०३ असार २०८३, बुधबार
राप्रपा अध्यक्षका दु:ख

निर्मलनिवासको उपेक्षा र प्रसाईं समूहको अराजकताको चेपुवामा लिङ्देन

चैत २०, २०८१
काठमाडौं
निर्मलनिवासको उपेक्षा र प्रसाईं समूहको अराजकताको चेपुवामा लिङ्देन

समकालीन राजनीतिमा यतिखेर सबैभन्दा चेपुवा र विवशतामा बाँच्नुपरेका कोही पात्र छन् भने ती राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन हुन् । उनी राजसंस्था पुनःस्थापना नै गर्नुपर्छ भन्ने संस्थागत मत राख्दै आएको संसद्को पाँचौं ठूलो दलका नेतृत्वकर्ता हुन् ।

नाममा प्रजातन्त्रको फुर्को भए पनि समकालीन दल र समूहमा राजसंस्थाका लागि अनवरत वकालत गर्ने पार्टीमा राप्रपा पर्छ । आमपब्लिक र दलहरूले पनि राप्रपालाई राजावादी पार्टीको रूपमा चिन्छन् । तर, मुद्दामा प्रस्ट हुँदाहुँदै पनि अनेक परिस्थितिले लिङ्देन यतिखेर चेपुवा र विवशता बाँचेका छन् । 

राजसंस्थाको वकालत गर्नुपर्ने बाध्यता एकातिर छ । राजा ल्याउने विषयलाई राप्रपाले सबैभन्दा ठूलो मुद्दा पनि बनाएको छ । तर, चुनाव जित्न गणतान्त्रिक शक्तिसँग मिल्नुपरेको छ । 

चुनाव जितेपछि बार्गेनिङमा उपप्रधानमन्त्री र मागेको मन्त्री पाउने वातावरण पनि बनाउनुपरेको छ । राजसंस्थालाई मूल मुद्दा बनाए पनि लिङ्देन निर्मल निवासको उपेक्षामा छन् । 

पार्टीभित्र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेरसँग जुध्नु लिङ्देनको अर्को नियति हो । यी तीन पक्षबाहेक राप्रपा फुटको जोखिम सामना उनले गर्नुपरेको छ । 

विश्वासपात्र फेरिरहने पूर्वराजा ज्ञानेन्द्र शाहको अस्थिर स्वभावसँग जुध्नुपरेको छ । अध्यक्षमा हराएको रिस फेर्न कमल थापाले जतिखेर पनि पार्टी फुटाइदिने जोखिमको सामना पनि लिङ्देनले गर्दै आएका छन् । 

शालीन स्वभावका लिङ्देन यी कुरा खुलेर बाहिर बोल्न मान्दैनन् । तर, राप्रपा राजसंस्था ल्याउनुपर्छ भनेर लागे पनि राजाकै पार्टी नभएको अभिव्यक्ति लिङ्देनले मिडियामार्फत दिएका छन् । राप्रपाका नेता बुद्धिमान तामाङ अरूले जे भने पनि राजासंस्थाको असली अभियानकर्ता राप्रपा मात्रै भएको बताउँछन् ।

विश्वासपात्र फेरिरहने पूर्वराजा ज्ञानेन्द्र शाहको अस्थिर स्वभावका कारण लिङ्देनसामु चुनौती त छ नै, पार्टीभित्र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेरसँग पनि जुध्नु परेको छ । अध्यक्षमा हराएको रिस फेर्न कमल थापाले जतिखेर पनि पार्टी फुटाइदिने जोखिमको सामना समेत लिङ्देनले गर्दै आएका छन् । 

‘नारायणहिटी पुगेर दर्शनभेट पाएँ भन्ने पनि छन् । को नजिक हुने भनेर पनि राजावादीमा प्रतिस्पर्धा देखिन्छ । तर, कामले होडबाजी गर्ने हो । संस्थागत मुद्दा उठाउने हामी हौं,’ तामाङले भने, ‘कतिपयले राजासँग भेट नै नगरी महत्त्व पायौं भनेर प्रचार गरेका छन् । तर, उनीहरूको पहुँच राजासमक्ष अहिले पनि हुने गरेको छैन । निर्मल निवासको गेटभित्र छिरे भन्दैमा राजासँग भेटे भन्ने अर्थ लगाउनु हुँदैन । सबैलाई भेट्ने राजाहरूको नेचर होइन ।’

फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले अब देशलाई आफ्नो खाँचो रहेको सन्देश जारी गरेका थिए । अपिलपछि राजावादी समूह र दलले फागुन २५ मा काठमाडौंमा पूर्वराजालाई स्वागतको कार्यक्रम राखे । 

पोखराबाट आएका ज्ञानेन्द्रलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मलनिवाससम्म लगियो । पहिले नजाने भनेका लिङ्देन पनि अन्ततः पूर्वराजाको त्यो र्‍यालीमा गएका थिए । यसबाटै उत्साहित हुँदै पूर्वराजा ज्ञानेन्द्रकै अगुवाइमा नवराज सुवेदीलाई संयोजक बनाएर संयुक्त जनआन्दोलन समिति बनाइयो । 

पूर्वराजाको योजनाअनुसार अस्तित्वमा आएको ८६ वर्षीय सुवेदीको समितिमा उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर मात्रै अटाए । आफूलाई केही खबर नआएको र निर्मल निवासले नसोधेको लिङ्देनले बताउँदै आएका छन् । 

प्रदर्शनको एक दिनअगाडि मात्रै समितिले अराजक स्वभावका दुर्गां प्रसाईंलाई जनकमान्डर घोषणा गर्‍यो । यही दिन प्रसाईं निर्मल निवासमा ज्ञानेन्द्रसँग २ घण्टा वार्ता गरेर फर्किए । 

भोलिपल्टै काठमाडौंको तीनकुनेमा राजसंस्था पक्षधर दल र समूहले गरेको प्रदर्शन हिंसा, लुटपाट र आगजनीमा बदलियो । दुई जनाको ज्यान जाँदा थुप्रै सार्वजनिक र निजी सम्पत्तिमाथि आगजनी र तोडफोड हुन पुग्यो । 

यी सबै जोखिम र चेपुवाको स्थितिपछि राप्रपाकै नेता नेता बुद्धिमान तामाङले संसद्को राज्य व्यवस्था तथा सुशासनको समिति बैठकमा बोलेका छन् ।

‘चैत १५ गतेको प्रदर्शनमा हाम्रो टीम नै जाने कुरा भएको थियो । अध्यक्ष राजेन्द्र लिङ्देनज्यू, ज्ञानेन्द्र शाहीसहित हामी प्रदर्शनमा जाने गरी तयार भएर बसेका थियौं,’ तामाङले भने, ‘तर, मञ्चतिर हेर्दा राजाको फोटो त थियो, तर त्यही साइजको फोटो दुर्गा प्रसाईंको पनि देखियो । राजाको र प्रसाईंको फोटो सँगै र उत्रै देखेपछि खत्तम रहेछ भन्ने लाग्यो, अनि हामी गएनौं ।’

आन्दोलनलाई समर्थन गर्ने भनेर अघिल्लो दिनमात्रै राप्रपाले विज्ञप्ति निकालेको थियो । तर, उत्रै फोटो प्रसाईंको पनि देखेपछि चाहेर पनि अध्यक्षसहितका नेता नगएको उनले दाबी गरेका छन् । 

‘आन्दोलनलाई हामीले समर्थन पनि गरेका थियौं । तर, समर्थन गरेर मात्रै नहुने रहेछ,’ प्रसाईं मिसिएपछि आन्दोलन अराजक बनेको उल्लेख गर्दै तामाङले भने, ‘त्यसैले हाम्रो अध्यक्ष र अरू धेरै नेता नगएका हौं । दुर्गा प्रसाईंको फोटो देखेपछि डर लाग्यो नि, अनि म पनि टाप कसें ।’ 

‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ चालाउँदै आएका प्रसाईं भाँडभैलो मच्चाएर फरार भएका छन् । प्रदर्शन हिंसामा बदलिएपछि सोही रात उपाध्यक्ष मिश्र र राणा पक्राउ परे । 

भोलिपल्टै लिङ्देनले कार्यसम्पादन समितिको बैठक राखेर तीनकुने घटनाप्रति दुःख व्यक्त गरे । घटना निम्त्याउन सरकारलाई जिम्मेवार ठहर्‍याए । तर, बैठकले ‘जसले जुन उद्देश्यका लागि आगजनी, तोडफोड र हिंसात्मक गतिविधि गरेको भए पनि निन्दनीय छ । राप्रपा हिंसाको विपक्षमा छ । हिंसात्मक गतिविधि स्वीकार्य हुन सक्दैन,’ भन्ने निर्णय गरेको छ । 

संसदमा राजेन्द्र लिङ्देन

बैठकले निर्णयको अन्तिमतिर पक्राउ परेका उपाध्यक्ष मिश्र र महामन्त्री राणालाई तत्काल रिहा गर्न माग गर्दै सान्त्वनामा शब्द खर्चियो । तर, उनीहरूमाथि फौजदारी कसुरमा अनुसन्धान चलेपछि अध्यक्ष लिङ्देनले तत्काल भेट्न जान पनि उपयुक्त ठानेनन् । दुई दिनपछि मात्रै उनी नेताहरूलाई भेट्न गए ।  

संस्थागतरूपमा राजसंस्थाको वकालत गर्ने आफूलाई उपेक्षा गर्दै अराजक प्रसाईं र पार्टीभित्र रवीन्द्र तथा धवल शमशेर राणा हावी भएकोप्रति लिङ्देन चरम असन्तुष्ट रहेको उनीनिकट स्रोत बताउँछ । 

‘हामीलाई बाहिरबाट पनि राजाको पार्टी भनेर लखेट्ने काम भएको छ । निर्मल निवासले पनि हामीलाई नै बेवास्ता गरेको घटनाक्रमले देखाएकै छन्,’ राप्रपाका एक नेता भन्छन्, ‘कतिपय यो पार्टीमा केही भइहाल्छ कि भनेर हावी हुन पनि खोजेका छन् । तर, हामीलाई दबाबमा राख्ने कसैको रणनीति पूरा हुँदैन ।’

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले संस्थागत मुद्दा बोक्ने हिसाबले राप्रपा सतहमा देखिए पनि प्रसाईं र केही नेताले पार्टीका सबैलाई क्षति पुर्‍याएको टिप्पणी गरे । 

‘संस्थागतरूपमा राजसंस्थाका लागि वकालत गर्दै आएको पार्टी राप्रपा हो । तर, अराजक मान्छेलाई संयोजक र जनकमान्डर बनाएपछि राजावादी विभाजित भएका छन्,’ वाग्लेले लोकान्तरसँग भने, ‘पछिल्लो अराजक र उदण्डतापूर्ण प्रदर्शनपछि ज्ञानेन्द्र थप अलोकप्रिय भए । उनीप्रतिको सहानुभूति पनि समाप्त भयो । सबैभन्दा ठूलो क्षति राजावादी र राप्रपालाई भएको छ ।’ 

तीनकुनेको वितण्डालाई लिङ्देनले हिंसात्मक अराजकता भनेको उनीनिकट नेताहरू बताउँछन् । पछिल्लो समय नवराज सुवेदीको संयोजकत्वमा बनेको संयुक्त जनआन्दोलन समिति, यसका सदस्य र प्रक्रियाका विषयमा लिङ्देनले असहमति राख्दै आएका छन् ।

सुवेदीले पत्र नै पाएको प्रमाण नभएको उनले मिडियासँगै बोलेका थिए । 

ज्ञानेन्द्र प्रत्यक्ष अगाडि नबढेको दाबी राप्रपाले गर्दै आएको छ । तर, प्रसाईंले ज्ञानेन्द्र नै कमान्डर भएको भन्दै लिङ्देनसहितका नेतालाई हलीको संज्ञा दिएका छन् । 

‘राजा स्वयं अगाडि बढिसकेपछि अब यो आन्दोलनको लिडर स्वयं राजा नै हुनुहुन्छ । म सारथि थिएँ, छु र रहिरहनेछु । म राजासँगै मिलेर काम गर्न चाहन्छु । हलीसँग मिलेर सडक आन्दोलनमा किमार्थ जान्नँ, सबैलाई चेतना भया ।’ 

भित्रैदेखि राजसंस्थाको मुद्दा आफूहरूले बोक्ने तर, अराजक दुर्गा प्रसाईंहरू निर्मल निवास धाएकोप्रति लिङ्देन रुष्ट छन् । प्रसाईंले राप्रपा नेता ज्ञानेन्द्र शाहीलाई त खलासीको संज्ञा दिएका थिए । त्यसैले पार्टी फुटाउन प्रयास गर्ने निर्मल निवास, कमल थापादेखि मिश्र र धवलहरूबाट सचेत हुनुपर्ने मत राप्रपामा बलियो भएको नेताहरू बताउँछन् । 

चैत १५ गते प्रदर्शनलाई अराजक बनाएका प्रसाईं प्रहरी नियन्त्रणमा हुँदाहुँदै पक्राउ नपरेकोमा पनि लिङ्देन असन्तुष्ट छन् । प्रसाईंलाई देखाएर आफूहरूको मुद्दा कमजोर बनाउन लागेको उनको बुझाइ रहेको छ । पार्टीमा ढिलो छिरेका रवीन्द्र र धवलहरू अराजक बनेको पनि लिङ्देनलाई मन परेको छैन । 

राप्रपाका नेता बुद्धिमान तामाङ चैत १५ गते गरिएको प्रदर्शन हिंसात्मक हुनु दुःखद् भएको बताउँछन् । 

‘राजसंस्थाको मुद्दा हाम्रो पार्टीले संस्थागतरूपमा बोक्दै आएको छ । यसका लागि जसले अभियान चलाए पनि साथ दिने राप्रपाको नीति हो । तर, हाम्रो खुला नीतिको गलत फाइदा लिँदै चैत १५ गते तीनकुनेमा दुःखद् घटना भयो,’ तामाङले लोकान्तरसँग भने, ‘दुःखद् घटना हुन थालेपछि ठीक नलागेर कार्यक्रममा पुगेर पनि हिँडे । अध्यक्षसहितका हाम्रा धेरै नेता सहभागी हुनुभएन ।’

राजतन्त्रकै वकालत गर्दा पनि लिङ्देनले निरकुंशताको पक्षपोषण गर्ने गरेका छैनन् । राजासहितको प्रजातन्त्र अगाडि बढ्न सक्ने तर्क लिङ्देनको भाषणमा सुनिन्छ । उनले संघीयता खारेजी र हिन्दू राष्ट्रको मुद्दा आफूहरूको माग रहेको बताउँदै आएका छन् ।

राप्रपाले चैत २६ र वैशाख ७ गते प्रदर्शन गर्दैछ । अरूले हिंसात्मक बनाइदिएपछि यी २ दिनका प्रदर्शनलाई शान्तिपूर्ण बनाउनुपर्ने चुनौती लिङ्देनलाई छ । तर, आफूले आयोजना गरेको प्रदर्शनमा कमल थापाको राप्रपा नेपाल र दुर्गा प्रसाईंका कार्यकर्ता आउने स्थिति भने कम रहेको उनीहरूको आकलन छ । 

राजतन्त्रकै वकालत गर्दा पनि लिङ्देनले निरकुंशताको पक्षपोषण गर्ने गरेका छैनन् । राजासहितको प्रजातन्त्र अगाडि बढ्न सक्ने तर्क लिङ्देनको भाषणमा सुनिन्छ । उनले संघीयता खारेजी र हिन्दू राष्ट्रको मुद्दा आफूहरूको माग रहेको बताउँदै आएका छन् । तर, गणतान्त्रिक व्यवस्थाभित्रै राजनीति गर्नुपर्ने र सँगै राजतन्त्रको मुद्दामा पनि आफूलाई टिकाइराख्नुपर्ने दोधारमा लिङ्देन छन् ।

उनको यही दोधारमा टेकेर ज्ञानेन्द्र, रवीन्द्र, धवलदेखि कमल थापासम्मले लिङ्देनलाई यतिखेर चेपुवामा पारेका छन् । अब कसैको लहडमा आन्दोलनमा नजाने भन्दै तामाङले संविधानभित्रैबाट कुरा उठाउने बताए । 

‘हामी हाम्रो मुद्दा उठाउँछौं, तर कानून मान्ने, संविधानभित्रैबाट माग उठाउने पक्षमा हामी छौं,’ तामाङले भने, ‘पछिल्लो हिंसात्मक आन्दोलनबाट धेरै पाठ सिकिसक्यौं । अब एजेन्डा नबुझी हचुवाको आधारमा हामी कसैको आन्दोलनमा जाँदैनौं, शतर्क हुन्छौं ।’

निर्मल निवासको बेवास्ता र राप्रपालाई बदनाम गराउने प्रयासका बीच संविधानभित्रैबाट आफूहरूका माग राख्ने ठाउँमा राप्रपा छ । अभिव्यक्तिमा प्रायः सौम्य लाग्ने लिङ्देन कहिलेकाहीँ आवेगमा पनि आउँछन् । प्रतिनिधिसभाको बैठकमा केही दिनअगाडि लिङ्देनले कांग्रेस–एमाले मान्छे नमारी यहाँसम्म आएका हुन् र ? भन्दै प्रश्न गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्