
नेपाल बीमा प्राधिकरणको आयोजनामा बुधबार कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवं छलफल कार्यक्रम भएको छ ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा बीमाको विकास एवं विस्तारका लागि प्रदेश बीमा कानून र नीति तयार गर्ने तयार रहेको जानकारी दिँदै त्यसमा सहयोग गर्न नेपाल बीमा प्राधिकरणसँग आग्रह गरे ।
मुख्यमन्त्री शाहले महिला स्वयंसेविकाहरूको बीमा गर्दै आएको र विपद् बीमा गर्न इच्छुक भएको उल्लेख गरे । तर, बीमा दाबी भुक्तानीमा झन्झट न्यून गर्न दाबी प्रक्रियालाई सरल बनाउनुपर्ने उनको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्कीले आम नागरिकलाई बीमासँग जोड्न, अनुदानलाई थप प्रभावकारी बनाउन तथा बीमा र विपद्लाई आवद्ध गरेर अघि बढाउन पहल गर्ने प्रतिवद्धता जनाए ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमितको हित र बीमकको वित्तीय अवस्था दुवैलाई ध्यानमा राखेर प्राधिकरणले कार्य गर्ने बताए ।
अध्यक्ष ओझाले कृषि बीमा अनुदानका बारेमा पालिका र वडा संरचनाहरूमार्फत् आमरूपमा जानकारी दिएर कृषि बीमा गर्न जोड दिनुपर्ने उल्लेख गर्दै कच्ची घरको बीमा गर्नका लागि बीमालेख निर्माण गर्न प्राधिकरणले सहयोग गर्ने जानकारी दिए ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमाको परिचय, बीमा क्षेत्रको अवस्था, विद्यमान चुनौती र बीमाको पहुँच विस्तारमा प्रदेश सरकारको भूमिका सम्बन्धी प्रस्तुति गर्दै प्रदेशको आर्थिक मामिला मन्त्रालय अन्तर्गत रहने गरी बीमा सम्पर्क व्यक्ति तोक्न प्रदेश सरकारसँग आग्रह गरे ।
कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीहरूले बीमाको प्रिमियम तिर्नसक्ने अवस्था हेरेर मात्र बीमा गर्नुपर्ने, राज्यका समग्र अवयवलाई बीमासँग आवद्ध गरेर अगाडि बढ्न प्राधिकरणले आवश्यक कदम चाल्नुपर्ने, बीमा कम्पनीहरूको अनुगमनलाई अझै प्रभावकारी बनाउनुपर्ने, दाबी भुक्तानीलाई छिटोछरितो बनाउन प्राधिकरणले थप सहजीकरण गर्नुपर्ने र कृषि बीमा गर्न प्रोत्साहन गर्नुपर्ने लगायतका विचार राखे ।