्ठभूमिबाट लेखकले आफ्नो पारिवारिक इतिहास खोतल्दै परिवारको शक्ति र लोकप्रियताको चर्चा गरेका छन् । आफ्नो परिवार सम्पन्न रहेको भन्दै आफ्नो बाल्यकाल र शिक्षाको बेलीविस्तार गर्दै बनारसको  मार्कण्डेय मन्दिरमा चढाएको बालाले आफ्नो बोली फुटेको र यसैको प्रभावले आफ्नो व्यक्तित्व र पहिचानलाई खरो र दह्रो पारेको उल्लेख गरेका छन् । आफूले जीवनको आदर्श पात्र मान्ने आफ्नो कान्छी दिदी सांसद प्राडा चन्दा कार्की पेशागत (चिकित्सा) तथा सामाजिक क्षेत्रमा प्रतिष्ठा आर्जन गर्न सफल भएकोमा गर्व महसुस गरेका छन्। गलत कामको कहिल्यै संरक्षण नगर्ने र गलत कार्यको  सजाय हुनुपर्ने मान्यताले जीवनलाई आजसम्म अगि बढाएको तर्कसहित उनले पुस्तकमा अनेकौं उदाहरण पेश गरेका छन्। 

विवाहबारे लेखकले दाम्पत्य जीवन एक अर्काप्रतिको समर्पण, सहकार्य र विश्वास हो भन्दै आफ्नो विवाहको शुरूआत, त्यसपश्चातको भोगाइ तथा छोराछोरीको हुर्काइबारे रोचक बेली विस्तार लगाएका छन्। छोराछोरी दुवैले अमेरिकी विश्वविद्यालयबाट स्नातकोत्तर गरी नाम र दाम कमाएकोमा एक बाबु हुनुको नाताले खुसी र गर्व महसुस गर्छन् । आफू बन्दै जाँदा छोराछोरीको भविष्य पनि ख्याल गर्न सकेमात्र एक असल र सफल अभिभावक हुने कुरा उनको भावबाट बुझ्न सकिन्छ। लेखकले आफ्नो परिवार सम्पन्न रहेको दर्साउँदै, उन्नति र प्रगतिलाई कायम राख्न पछिका हरेक पुस्ताले उत्तिकै मेहनत र संघर्ष गरिरहनु पर्ने भनाइ पाठकलाई सार्थक लाग्छन् । लेखकले सरल उदाहरणमार्फत समाजले आर्थिक र व्यावसायिक रूपमा प्रगति गर्न बजार प्रतिस्पर्धी हुनु पर्ने र उपभोक्ताको प्रतिवादले मात्र बजार स्वास्थ्य हुन सक्ने बताउँछन् । बुवा आमा प्रतिको प्रेम, छोरा बुहारीले गर्नु पर्ने कर्तव्य र बुवा-आमाको स्वर्गारोहणपश्चात खोलेको स्मृति प्रतिष्ठानमार्फत् सामाजिक सेवा कार्यको थालनीले उनी एक सुयोग्य पुत्र भएको झल्को दिएका छन् ।

आफ्नो परिवार राजकाज र राजनीतिमा प्रत्यक्ष जोडिएको उदाहरण स्वरूप आफ्ना भतिजा  शरदसिंह  भण्डारी (हाल श्रम तथा रोजगार मन्त्री) देशमा जस्तोसुकै राजनीतिक परिस्थितिमा जित्ने नेपालको हकमा अद्वितीय जनमानसमा भिजेको सदाबहार नेताका रूपमा चित्रण गरेका छन् ।

आफ्नो सोख र स्वभावबारे लेखकले रिस र जिद्दी जन्मजात पाएको अवगुण मान्दै यसले कतिसम्म हानि गर्‍यो भन्ने उदाहरणहरू पेश गरेका छन्। मदिरा र मित्रता तथा हतियारको साइनो तथा खेलकुदको लगावबारे रोचक किस्सा पस्केका छन्। निजी क्षेत्रका व्यावसायिक संस्थाहरूले पनि खेलकुद विकासको लागि उल्लेख्य योगदान गर्नुपर्छ भन्ने धारणा व्यक्त गर्दछन् । आफ्नो परिवार राजकाज र राजनीतिमा प्रत्यक्ष जोडिएको उदाहरण स्वरूप आफ्ना भतिजा  शरदसिंह  भण्डारी (हाल श्रम तथा रोजगार मन्त्री) देशमा जस्तोसुकै राजनीतिक परिस्थितिमा जित्ने नेपालको हकमा अद्वितीय जनमानसमा भिजेको सदाबहार नेताका रूपमा चित्रण गरेका छन् ।

सानैदेखि बुवाको कडा अनुशासन र प्रेरणाले राष्ट्र बैंकको जागिर  गरेको बताएका छन्। सीए पढ्ने प्रेरणाले राष्ट्र बैंकको जागिरमा प्रेरित गरेको र सो कुरा पूरा गरेको प्रसङ्ग रोचक लाग्दछ। राष्ट्र बैंकको सहायक पदमा नियुक्तिपछि जीवनलाई स्वनिर्भर बनाउनेततर्फको प्रस्थान विन्दु ठानेका छन् । आफ्नो लक्ष्य सानो राख्न नहुने रहेछ भन्दै अमेरिकाको फेलोशीपमा नछानिँदा दु:ख व्यक्त गरेका छन् । राष्ट्र बैंङ्कमा उनले गरेको संघर्ष र एलसी काण्डको छानबिनमा पाएको सफलताले राज्यलाई पुर्‍याएको योगदानको चर्चा गरेका छन् । देशमा ठूलो रकम कारोबार गर्ने उद्यमी व्यवसायीले ऐन मौकालाई कसरी प्रयोग गर्छन् भन्ने कुरा प्रस्ट्याउन खोजेका छन्। राष्ट्र बैंङ्कमा २६ वर्षको कार्यकालमा अधिकांश समय बैंङ्क नियमन विभाग र निरीक्षण तथा सुपरीवेक्षण विभागमा बिताएका उनले सत्यनिष्ठा पूर्वक काम गर्ने माथि नचाहिँदो प्रहार पनि झेल्न पर्ने बताएका छन् । राष्ट्र बैंक पछि सिटिजन्स बैंङ्कको स्थापनाकालदेखि १७ वर्ष विताएको अवधिमा पाँचौ अध्यक्ष बनेका उनी सो बैंङ्कको उतार चढावबारे सविस्तार लेखेका छन्। यसै कालमा डा. शंकर शर्मा, कुलचन्द्र गौतम, प्रदिपजंग पाण्डे, बालकृष्ण प्रसाइहरूको विद्वता र सहयोगप्रति कृतज्ञता ज्ञापन गरेका छन्। बैंकर्ष संघ, वित्तीय परिसंघ नेपाल (सीबीफिन), सामाजिक सुरक्षा कोषको अध्यक्ष भएर काम गर्दाका रोचक र स्मरणीय प्रसङ्गका रूपमा प्रस्तुत गरेका छन्।

साङ्गीतिक क्षेत्रमा रुचि राख्ने बहुमुखी प्रतिभाका धनी भण्डारीले  दिनेश थपलियाले लेख्नुभएको गीत 'तिमीलाई देखेपछि आई लभ यू, आई लभ यू भन्न मन लाग्यो' बोलको चर्चित गीत पनि गाउन भ्याएका छन्। परिवार बीचको एक अनुपम उदाहरणको रूपमा रहेको एकता, हार्दिकता, समझदारी र सौहार्दता बुवा-आमाको स्वाहरणपश्चात् एकाएक भताभुङ्ग भएको चर्चा गरेका छन्। पारिवारिक कलह शीर्षकमार्फत लेखकले आफूले सम्भव भएसम्म सबैलाई खुसी बनाउन सहयोग गरेको  तर, आफ्ना कहिल्यै खुसी नभएको दुखेसो पोखेका छन् । नेपाल राष्ट्र बैंकको गभर्नरका आकांक्षी उनी तत्कालीन समयको दौडमा पछि परे पनि  अवसरका ढोकाहरू एकपछि अर्को आउने र अझै हार नमानेको उनको आत्मकथामा पाउन सकिन्छ। जीवनमा मारुतीदेखि मर्सिडिजसम्मको साधन उपयोग गरेका लेखक भाग्यवादमा पनि विश्वास गर्दै आफ्नो हातमा भएको अन्तिम हस्त रेखाले राजा कि रङ्क बनाउने कुरा बताउँछन् । आत्मकथाको अन्तिम पानाहरूमा केही पारिवारिक तस्विरहरू राखिएका छन्।

अन्त्यमा, यस आत्मकथा पुस्तक तत्कालीन नेपाली समाजको सामाजिक संरचना, सरकारी र निजी बैंकहरूको काम गर्ने तरिकाको जानकारी दिन सफल भएको छ। साथै, यस आत्मकथामा उनले जीवनलाई कसरी सफलतातर्फ उन्मुख गराउने भन्ने कुरा आफ्नो जीवनमा घटेका घटनाको उदाहरणबाट यस आत्मकथामा प्रतिबिम्बित गरेका छन् । व्यक्तिगत जीवनका उतारचढावहरू मर्मस्पर्शी हुँदाहुँदै पनि पारिवारिक कलहको पट्यार लाग्दो बेलिबिस्तारभन्दा व्यावसायिक जीवनका पाटोमै अझ केन्द्रित हुँदा यो आत्मकथा अझ प्रभावकारी हुन्थ्यो कि भन्ने पाठकलाई लाग्न सक्छ। नेपालका वित्तीय तथा बैंकिङ क्षेत्रका एक अग्रणी व्यक्तित्वको यस आत्मकथा नेपाली बैङ्किङ जगतमा एक महत्वपूर्ण दस्तावेजका रूपमा स्थापित हुने देखिन्छ। समग्रमा यो पुस्तक विद्यार्थी, प्रशासक, व्यवस्थापक, उद्यमी वा सामान्य पाठक  जो  कोहीका लागि पनि उपयोगी सावित हुन सक्ने देखिन्छ।

मिनेट मिडिया प्रालिले प्रकाशन गरेको पुस्तकको बिक्रीबाट प्राप्त निश्चित रकम समाजसेवामा खर्च गर्ने उद्देश्यले यसको मूल्य एक हजार रुपैयाँ राखिएको छ।​

कनौजे बैंकिङ क्षेत्रमा आबद्ध छिन् ।

salt training

कमेन्ट गर्नुहोस्