२९ जेठ २०८३, शुक्रबार
पहिचान भए २५ करोडका मालिक

रक्तचन्दन तस्करीदेखि जुवा अड्डासम्म चलाउँथे २५ करोड प्रकरणका आरोपी पौडेल

चैत २०, २०८१
काठमाडौं
रक्तचन्दन तस्करीदेखि जुवा अड्डासम्म चलाउँथे २५ करोड प्रकरणका आरोपी पौडेल

राजश्व अनुसन्धान विभागले २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्रा प्रकरणमा मुख्य आरोपी ठहर्‍याएका टोखानिवासी नारायण पौडेल यसअघि पनि विभिन्न तस्करीमा संलग्न हुने गरेको खुलेको छ । 

गत चैत ४ गते काठमाडौंको टोखाबाट बरामद भएको १३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० अमेरिकी डलरका मुख्य मालिक पौडेल नै भएको राजस्व अनुसन्धान विभागको अनुसन्धानले पुष्टि गरेको छ । 

विभागका एक अधिकारीले मुख्य आरोपी पौडेलको घरमा मंगलबार छापा मारेर बैंक चेकहरू बरामद गरेको जानकारी दिए । 

उनले भने, ‘हामीले पौडेलले प्रयोग गर्ने मोबाइल नम्बरको सीडीआर, सीसीटिभी फुटेज र डिजिटल डिभाइस विश्लेषण गरेका थियौं । साथै उनको घर, कारोबारस्थल र गोदाम खानतलासी गरी विभिन्न प्रमाण जुटाइएको छ ।’

उनलाई पक्राउ गर्न प्रहरीले पक्राउ पूर्जीसमेत लिइसकेको जानकारी आफूलाई आएको उनले बताए । 

आपराधिक पृष्ठभूमि 
सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-४ स्थायी ठेगाना भएका पौडेलको आपराधिक गतिविधिको शुरूआत खासाको व्यापारबाट भएको थियो । 

माओवादी शान्ति प्रक्रियामा आएपछि उनी रक्तचन्दन तस्करीमा संलग्न भएको उक्त वडाका एकजना जनप्रतिनिधिले लोकान्तरलाई बताए ।

यो धन्दाबाट राम्रो आम्दानी गरेका पौडेलले खासाको व्यापार सेलाउँदै गएपछि सुन तस्करीलाई आफ्नो मुख्य पेसा बनाए । उनलाई नजिकबाट चिन्नेहरूका अनुसार सुन तस्करी उनको नियमित धन्दा बनेको थियो । 

चैत ४ गते टोखाको झोरबाट प्रहरीले नियन्त्रणमा लिएको ट्रकमा फल्स बटम बनाई लुकाइएको २५ करोड बराबरको विदेशी मुद्रा बरामद भएपछि उनको संलग्नता पुष्टि भएको हो । 

ट्रक चालक कुसाङ लामासँगको उनको फोन सम्पर्क र सीडीआर विश्लेषणले यो प्रकरणमा उनको प्रत्यक्ष हात रहेको देखाएको विभागको दाबी छ ।

यसअघि पनि पौडेल विभिन्न आपराधिक प्रकरणमा मुछिएका थिए । २०५९ मा हङकङमा करोडौं डलर तस्करी गरेको आरोपमा उनी राजस्व अनुसन्धान विभागबाट पक्राउ परेका थिए । 

ऊन आयातको नाममा नेपाल इन्भेष्टमेन्ट बैंकबाट एलसी खोल्ने, तर ऊन आयात नगरी डलर तस्करी गर्ने उनको धन्दा त्यतिबेलै पर्दाफास भएको थियो ।

सोलु र पर्साका विभिन्न व्यक्तिको नाममा कम्पनी खोलेर उनले यो गैरकानूनी कारोबार सञ्चालन गरेका थिए । पक्राउपछि जेल बसेका पौडेलले ‘अदालतलाई मिलाएर’ छुटेको भोटेकोशी गाउँपालिका-४ का ती जनप्रतिनिधिले बताए । 

उनको तस्करीको सञ्जालमा अन्य व्यापारीको ठूलो समूह पनि संलग्न रहेको स्रोतको दाबी छ । 

जुवा अखडाका मालिक 
यसबाहेक, २०८० को असार २ गते महाराजगञ्जस्थित एक घरमा जुवा अखडा चलाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । 

प्रहरी स्रोतका अनुसार प्रहरी वृत्त महाराजगञ्जले उनलाई १ लाख ९० हजार नगदसहित पक्राउ गरेको थियो । तर, त्यतिबेला उनका भाइ राजकुमार पौडेल र अन्य माओवादी नेताहरूको दबाबमा उनी छुटेका थिए ।

पौडेलका भाइ राजकुमार पौडेल २०७४ मा माओवादीबाट भोटेकोशी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए भने अर्का भाइ बच्चु पौडेल हिमालय सीमापार व्यापार संघका अध्यक्ष छन् । 

परिवारको राजनीतिक पहुँच र प्रभावका कारण पटक-पटक पक्राउ परे पनि उनी उम्किँदै आएका छन् । हाल २५ करोड विदेशी मुद्रा प्रकरणमा पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिए पनि पौडेल अहिलेसम्म फरार छन् । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्