
धेरैलाई लाग्छ- आँखा देख्नेहरू मात्रै देश दुनियाँ बदल्न सक्छन् । देशलाई परिवर्तन गर्न सक्छन् । तर, यो सरासर गलत हो । र, यस्तै संकीर्ण मानसिकतालाई तोड्ने कयौं व्यक्तिहरू छन् ।
जसले आँखा देख्ने भनिएकाहरूलाई कर्मले झापड हानिरहेका छन् । संकल्प र दृढताले उदाहरणीय बनिरहेका छन् । उनीहरूले नै दृष्टिविहीनहरूलाई अध्याँरो संसारबाट उज्यालो संसारतर्फ डोर्याइरहेका छन् । यिनैमध्येकी एक हुन्, सोमना खड्का ।
२०४७ वैशाख १५ गते दैलेखको नौमुले गाउँपालिका अन्तर्गतको कट्टीमा जन्मिएकी हुन् हाल शिक्षण पेसामा छन् । पढाइमा स्नातोकत्तर गरिसकेकी छन् । तर, उनको विगत निकै कहालीलाग्दो छ ।
उनी दुई वर्षकी मात्रै थिइन्, कट्टीमा आँखा पाक्ने रोगको महामारी आयो । त्यतिबेला गाउँमा अस्पताल नै थिएनन् । गाउँमा धामीझाँक्रीको चलन थियो । यही चलन अनुसार दैनिकजसो घरमा धामी बसाल्न शुरू गरे उनका बुवाआमाले । बिडम्बना ! उपचार नहुँदा सोमनाको आँखाका ज्योति गुम्न पुगे । यो कुरा उनलाई उनी पाँच वर्षको हुने समयमा मात्रै थाहा भयो ।
‘मेरी आमाको तर्फबाट चार बहिनी मात्रै जन्मियौं । बुवाले छोराको आशमा अर्को बिहे गर्नुभयो । सानीआमाबाट भाइ जन्मियो । भाइ जन्मिएपछि बुवाले विस्तारै हामीहरूको हेरचाह गर्न छोडनुभयो’, सोमना भन्छिन्, ‘आमाले मात्रै मेरो लालनपालन गर्नुभयो । दिदीबहिनी अरुको भोजभतेरमा जाने गरेपनि म भने आँखा नदेख्ने भएका कारण घरमा एक्लै टोलाएर बस्ने गर्थें ।’
उनी अरू सबै विद्यालय जाँदा आफूपनि जान पाएको भए हुन्थ्यो भन्ठान्थिन् । एकदिन अरू बालबच्चाको आवाज पछ्याउँदै लड्दैपड्दै उनी गाउँकै विद्यालय पुगिन् । एक दिन, दुई दिन गर्दै महिना दिन स्कूल गएपछि उनलाई सरले एउटा किताब दिए । आँखा नै नदेख्ने उनका लागि त्यो किताबको के अर्थ ? तर, उनले पढ्ने रहरलाई मर्न दिइनन् ।
‘केही नहुनेको दैव हुन्छ भनेर भन्छन नि, त्यो मेरो जीवनमा मेल खान्छ’, सोमना भन्छिन्, ‘सुर्खेतको रामाघाटमा मेरो फुपूकी छोरी बस्छिन् । उनलै त्यहाँ दृष्टिविहीनहरूलाई पढाउने विद्यालय छ भनेर भनिन् । मैले आमालाई कर गर्न थालें । मलाई जसरी पनि त्यहाँ पुर्याइदिन भनेर जिद्दीसमेत गरेँ । त्यतिबेला म सात वर्षकी थिएँ ।’
उनले रामघाटमा ६ महिना मात्रै पढ्न पाइन् । त्यहाँको स्रोत कक्षा नै बन्द भयो । त्यसपछि उनी गाउँमै फर्किन बाध्य भइन् । उनको गाउँमा हजुरबुवा नाता पर्ने एक जना शिक्षकले ब्रेललिपी अक्षर चिन्न सक्ने सामान्य तालिम लिएका थिए । उनै शिक्षकले सोमनालाई आफूले पढाउने विद्यालयमा भर्ना गर्न लगाए । त्यहाँ एक कक्षामा भर्ना भइन् । दैलेखमा उनले चार कक्षासम्म पढिन् ।
त्यसपछि रामघाटमा दृष्टिविहीनहरूका लागि फेरि विद्यालय सञ्चालनमा आयो । रामघाटको शिखर माविमा उनी कक्षा ५ मा भर्ना भइन् । ‘अरु अपाङ्गता भएका विद्यार्थी भन्दा म अब्बल थिएँ । त्यसको मूल्यांकन गर्दै शिक्षकहरूले मलाई छात्रवृत्तिमा छनोट गरेर नेपालगञ्जको मंगल माध्यमिक विद्यालयमा सिफारिस गरिदिनुभयो’, सोमनाले भनिन् ।
तर, नेपालगञ्जस्थित मंगलप्रसाद माध्यमिक विद्यालयको होस्टलले उनलाई राख्न मानेन । होस्टल सुविधासहित विद्यालयमा भर्ना नपाउने भएपछि उनी जिल्ला शिक्षा अधिकारीकहाँ पुगिन् । जिल्ला शिक्षा अधिकारीले अर्को विद्यालयमा फेरि पाँच कक्षामै भर्ना गर्न सकिने बताए ।
‘मलाई कक्षा ६ मा त्यो पनि आफूले भनेकै विद्यालयमा पढ्न नदिए कार्यालयकै ढोकामा मरिदिन्छु भनेर भनेँ । शिक्षा कार्यालयको दबाबमा मंगलप्रसाद माध्यमिक विद्यालयमा भर्ना भएँ । होस्टल बस्न थालेपछि ममाथि विभिन्न किसिमका हिंसा भए’, उनी भन्छिन्, ‘को व्यक्ति होस्टलमा आयो/गयो, मलाई थाहा हुँदैनथ्यो । मलाई लाग्थ्यो, मानिसहरू बोल्दा किन हामीलाई छोएर बोल्छन् ? के छेऊमै आउनुपर्छ र ? के अंगालो नै हाल्नुपर्छ ? होस्टलका इन्चार्ज र कर्मचारीहरू हाम्रा गाला चिमोट्ने, संवेदनशील अंगमा छुने जस्ता हर्कत गर्थे ।’
उनले त्यसको प्रतिवाद गर्न थालिन् । उनले प्रतिवाद गर्दा पढ्न मन छ कि छैन भन्दै धम्क्याउँथे । ‘बोल्यो भने निकालिदिन्छौं भन्थे । मानसिक यातना दिन्थे । तर, म चुप लागिनँ । हिंसाको खुलेर विरोध गरेँ । पत्रकार सम्मेलन गर्ने चेतावनी दिएँ । त्यसपछि त मलाई त्यहाँ बस्ने वातावरण नै भएन’, सोमनाले भनिन् ।
अनेक लाञ्छना लगाएर उनलाई होस्टलबाट निकालियो । त्यसपछि कहिले साथीकोमा त कहिले चिनजानका आफन्तकहाँ बसेर पढ्न थालिन् । ‘नेपालगञ्ज बसेर पढ्दा मैले धेरै दुःख पाएँ । झन्डै दुई वर्ष त एक छाक मात्रै खाएँ । भोक बिर्सिसकेकी थिएँ’, उनी स्मरण गर्छिन् ती दिन ।
२०६४ सालमा एसएलसी उत्तीर्ण गरेकी सोमनाले सुर्खेत फर्किने निर्णय गरिन् । वीरेन्द्रनगरस्थित सुर्खेत क्याम्पसबाट शिक्षा संकायमा प्लस टु पास गरिन् । तर, त्यहाँ पनि उनका दुःख सकिएनन् । यही बीचमा उनको विवाह भइसकेको थियो । श्रीमान् कमाउन भारत गएका गए । उनी एक छोरीसहित कोठामा बस्थिन् । आँखा नदेखेकै कारण घरबेटीले कोठाबाट निकालिदिए। ‘डेढ वर्षकी नानी लिएर सडकमा आउनुपर्दा मेरो के अवस्था भयो होला ?’, उनी भन्छिन् ।
श्रीमानको साथले पढाइलाई निरन्तरता
‘मलाई मेरो श्रीमानले शुरूबाटै पढ्ने हौसला दिनुभयो । मैले पढाइलाई निरन्तरता दिएँ । शिक्षा क्याम्पसबाटै स्नातक र स्नातकोत्तर पनि गरेँ । यही बीचमा भेरीगंगास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा प्रावि तहको दृष्टिविहीन शिक्षक दरबन्दी रहेको थाहा पाँए’, उनले भनिन्, ‘त्यहाँको दरबन्दीमा अपाङ्गता नभएका व्यक्तिलाई जागिर खुवाइएको थियो । त्यसको विरोध गरेर मैले जागिर खाएँ ।’
अहिले बाँकेको बैजनाथ गाउँपालिकामा उनको घर छ । सोमना राहत दरबन्दीमा शिक्षक छिन् भने श्रीमान् रमेश राना नेपाल आयल निगममा जागिरे छन् ।
नेपालगञ्जको मंगलप्रसाद माविमा पढ्दा दृष्टिविहीन बाल क्लबको उपाध्यक्ष रहेकी सोमना सुर्खेतमा आएपछि भने नेत्रहीन संघ सुर्खेतको सदस्य भइन् । सोही संस्थामार्फत् विस्तारै उनी सार्वजनिक कार्यक्रममा जान थालिन् । अरूका कुरा सुनिन् । दृष्टिविहीनका समस्या अरूलाई सुनाउन थालिन् ।
उनी सुर्खेत नेत्रहीन संघको सचिव हुँदै हाल नेत्रहीन संघ कर्णाली प्रदेशको सचिव छिन् । शिक्षण पेसाका अलावा सोमनाले १३ वर्ष जति आफूजस्तै बालिकाका लागि परामर्शदाता भएर काम गरिन् । विभिन्न संस्थासँग जोडिएर हिंसा र प्रतिकारका बारेमा परामर्श दिएको उनी बताउँछिन् ।
हिजो दैलेख, रामघाट, नेपालगञ्ज र सुर्खेत बसेर गरेका संघर्ष र दुःख दिन बिर्सिन नसकिने छन् । उनी धेरै पटक रोइन् । तर, हिजो दबाउन खोज्नेहरू आज उनलाई घरमा खाना खान बोलाउँछन् । पहिले जसले कुरा काट्थे, अहिले उनीहरू नै ‘तेरो छोरीले नाम कमाएकी छ’ भनेर आमालाई सुनाउँछन् ।
उनL जीवनमा निराश हुन नहुने बताउँछिन । ‘जीवनदेखि निराश भएर बाँच्न मन नलाग्नेहरूले मेरो जीवन भोगाई हेरून् । भोगाइले नै जीवनलाई परिपक्व बनाउँछ । हरेकको जीवनमा संघर्ष छ’, उनी भन्छिन, ‘मसँग त यत्रो आँट छ भने आँखा देख्नेहरूले चाहे नसक्ने के छ र ? शारीरिक भन्दा मनको कमजोर मान्छेले जीवनको यात्रा छोट्याउने हो ।’
आफूले भोगेकोजस्तै अरुले हिंसा नभोगून् भन्ने उनको चाहना छ । त्यसैले उनले २०७२ सालमा शिखर मावि रामघाटको छात्रावासबाट बालिकालाई अलग गरेर छुट्टै राख्न पहल गरिन् । उनकै खबरदारीपछि नेपालगञ्जको मंगल माविमा पनि छात्र र छात्राका लागि अलग्गै छात्रावास छ ।