०८ साउन २०८३, शुक्रबार
हिंस्रक आन्दोलनको ‘साइड इफेक्ट’

ज्ञानेन्द्रमाथि कारबाहीको पक्षमा उभिए दलका नेतादेखि बालेनसम्म, के छ सरकारको तयारी?

चैत १६, २०८१
काठमाडौं
ज्ञानेन्द्रमाथि कारबाहीको पक्षमा उभिए दलका नेतादेखि बालेनसम्म, के छ सरकारको तयारी?

काठमाडौंको तीनकुने आसपासका क्षेत्रमा शुक्रबार हिंसात्मक गतिविधि गराउन भूमिका खेलेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कारबाहीको चौतर्फी दबाब परेको छ । अराजक र हिंसात्मक क्रियाकलाप सिर्जना गराएर मानिसको ज्यानै जानेसम्मको घटना घटेको भन्दै ज्ञानेन्द्रमाथि कारबाहीको आवाज उठिरहेको छ । 

ज्ञानेन्द्रकै योजनामा राजसंस्था पुनर्स्थापनाका लागि बनेको संयुक्त जनआन्दोलन मूल समितिको आह्वानमा शुक्रबार काठमाडौंमा प्रदर्शन राखिएको थियो ।  २५ फागुनमा पोखराबाट काठमाडौं फर्किएका ज्ञानेन्द्रलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्म र्‍यालीसहित पुर्‍याइएको थियो । यसबाट उत्साहित हुँदै ज्ञानेन्द्रकै योजना र सल्लाहमा शुक्रबारको कार्यक्रम राखिएको थियो ।

उनैले संयोजक बनाएका नवराज सुवेदीको समितिले अराजक स्वभावका दुर्गां प्रसाईंलाई जनकमाण्डर बनाएको थियो । बिहीबार उनै कमाण्डर प्रसाईं दुई घण्टा महाराजगञ्जस्थित निर्मल निवासमा छलफल गरेर फर्किएका थिए । अराजक छवि बनाएका उनै प्रसाईं नेतृत्वको समूहले शुक्रबार तीनकुने आपसमा वितण्डा नै मच्चायो । प्रदर्शनकारीले एकजना पत्रकारलाई जलाएर मारेको भिडियो फुटेज बाहिरिएको छ । प्रसाईं स्वयंले भीडलाई उक्साउँदै अराजकता निम्त्याएका थिए । प्रहरीलाई नै किच्न खोज्दै गाडी कुदाए । प्रदर्शनकारीलाई उत्तेजित बनाए । ढुंगामुढा र तोडफोडमा उतारे । जसबाट बढेको तनावमा एक प्रदर्शनकारीको पनि मृत्यु हुन पुग्यो ।

आन्दोलनकारी यति अराजक भए कि व्यापारी केन्द्र, भाटभटेनी सुपरमार्केटमा लुटपाट र आगजनीका घटना गरे । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय जलाइयो, जडिबुटीको सन्चोको कारखानामा आगजनी गरियो । सञ्चारगृहमा तोडफोड भयो ।

सरकारी र निजी सवारी जलाउने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोसम्म पुगेर आगो लगाउने प्रयास भए । सर्वसाधारणको घर र सार्वजनिक सम्पत्तिमाथि धावा बोल्ने काम भयो । 

null

यो प्रदर्शनलाई राजसंस्थाको मुद्दा उठाउँदै आएका राजावादी दल राप्रपा र राप्रपा नेपालको पनि नैतिक समर्थन थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी थिएनन् । तर, उनको पार्टीबाट उपाध्यक्ष रवीन्द्र मिश्र र डा. धवलशमशेर राणा सहभागी मात्रै भएनन्, प्रसाईंकै शैलीमा भीडलाई उत्तेजित बनाउन सबै हर्कत देखाए । 

विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउने र नेतृत्व गर्न सकेनन् । औपचारिक कार्यक्रम नै नगरी भीडलाई भड्काउने, देशलाई बंगलादेश र श्रीलंका बनाइदिने खुला चेतावनी दिन पुगे । सार्वजनिक सम्पत्तिमा तोडफोड गर्न उक्साएको र अराजकता मच्चाएको आरोपमा शुक्रबार नै मिश्र र राणालाई पक्राउ परिसकेका छन् । प्रसाईं भने हालसम्म फरार छन् । उनको खोजीलाई प्रहरीले तीव्रता दिएको  छ।

राप्रपाले प्रसाईं र ८७ वर्षीय सुवेदीसँग मिलेर आन्दोलन गर्न अनिच्छा देखाए पनि जनआन्दोलन समितिका सदस्य मिश्रले भीडलाई उत्तेजित बनाउने गरी भाषण गरेका थिए । यसैले फौजदारी अभियोगमा अनुसन्धान गर्नका लागि मिश्र र राणालाई पक्राउ गरिएको छ । 

सरकार, सुरक्षा संयन्त्र, प्रमुख प्रतिपक्षी, विपक्षी, नागरिक तहदेखि सामाजिक सञ्जालसम्म शुक्रबारको वितण्डा गराउने मुख्य नाइकेको रूपमा ज्ञानेन्द्रको संलग्नता रहेको निष्कर्ष निकालिएको छ । शनिबार नै बसेको कांग्रेस पदाधिकारी बैठकले समेत शुक्रबारको सम्पूर्ण घटना ज्ञानेन्द्रकै उक्साहटमा भएको बताउँदै यसको सम्पूर्ण जिम्मेवारी उनैले लिनुपर्ने निष्कर्ष निकालेको छ ।

व्यक्तिमाथि प्रश्न उठे नेतालाई चुनावबाट हराउन सक्ने सुविधा रहेको भन्दै सामाजिक सञ्जालमार्फत् धेरैले लोकतन्त्रको विकल्प कुनै पनि निरकुंशता हुन नसक्ने उल्लेख गरेका छन् ।

null

ज्ञानेन्द्रलाई पक्रन माग गर्दै ‘ह्यासट्याग अरेस्ट ज्ञानेन्द्र (#ArrestGyanendra)’ शुरू भएको छ । सामाजिक सञ्जालका हजारौं प्रयोगकर्ताले यो ह्यासट्याग प्रयोग गरिरहेका छन् ।

सञ्चारमाध्यमले सम्पादकीय लेख्दै ज्ञानेन्द्रलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको र फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार जरिवाना तिराउने निर्णय गरेका छन् । ज्ञानेन्द्रका नाममा जरिवानाको पत्र शुक्रबार नै काटिएको छ । 

यो पनि पढ्नुहोस्- बालेनले ज्ञानेन्द्र शाहलाई काटे सात लाख ९३ हजार जरिवानाको पत्र

दमकल तोडफोड, गार्डेन, रेलिङमा क्षति, सडकपेटीको तोडफोड, जथाभावी फोहोर गरेको उल्लेख गर्दै महानगरले ज्ञानेन्द्रलाई कारवाही गरेको हो । शुक्रबारको हिंस्रक आन्दोलनको मुख्य योजनाकार नै ज्ञानेन्द्र रहेको ठहर गर्दै महानगरले उनको नाममा ८ वटा जरिवाना पत्र काटेको छ । 

दलहरूले कारबाहीको माग गरिरहेका तर सरकारले औपचारिक कुनै निर्णय नगर्दै बालेनले शुक्रबारको घटनाको मुख्य योजनाकार ज्ञानेन्द्र नै रहेको संकेत गर्दै जरिवानाका पत्र काटेका हुन् । 

शुक्रबारको प्रदर्शनअघि पूर्वआईजीपी सर्वेन्द्र खनाल, पत्रकार टीकाराम यात्री र कलाकार दीपकराज गिरिसहितले समर्थनको आशयको संयुक्त विज्ञप्ति निकालेका थिए । तर, शुक्रबार जनधनको क्षति हुने गरी आन्दोलन हिंसात्मक भएपछि उनीहरूले यस्ता प्रदर्शनमा आफ्नो संलग्नता नभएको प्रष्टीकरण दिएका छन् । 

दलहरूको निशानामा ज्ञानेन्द्र
सत्तारुढदेखि प्रतिपक्षी र विपक्षीले पनि ज्ञानेन्द्रलाई कानूनी कठघरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञानेन्द्र आपराधिक पृष्ठभूमिका व्यक्ति भएको थप पुष्टि भएको भन्दै कारबाहीको माग गरेका छन् । 

‘शुक्रबार जे भयो यसको पछाडि ज्ञानेन्द्र शाहकै हात छ भन्ने प्रस्ट भइसकेको छ । ज्ञानेन्द्रको मानसिकता नै आपराधिक छ भन्ने इतिहासमा देखिइसकेको थियो’, प्रचण्डले राजावादीले जलाएको एकीकृत समाजवादीको कार्यालय अनुगमन गरेपछि शनिबार भनेका छन्, ‘शुक्रबारको अराजकता निम्त्याएपछि उनी को हुन् भन्ने प्रस्ट भयो । उनीविरुद्ध कडा कदम चाल्ने समय नै यही हो ।’ ज्ञानेन्द्रलाई अब पनि छाडा हुने छुट दिइए जनताले नसहने प्रचण्डले चेतावनी दिए । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि राजा नहुँदै वितण्डा मच्चाएका ज्ञानेन्द्रले भए के गर्लान्भनेर प्रश्न उठाएका छन् । ‘काठमाडौंमा हिजो पूर्वराजाको नाममा अराजकता निम्त्याउने र हुलहुज्जत गर्ने काम भयो । घर, कार्यालय, सार्वजनिक सम्पत्तिमा तोडफोड, आक्रमण र आगजनी गरिए’, देउवाले शनिबार लुम्बिनीमा भएको एक कार्यक्रममा भने, ‘यसैबाट प्रष्ट हुन्छ कि पूर्वराजा ज्ञानेन्द्रले राजा नहुँदा त यस्तो हर्कत गर्दैछन् भए झन् के गर्लान् ?’ 

ज्ञानेन्द्र कुनै पनि प्रकारको राजा बन्न लायक नभएको भन्दै देउवाले कसैले चाहेर नेपालबाट गणतन्त्र नहट्ने प्रस्ट्याए । 

null

यस्तै, बीपी चिन्तन प्रतिष्ठानले काठमाडौंमा शनिबार गरेको कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले शुक्रबार भएको घटनामा ज्ञानेन्द्रले जवाफ दिनुपर्नेमाग गरेका छन् । 

‘शुक्रबार काठमाडौंको कोटेश्वर र तीनकुने आसपासमा राजावादीहरूले जसरी हिंसात्मक घटना गराए त्यसमा पूर्वराजा ज्ञानेन्द्रको उक्साहटमा भएको हो कि होइन ?’ सिटौलाले भने, ‘उहाँकै उक्साहटमा भएको हो भने उहाँले जिम्मेवारी लिनुपर्छ । नभए पनि जवाफ दिनुपर्छ ।’

पछिल्लो घटनाक्रम र कांग्रेसको आन्तरिक राजनीतिको विषयमा नेता विमलेन्द्र निधिले ५ जना नेतासँग छलफल गरेका छन् । शनिबार निधिले प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र शशांक कोइरालासहितसँग छलफल गरेका हुन् । 

संसद्को चौथो ठूलो दल रास्वपाले शुक्रबारको घटना छानबिनका लागि आयोग बनाउन माग गरेको छ । प्रतिनिधिसभाको अर्को दल जसपा नेपालले पनि उच्चस्तरीय न्यायिक छानबिन आयोग बनाउन माग गरेको छ । 

राप्रपाले भने आफ्ना दुई नेतामाथि गम्भीर आरोप लागे पनि ठोस निर्णय गरेन । बरु मारिएका दुई जनालाई सहिद घोषणा गर्न माग गर्दै राप्रपाले शुक्रबार सरकार पनि पनि संयम हुन नसकेको निष्कर्ष निकालेको छ । घटना सरकारकै कारण भएको उसको आरोप छ । 

सरकारको बेग्लै तयारी
अराजकता मच्चाउन उद्यत रहेको निष्कर्ष निकाल्दै सरकारले पूर्वराजामाथि थप लगाम लगाउने तयारी गरेको छ । जनधनको क्षति गराउने मुख्य योजनाकारको रूपमा काम गरेको भन्दै सरकारले ज्ञानेन्द्रमाथि उच्च निगरानी गर्ने, पासपोर्ट रद्द गर्ने, कारबाहीका लागि सर्वत्र दबाब परे उनलाई पक्राउ गर्नेसम्मको तयारी सरकारको छ । 

व्यवस्थामाथि नै अनावश्यक धावा बोलेको र शान्ति व्यवस्थालाई खलल् पुर्‍याएको भन्दै सरकारले शाहलाई दिँदै आएको पूर्वराष्ट्रप्रमुखको सुविधा, सुरक्षासहितको कटौती गर्ने विषयलाई समेत प्राथमिकतामा राखेको छ । 

यो पनि पढ्नुहोस्- पूर्वराजा ज्ञानेन्द्र शाहको पासपोर्ट रद्द गर्ने तयारी, अराजक गतिविधि नरोके पक्राउ गरिने

सुरक्षा संयन्त्रले शुक्रबारको तोडफोडमा उत्रिनेलाई सीसीटिभी क्यामेराको आधारमा पहिचान गर्ने, पक्रिने र अनुसन्धानको प्रक्रिया अगाडि बढाउने काम गरिरहेको छ । यसका लागि सादा पोशाकमा सयौं प्रहरी परिचालन गरिएको छ । समाजमा अराजकता फैलाउन र अराजकता निम्त्याउनेमाथि निर्मम भएर प्रस्तुत हुन आईजीपी दीपक थापाले शनिबार नै देशभरका प्रहरीलाई निर्देशन दिएका छन् ।

पछिल्लो समय समाजमा अराजकता फैलाउन सामाजिक सञ्जालका केही पेजहरू सक्रिय रहेको भन्दै सरकारले तिनलाई निगरानीमा समेत राखेको छ । समाजलाई भड्काउने गरी यी सञ्जालमा अनावश्यक विषय पोस्ट गर्ने गरेको भन्दै सरकारले सुक्ष्म अध्ययन र निगरानी गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्