
रिम विश्वकर्माको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘हेल्लो काँशीराम’ सेन्सर पास भएको छ ।
आगामी जेठ २ गतेबाट नेपालभर प्रदर्शन हुने यस फिल्मले केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । अब यस फिल्मलाई हरेक वर्गका दर्शकले हेर्न पाउनेछन् ।
‘कमेडी शैलीमा निर्माण भएको फिल्मभित्रको कथाको रहस्य भने दर्शकले प्रदर्शन भएपछि थाहा पाउनेछन्’, निर्देशक विश्वकर्माले भने, ‘तर, सेन्सर बोर्डका सदस्यहरूले समग्रमा फिल्मलाई राम्रो रेटिङ दिनुभयो । निकै खुसी बनाएको छ ।’
फिल्मको यसअघि सार्वजनिक प्रचार सामाग्रीले दर्शकहरूमा छुट्टै किसिमको कौतुहलता सिर्जना गरेको छ । विशेष गरेर दिलिप रायमाझीले बोको बोकेर भागिरहेको दृश्यले दर्शकको ध्यान तानेको छ ।
रेडलाइन फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन् । यस फिल्ममा पीबी थापाले लगानी गरेका छन् ।
फिल्ममा दिलीप रायमाझीसँगै सुरविर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल देखिने छन् । त्यस्तै, हालका चर्चित हाँस्य कलाकार उमेर राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकार पनि फिल्ममा देख्न पाइनेछ ।
फिल्ममा चर्चित अभिनेत्री प्रियंका कार्कीको समेत विशेष भूमिका रहेको निर्माण टिमले जनाएको छ ।