१० असार २०८३, बुधबार
सफल किसानको कथा

प्याज खेती र बीजवृद्धिबाट पोखराबारीका गाहाले बदलेको परिचय

चैत २३, २०८१
काठमाडौं
प्याज खेती र बीजवृद्धिबाट पोखराबारीका गाहाले बदलेको परिचय

    रुपन्देहीको बुटवल उपमहानगरपालिका–१८ पोखराबारीमा केही वर्ष अघिसम्म परम्परागत खाद्य बाली मात्र उब्जनी गरिन्थ्यो ।

    लामो समयदेखि बीजवृद्धि गर्दै आएका गणेश गाहाले पछिल्ला वर्षमा बस्ती बाक्लिएसँगै तरकारी खेती गर्ने सुर कसे । तर, खेती गर्न उनीसँग आफ्नो जग्गा थिएन ।

    उपमहानगरको ग्रामीण क्षेत्रका रूपमा चिनिने पोखराबारीमा २२ बिघा जग्गा भाडामा लिएर उनले प्याज र लसुन खेती थाले ।

    खेती थालेको केही वर्षमा अहिले पोखराबारीको परिचय नै बदलिएको छ । त्यो क्षेत्रमा ठूलो 'भोलुम'मा प्याज र लसुन खेती गर्ने उनी एक्लो हुन् ।

    सामान्य परिवारमा जन्मिएका गाहाले व्यावसायिक तरकारी खेतीको कुरा गर्नु त्यस बेला सानो विषय थिएन । तर, विस्तारै उनले आफ्नो खेतबारी हराभरा पार्न थाले । जग्गा छैन भनेर बस्नेहरूलाई पनि अहिले उनले गतिलो उदाहरण पेश गरेका छन् । छिमेकी मुलुक भारतबाट आयात हुने प्याज र लसुनलाई रोक्दै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित उत्पादनमा जुटेको गाहाको भनाइ छ ।

    ३२ कठ्ठा जग्गामा उनले प्याज खेती गरेका छन् । गत वर्ष साढे ४ विघा क्षेत्रफलमा प्याज खेती गरेका थिए । सिँचाइ अभावले यो वर्ष क्षेत्रफल घटाएको उनको भनाइ छ । गाहाले अहिले प्याजसहित तोरी र गहुँ उत्पादन गरिरहेका छन् । अहिले उनलाई जग्गा अपुग भएको छ ।

    गणेश भन्छन्, '४० विघा जति जग्गा भए बल्ल मलाई काम पुग्छ । भनेजस्तो जग्गा पाए अझै लिन्छु ।'

    गाहालाई घरको कमजोर आर्थिक अवस्थाले पनि संघर्ष गरेर कृषिमा लाग्न हिम्मत भरिदिएको थियो । कसरी बढीभन्दा बढी उत्पादन गर्ने भनेर थप मेहनत गर्न ऊर्जा समेत मिल्यो ।

    'यो जग्गा मलाई कम भयो, पाएँ भने ४० विघा जति जग्गा लिएर खेती गर्छु,' गाहा भन्छन्, 'अहिले प्याज लहलह फैलिएको छ भने गाना समेत लाग्न थालेको छ ।'

    जग्गा भाडाको रकम कुल साढे ८ लाख रुपैयाँ तिर्ने गर्छन् । कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा खेती गर्दै आएका गाहाले सबै खर्च कटाएर हरेक वर्ष प्याज बिक्रीमा १० लाख रुपैयाँभन्दा बढी बचाउन सफल भएका छन् ।

    यो साल प्याजको क्षेत्र केही घटाए पनि उनले बेर्ना मात्रै ९० हजारभन्दा बढीको बिक्री गरिसकेको अनुभव सुनाए ।

    'खेत अलिअलि खाली परेर समस्या भएको छ, अलि उकास जग्गा भयो भने मैले ४० बिघासम्म जग्गा भाडामा लिएर काम गर्ने योजना बनाएको छु । प्याजका लागि कुनै पनि समस्या छैन । बुटवलमा नै यसको बजार छ,' उनी भन्छन् ।

    प्रतिकिलो ५० देखि ५५ रुपैयाँमा बिक्री गर्न सजिलै सकिने बताउँदै बाहिरबाट आयात गरिएको प्याजभन्दा नेपालमा नै उत्पादन भएको प्याजको स्वाद नै राम्रो हुने गरेको उनले सुनाए । एक कठ्ठामा ६ क्विन्टलभन्दा बढी प्याज फल्ने गर्छ । न्यूनतम् ५० देखि ६० रुपैयाँ प्रतिकिलोमा बिक्री गर्दा पनि राम्रो आम्दानी हुने उनको भनाइ छ ।

    तीव्र बसाइँसराइले रुपन्देहीमा खेतीयोग्य जमिनमा घरहरू भरिँदा भनेजस्तो खेतीयोग्य जग्गा पाउन समस्या रहेको उनको दुखेसो  छ । छिमेकी मुलुक भारतबाट प्याजको निर्यात बढेको तर, जिल्लामा यसको खासै व्यावसायिक खेती नभएकाले खेतीमा आफू लागेको गाहाले बताए ।

    झो रहेको जग्गालाई प्रयोग गरी खेती विस्तार गरेर व्यावसायीकरण गर्न सकेमा राम्रो आम्दानी गर्न सकिने उनको धारणा छ ।

    गाहासँग लामो समयदेखि बुटवल– १८ मोतीपुरमा रहेको सिम्रिक कृषि सहकारी संस्थाको संस्थापक उपाध्यक्षसहित २ कार्यकाल अध्यक्ष समेत भएर काम गरिसकेको अनुभव समेत छ । अहिले आफ्नै न्यु स्टार एकीकृत कृषि फर्म स्थापना गरेका छन् ।

    कृषि फर्मका लागि आवश्यक ट्र्याक्टरलगायत सामग्री खरिद गरेका छन् । बाली कटानका लागि चाहिने कम्बाइन हार्भेस्टर सहकारीले खरिद गरेर राखेको छ । सोहीबाट उनले काम चलाउँदै आएका छन् । वि.सं. २०४०/४२ सालबाट नै व्यावसायिक बीजवृद्धिको काम गर्दै आएका उनले पहिला पुर्ख्यौली जग्गा अधियाँमा गर्दै आएको भए पनि आफूले सहकारीसँगै जोडिएर अधियाँभन्दा पनि जग्गा लिजमा लिएर काम गर्न शुरू गरेको उनले बताए ।

    त्यति बेलादेखि उनले जग्गा भाडामा लिएर व्यावसायिक रूपमा गहुँ र तोरी खेती तथा बीजवृद्धिको काम गर्दै आएका थिए । वर्षमा सबै खर्च कटाएर ८ देखि ९ लाख रुपैयाँ आम्दानी हुने गरेको बताउँदै उनले अहिलेको व्यावसायिक प्याज खेतीका लागि ६२ हजार रुपैयाँ उपमहानगरपालिकाबाट अनुदान प्राप्त गरेको बताए ।

    कुल १ लाख २४ हजार रुपैयाँ लागतमा नगरपालिकाबाट ५० प्रतिशत लागत साझेदारीमा सहयोग भएको उनको भनाइ छ । गाहाले गत वर्ष ७५ क्विन्टल तोरी मात्रै उत्पादन गरेका थिए । योपटक भने तोरीसँगै गहुँ खेती पनि विस्तार गरेका छन् ।

    बीजवृद्धिका काम अगाडि बढाउने योजना समेत रहेको उनको भनाइ छ । उनी भन्छन्, 'थोरै जग्गा भएर व्यावसायीकरण गर्न अप्ठ्यारो छ, यदि जग्गा पायो भने अझै ४० बिघा जतिमा खेती गर्न सक्छु, सबै साधन–स्रोत मसँग छ, जग्गा सस्तो दरमा पाउनुपर्दछ ।'

    सरकारी निकायले जग्गा भाडामा लिने किसानहरूका लागि अनुदान उपलब्ध गराउने नीति लिए पनि उनले भाडाबापत कुनै पनि अनुदान प्राप्त गरेका छैनन् ।

    तरकारी खेतीमा अनुभवबाट उनले नयाँ सोच र योजना पनि सँगाल्न थालेका छन् । आउँदो वर्षदेखि तिलोत्तमा केही ठाउँमा चैते धान लगाउने उनको योजना छ ।

    चाँडै फल्ने बिउबाट छिट्टै राम्रो आम्दानी लिन सकिने भएपछि उनीहरू उत्साहित देखिएका छन् । व्यावसायिक खेतीलाई दीर्घकालीन बनाउन भूमि, उत्पादन लागतजस्ता विषय महत्त्वपूर्ण रहेको उनले बताए ।

     

    salt training

    कमेन्ट गर्नुहोस्