२९ असार २०८३, सोमबार
सन्दर्भ : राजावादीको आन्दोलन

हिंसा होइन, सविनय अवज्ञा आजको आवश्यकता

चैत १७, २०८१
काठमाडौं
हिंसा होइन, सविनय अवज्ञा आजको आवश्यकता

हिजोआज नेपालको मौजुदा शासन प्रणाली बदलेर राजासहितको शासनप्रणाली स्थापना गर्ने बहस उत्कर्षमा छ र यसैको सेरोफेरोमा आयोजना भएको प्रदर्शनमा दुर्भाग्यपूर्ण घटना समेत घट्न पुगेको छ ।

यतिबेला सार्वजनिक प्रदर्शनमा गोली चल्नु र सञ्चारकर्मी सुरेश रजक तथा सविन महर्जनको ज्यान जानु सामान्य घटना होइन । यसको जति निन्दा गरेपनि कम हुन्छ । राष्ट्रिय गान बज्दै गर्दा टियर ग्याँस हान्ने आदेश किन दिइयो ? त्यसो नगरेको भए के हुन्थ्यो ? यो प्रश्न पनि निकै गम्भीर र तर्कपूर्ण छ ।

जेहोस्, प्रदर्शनले हिंसात्मक रूप लिनुमा आयोजक र सरकार दुवै दोषी छन् । यसपटक देखिएका गतिविधि हेर्दा राजा फर्काउने आन्दोलनका अगुवाहरूमा सुझबुझ र परिपक्वता छैन भन्ने स्पष्ट झल्किन्छ । राजावादी आन्दोलनका कतिपय पात्रका अभिव्यक्ति र अराजक क्रियाकलापले त राजसंस्थाप्रति सहानुभूति राख्ने व्यक्तिहरू समेत झस्केका छन् ।

आफ्नो निजी स्वार्थ र महात्त्वाकांक्षाले नेपालको राजनीतिमा राजाको आवश्यकता देख्ने र सिद्धान्ततः राजनीतिमा राजाको उपस्थिति आवश्यक ठान्ने व्यक्ति तथा समूहको गठजोडबाट आयोजित प्रदर्शन सुविचारित हुने त सम्भावना नै थिएन । यसलाई सरकारले ठम्याउन पनि सकेन र स्वयं सरकारले संयम गुमाएको तथा प्रदर्शनमा देखिन सक्ने अराजकता नियन्त्रण गर्ने रणनीतिक कौशल देखाउन नसकेको पाइन्छ ।

एक त सरकारले हम्मेसी नागरिकमाथि बल प्रयोग गर्नु हुँदैन । गरिहाले पनि त्यसको निश्चित सीमाभित्र बसेर संयमका साथ काम गर्नुपर्छ । सरकारले संयम गुमाएपछि नागरिक तहबाट भएको दोष समेत ओझेलमा पर्छ । कतिपय प्रदर्शनहरूलाई स्वाभाविक रूपमा हुन दिएर एउटा निश्चित सीमाभित्र नियन्त्रण गर्नुपर्थ्यो ।

कुन व्यक्ति वा शक्तिले कुन मुद्दामा कस्तो प्रदर्शन गर्दैछ भन्ने भेउ पाएर तदनुरुप व्यवस्थित तयारी गर्नुपर्थ्यो । तर, सरकारमा त्यस्तो विवेक देखिएन । राज्य सञ्चालनको उपल्लो तहमा बसेका जिम्मेवार व्यक्तिको गैरजिम्मेवार अभिव्यक्ति पनि यसका लागि मुख्य सहायक छ ।

नागरिक खेमाको कुरा गर्ने हो भने राजनीति वा शासन प्रणालीमा राजाको स्थान रहोस् या नरहोस्, देशको अवस्था बदलिएर जनताको जीवन सहज र सुखद् होस् तथा देश समुन्नत र प्रतिष्ठित होस् भन्ने चाहना देखिन्छ । हिजोदेखि आजसम्म प्रताडित यो समूहलाई आफ्नो दैनिकीमा गुणात्मक सुधार चाहिएको छ । वर्तमान शासन प्रणालीले राम्रो गर्दै जाने हो भने यसलाई राजासँग कुनै मतलब छैन ।

माथि उल्लेखित बहसमा राजावादीहरू मात्र सम्मिलित छैनन् । यसमा ०४७ को संवैधानिक व्यवस्था उपयुक्त ठान्ने र गणतन्त्र स्थापनापछिको गतिविधिबाट वाक्कदिक्क भएका नागरिक समेत सामेल छन् । यी दुवै खेमाको आ–आफ्नै उद्देश्य छन् । राजावादीहरूमा पनि २ खेमा छन्– एक, सक्रिय राजतन्त्र ब्यूँताएर आफ्नो दुनो सोझ्याउने र अर्को, लोकतान्त्रिक व्यवस्थामा राजाको स्थानलाई सुरक्षित गरी संवैधानिक राजतन्त्र कायम गर्ने ।

अब नागरिक खेमाको कुरा गर्ने हो भने राजनीति वा शासन प्रणालीमा राजाको स्थान रहोस् या नरहोस्, देशको अवस्था बदलिएर जनताको जीवन सहज र सुखद् होस् तथा देश समुन्नत र प्रतिष्ठित होस् भन्ने चाहना देखिन्छ । हिजोदेखि आजसम्म प्रताडित यो समूहलाई आफ्नो दैनिकीमा गुणात्मक सुधार चाहिएको छ । वर्तमान शासन प्रणालीले राम्रो गर्दै जाने हो भने यसलाई राजासँग कुनै मतलब छैन ।

त्यस्तै, राजनीतिमा अहिलकैजस्तो बेथिति रहिरहने हो भने गणतन्त्रसँग पनि सरोकार छैन । तर, एउटा कुराचाहिँ के ध्रुवसत्य हो भने उसलाई लोकतन्त्र चाहिन्छ, जहाँ जनअधिकार सुरक्षित होस् । तर, कहिलेकाहीँ पवित्र भावना भएको समूहको मनोविज्ञान बुझेर स्वार्थी तत्वहरूले खेल्ने र आफ्नो अनुकूल प्रयोग गर्ने गर्दछन् । नेपालको मौजुदा परिस्थितिलाई हेर्दा स्वार्थी समूहले निर्दोष जनतालाई उपयोग गर्ने प्रबल सम्भावना छ । जबकि नेपाली जनताको दशा टिठलाग्दो छ र तत्काल उद्धार तथा राहतको बाटो अपनाउनुपर्ने अवस्था छ । यस दिशामा सोच्ने कोही नेता देखिँदैन । नेपाली जनता अद्भुत 'फरिस्ता' पर्खिरहेका छन् । यस विषयमा गम्भीर विमर्श गर्नुपर्ने आवश्यकता देखिन्छ ।

हामी सबैले एकस्वरमा जोडसँग भन्न सक्छौं कि सिद्धान्त: लोकतान्त्रिक शासन प्रणालीमाथि आजसम्म कसैले पनि गम्भीर प्रश्न उठाउन सकेको छैन । यसले धारण गर्ने राजनीतिक चरित्र निकै उदार र लचिलो छ । यो विनयशील अर्थात् विनम्र प्रणाली हो । सबैको कुरा सुनेर अधिकतम जनताको हितमा कार्य गर्नु यसको प्रवृत्ति हो ।

आफ्नो मान्यता, राय, तर्क वा विचारको आधारमा मानिसहरूलाई संगठित गर्नु, राजनीतिक दल बनाउनु र निर्वाचनका माध्यमबाट सरकारमा पुग्नु यसको विशेषता हो । फरक विचारलाई समेत स्थान दिनु, कसैलाई निषेध नगर्नु र समान हैसियतमा प्रतिस्पर्धामा उत्रनु यसको थप विशेषता हो ।

सम्बन्धित मुलुकको नागरिक आवश्यकता, भौतिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र धार्मिक परिवेशअनुरुप सदैव जनचाहनाको कदर गर्नु र विधिपूर्वक शासन चलाउनु यसको मौलिक स्वभाव र पहिचान पनि हो । यसले निरंकुशता, दम्भ र अहंकारलाई सदैव अस्वीकार र निषेध गर्दछ । यदि त्यसो नहुने हो वा गर्न नसक्ने हो भने त्यो लोकतन्त्र वास्तविक लोकतन्त्र मानिँदैन र हुँदैन पनि । संरचनागत र यान्त्रिक प्रबन्धले मात्र लोकतन्त्र सावित गर्न सकिँदैन ।

०४६ यताको बहुदलीय तथा गणतान्त्रिक अभ्यास संरचनात्मक मात्र भयो, भावनात्मक भएन भनेर नै तत्कालीन शासन प्रणालीमा परिमार्जन गरेर अघि बढ्नुपर्ने दबाब आएको र अन्ततः नेपाल गणतन्त्रमा पुगेको हो । जसका दीर्घकालीन प्रभावहरू हिजोआज देखिन थालेका छन् । ताज्जुवलाग्दो कुरा त के छ भने हरेक राजनीतिक परिवर्तनपछिको छोटो अन्तरालमा नै नेपालमा राजनीतिक परिवर्तनको राग अलाप्न शुरू भैहाल्छ । आजको मूल प्रश्न यो होइन । आजको हाम्रो दायित्व प्रचलित राजनीतिलाई फेर्ने वा बदल्ने नै हो । व्यवस्था बदलिरहने मात्र हाम्रो प्राथमिक काम होइन, राजनीतिको वर्तमान कार्यशैली र चरित्र फेर्ने हो । लोकतन्त्रलाई वास्तविक लोकतन्त्र बनाउने हो । व्यवस्था फेर्नु र राजनीति फेर्नु फरक कुरा हो । हामीले यसको भेद छुट्ट्याउन सक्नुपर्छ ।

 हाम्रो सन्दर्भमा के हुँदैछ त ? नेपाल समस्याग्रस्त छ । सरकार जनभावनाको कदर गर्दैन । एक त गठबन्धन अस्वाभाविक छ र फगत गणितीय मात्र छ । राजनीतिमा गणित मात्र सर्वोपरि हुँदैन । यदि त्यसो हुने हो भने केही समयअघि बंगलादेशमा राजनीतिक उथलपुथल हुने थिएन । नेपालको राजनीतिले मूलबाटो समात्न सकेन । हामी कहाँबाट आयौं, कहाँ छौं र कहाँ जाने हो ठम्याउन पनि सकेन । आजसम्म आफैं कमजोर बन्ने उल्टो बाटो समात्यो र आजको संकटसामु उभिएको छ । देशभरि वर्तमान राजनीति र नेतृत्वप्रति सर्वत्र जनआक्रोश छ । यो दिनानुदिन चुलिँदैछ । समस्या 'क्रोनिक' अर्थात् जटिल मोडतर्फ अग्रसर छ ।

राजावादीको कुरा र गतिविधिमा राजनीतिक स्वार्थ छ । तर, समग्रतामा हेर्दा नेपालको गणतन्त्र जनभावना अनुरूप चलेको छैन भन्ने यथार्थ हामीले स्वीकार गर्नुपर्दछ । हामीसँग मोटरगाडी बिग्रियो भनेर बयलगाडी चढ्ने विकल्प पनि होला । तर, त्यो उपयुक्त विकल्प होइन, हामीलाई लोकतन्त्र नै चाहिन्छ । तसर्थ, अबको बाटो र समाधान के त भन्ने चिन्ता सम्पूर्ण नेपालीमा देखिएको छ । हामीले बुझ्नुपर्छ, यो बाटो हामी स्वयंले पहिल्याउनुपर्छ, कसैले देखाइदिँदैन । नेपाली जनताको विवेक, सामर्थ्य र बहादुरीले राष्ट्रलाई विकसित र सम्मानित बनाउन सकिन्छ भन्ने मानक कायम गरेर संसारलाई देखाउनु छ । हाम्रा नाडी गलेका छैनन्, पाखुरामा अझै दम छ र धमनीमा तातो रगत बगेकै छ । त्यसैले अब के गर्ने भनेर तमासा हेरेर बस्ने सुविधा हामीसँग छँदैछैन ।

वर्तमान राज्य व्यवस्था सञ्चालन गर्ने दलहरूको कार्यशैली परम्परागत र सामन्ती चरित्रको छभन्दा अत्युक्ति हुँदैन । यस्तो सनातनी शैलीले देशलाई अघि बढाउँदैन र जनताले सुख पाउँदैन । यही शैलीमा हिँडेर क्रान्ति, परिवर्तन र उन्नत लोकतन्त्रका कुरा गर्न पटक्कै सुहाउँदैन । लोकतान्त्रिक नेताको बिहानदेखि बेलुकासम्मको दिनचर्याबाट छर्लंग देखिन्छ कि उनीहरू नवसामन्त हुन्, जसले जनताको दुःख र पीडालाई महसुस गर्न सक्दैनन् ।

यस सन्दर्भमा अमेरिकी प्रकृतिवादी दार्शनिक डेभिड हेनरी थोरोलाई सम्झिनुपर्ने हुन्छ, जसलाई महात्मा गान्धी र मार्टिन लुथर किङ 'जुनियर'ले आफ्नो जीवनमा अनुशरण गरेका र आदर्शको रूपमा अपनाएका थिए । भारतले यही बाटोबाट अर्थात् 'सविनय अवज्ञा'को अहिंसात्मक बाटो अपनाएर स्वतन्त्रता प्राप्त गरेको थियो ।

उनीहरूको व्यक्तित्व पनि गरीब नेपालीको प्रतिनिधिजस्तो देखिँदैन । खानपान, बसउठ, पहिरन र रुचिबाट पनि सही लोकतन्त्रवादी झल्काउँदैन । यस्तो तालले कसरी आर्थिक र सामाजिक उत्थानको दायित्व पूरा हुन्छ ? राज्य दिनानुदिन अन्यायी बन्दै गएको छ । जनताको संवेदना बेवारिस छ । दलको आन्तरिक जीवन जडसुत्रवादी छ । योग्यता र प्रतिभा दण्डित र अपहेलित छ । योगदान उपेक्षित छ । गतिशीलता र क्रियाशीलता निरुत्साहित छ । अनि कसरी अग्रगामी नाराका हकदार बन्न सक्छन् नेताहरू ? यसबाट वर्तमान दलका नेताहरू राजावादीका नवसंस्करण देखिन्छन् । राजतन्त्र असान्दर्भिक भनेर फालेको हो । अनि त्यही र त्यस्तै प्रवृत्ति कसरी उपयुक्त र सान्दर्भिक हुनसक्छ ? पुस्तान्तरण गरेर हेर्दा अवसर पाएको नयाँ पुस्ताले नवसामन्तको ठाउँ ओगट्ने खतरा छ, जसले आफ्नो स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने हो । नेतृत्व, जेष्ठपुस्ता, समकालीन पुस्ता र नयाँ पुस्ता समेतलाई विश्वासमा लिनुपर्ने हो । आजसम्म त्यस्तो देखिँदैन । सबैसँग अन्तरक्रिया, छलफल, पृष्ठपोषण आदिका माध्यमबाट आफूलाई समृद्ध बनाउँदै लैजानुपर्ने हो । तर, यस्तो पाइँदैन । यसबाट ऊ पनि देशको अवस्थाप्रति जति गम्भीर हुनुपर्ने हो, त्यति गम्भीर देखिँदैन । कुराले मात्र त च्युरा भिज्दैन । वादसंवाद, आचरण, कर्म र व्यवहारको सन्तुलनले उसले आफूलाई प्रमाणित गर्न सक्नुपर्छ ।

पुरानो पुस्ताले रामनामी ओढ्दैमा सन्त भइँदैन भन्ने कुराको हेक्का राख्न सकेन । तर, नयाँ पुस्ताका सबैले सदैव हेक्का राख्नुपर्छ । र, सबैभन्दा बढी त जिम्मेवारीमा रहेको नयाँपुस्ताले राख्नुपर्छ । नत्र समाजले घोर निराशाको बाटो समात्छ र अराजकता एवं हिंसालाई प्रोत्साहित गर्छ ।  हामीले बुझ्नुपर्ने कुरा के हो भने राज्य लोकतान्त्रिक भएपनि  अन्यायी छ भने त्यो राज्य अन्यायी र अविवेकी नै हो । लोकतन्त्रको मर्म र धर्मविपरीत चल्ने राज्यलाई जनताले सधैंभरि काँध हाल्दैनन् ।

तानाशाही राज्य त स्वतः अन्यायी भैहाल्छ । त्यसको ठाउँमा लोकतन्त्र त चाहिन्छ नै । तर, जब जनताले आफ्नो ठानेको शासन प्रणालीले नै न्याय गर्दैन भने त्यहाँ अवज्ञाको खण्ड आइपर्छ र तर, त्यो सविनय हुनुपर्छ ।

यस सन्दर्भमा अमेरिकी प्रकृतिवादी दार्शनिक डेभिड हेनरी थोरोलाई सम्झिनुपर्ने हुन्छ, जसलाई महात्मा गान्धी र मार्टिन लुथर किङ 'जुनियर'ले आफ्नो जीवनमा अनुशरण गरेका र आदर्शको रूपमा अपनाएका थिए । भारतले यही बाटोबाट अर्थात् 'सविनय अवज्ञा'को अहिंसात्मक बाटो अपनाएर स्वतन्त्रता प्राप्त गरेको थियो ।

यसका विश्वव्यापी प्रयोग र प्रभावहरू छन् । नेपालमा लामो संघर्षबाट प्राप्त प्रजातन्त्रलाई चीरस्थायी बनाउन धेरै परिमार्जन र सुधारको आवश्यकता छ । यसको पूर्ण विस्थापन भने आजको मुद्दा हुन सक्दैन । तथापि, राज्य अविवेकी र अन्यायी हुँदै गयो भने प्रतिवाद आवश्यक हुन्छ । तर, यसो भन्दैमा हिंसात्मक बाटो भने अपनाउन सकिँदैन । यो शान्तिपूर्ण र अहिंसात्मक नै हुनुपर्छ ।

salt training

कमेन्ट गर्नुहोस्