३० जेठ २०८३, शनिबार
आत्मविश्वासले भरिएकी सोमना

आँखा पाक्ने महामारीले ज्योति गुमाएकी सोमना, अरुको जीवनमा छर्दैछिन् उज्यालो

चैत २३, २०८१
सुर्खेत
आँखा पाक्ने महामारीले ज्योति गुमाएकी सोमना, अरुको जीवनमा छर्दैछिन् उज्यालो

धेरैलाई लाग्छ- आँखा देख्नेहरू मात्रै देश दुनियाँ बदल्न सक्छन् । देशलाई परिवर्तन गर्न सक्छन् । तर, यो सरासर गलत हो  । र, यस्तै संकीर्ण मानसिकतालाई तोड्ने कयौं व्यक्तिहरू छन् । 

जसले आँखा देख्ने भनिएकाहरूलाई कर्मले झापड हानिरहेका छन् । संकल्प र दृढताले उदाहरणीय बनिरहेका छन् । उनीहरूले नै दृष्टिविहीनहरूलाई अध्याँरो संसारबाट उज्यालो संसारतर्फ डोर्‍याइरहेका छन् । यिनैमध्येकी एक हुन्, सोमना खड्का ।

२०४७ वैशाख १५ गते दैलेखको नौमुले गाउँपालिका अन्तर्गतको कट्टीमा जन्मिएकी हुन् हाल शिक्षण पेसामा छन् । पढाइमा स्नातोकत्तर गरिसकेकी छन् । तर, उनको विगत निकै कहालीलाग्दो छ ।

उनी दुई वर्षकी मात्रै थिइन्, कट्टीमा आँखा पाक्ने रोगको महामारी आयो । त्यतिबेला गाउँमा अस्पताल नै थिएनन् । गाउँमा धामीझाँक्रीको चलन थियो । यही चलन अनुसार दैनिकजसो घरमा धामी बसाल्न शुरू गरे उनका बुवाआमाले । बिडम्बना ! उपचार नहुँदा सोमनाको आँखाका ज्योति गुम्न पुगे । यो कुरा उनलाई उनी पाँच वर्षको हुने समयमा मात्रै थाहा भयो ।

‘मेरी आमाको तर्फबाट चार बहिनी मात्रै जन्मियौं । बुवाले छोराको आशमा अर्को बिहे गर्नुभयो । सानीआमाबाट भाइ जन्मियो । भाइ जन्मिएपछि बुवाले विस्तारै हामीहरूको हेरचाह गर्न छोडनुभयो’, सोमना भन्छिन्, ‘आमाले मात्रै मेरो लालनपालन गर्नुभयो । दिदीबहिनी अरुको भोजभतेरमा जाने गरेपनि म भने आँखा नदेख्ने भएका कारण घरमा एक्लै टोलाएर बस्ने गर्थें ।’

उनी अरू सबै विद्यालय जाँदा आफूपनि जान पाएको भए हुन्थ्यो भन्ठान्थिन् । एकदिन अरू बालबच्चाको आवाज पछ्याउँदै लड्दैपड्दै उनी गाउँकै विद्यालय पुगिन् । एक दिन, दुई दिन गर्दै महिना दिन स्कूल गएपछि उनलाई सरले एउटा किताब दिए । आँखा नै नदेख्ने उनका लागि त्यो किताबको के अर्थ ? तर, उनले पढ्ने रहरलाई मर्न दिइनन् । 

‘केही नहुनेको दैव हुन्छ भनेर भन्छन नि, त्यो मेरो जीवनमा मेल खान्छ’, सोमना भन्छिन्, ‘सुर्खेतको रामाघाटमा मेरो फुपूकी छोरी बस्छिन् । उनलै त्यहाँ दृष्टिविहीनहरूलाई पढाउने विद्यालय छ भनेर भनिन् । मैले आमालाई कर गर्न थालें । मलाई जसरी पनि त्यहाँ पुर्‍याइदिन भनेर जिद्दीसमेत गरेँ । त्यतिबेला म सात वर्षकी थिएँ ।’

उनले रामघाटमा ६ महिना मात्रै पढ्न पाइन् । त्यहाँको स्रोत कक्षा नै बन्द भयो । त्यसपछि उनी गाउँमै फर्किन बाध्य भइन् । उनको गाउँमा हजुरबुवा नाता पर्ने एक जना शिक्षकले ब्रेललिपी अक्षर चिन्न सक्ने सामान्य तालिम लिएका थिए । उनै शिक्षकले सोमनालाई आफूले पढाउने विद्यालयमा भर्ना गर्न लगाए । त्यहाँ एक कक्षामा भर्ना भइन् । दैलेखमा उनले चार कक्षासम्म पढिन् । 

त्यसपछि रामघाटमा दृष्टिविहीनहरूका लागि फेरि विद्यालय सञ्चालनमा आयो । रामघाटको शिखर माविमा उनी कक्षा ५ मा भर्ना भइन् । ‘अरु अपाङ्गता भएका विद्यार्थी भन्दा म अब्बल थिएँ । त्यसको मूल्यांकन गर्दै शिक्षकहरूले मलाई छात्रवृत्तिमा छनोट गरेर नेपालगञ्जको मंगल माध्यमिक विद्यालयमा सिफारिस गरिदिनुभयो’, सोमनाले भनिन् । 

तर, नेपालगञ्जस्थित मंगलप्रसाद माध्यमिक विद्यालयको होस्टलले उनलाई राख्न मानेन । होस्टल सुविधासहित विद्यालयमा भर्ना नपाउने भएपछि उनी जिल्ला शिक्षा अधिकारीकहाँ पुगिन् । जिल्ला शिक्षा अधिकारीले अर्को विद्यालयमा फेरि पाँच कक्षामै भर्ना गर्न सकिने बताए । 

‘मलाई कक्षा ६ मा त्यो पनि आफूले भनेकै विद्यालयमा पढ्न नदिए कार्यालयकै ढोकामा मरिदिन्छु भनेर भनेँ । शिक्षा कार्यालयको दबाबमा मंगलप्रसाद माध्यमिक विद्यालयमा भर्ना भएँ । होस्टल बस्न थालेपछि ममाथि विभिन्न किसिमका हिंसा भए’, उनी भन्छिन्, ‘को व्यक्ति होस्टलमा आयो/गयो, मलाई थाहा हुँदैनथ्यो । मलाई लाग्थ्यो, मानिसहरू बोल्दा किन हामीलाई छोएर बोल्छन् ? के छेऊमै आउनुपर्छ र ? के अंगालो नै हाल्नुपर्छ ? होस्टलका इन्चार्ज र कर्मचारीहरू हाम्रा गाला चिमोट्ने, संवेदनशील अंगमा छुने जस्ता हर्कत गर्थे ।’ 

उनले त्यसको प्रतिवाद गर्न थालिन् । उनले प्रतिवाद गर्दा पढ्न मन छ कि छैन भन्दै धम्क्याउँथे । ‘बोल्यो भने निकालिदिन्छौं भन्थे । मानसिक यातना दिन्थे । तर, म चुप लागिनँ । हिंसाको खुलेर विरोध गरेँ । पत्रकार सम्मेलन गर्ने चेतावनी दिएँ । त्यसपछि त मलाई त्यहाँ बस्ने वातावरण नै भएन’, सोमनाले भनिन् । 

अनेक लाञ्छना लगाएर उनलाई होस्टलबाट निकालियो । त्यसपछि कहिले साथीकोमा त कहिले चिनजानका आफन्तकहाँ बसेर पढ्न थालिन् । ‘नेपालगञ्ज बसेर पढ्दा मैले धेरै दुःख पाएँ । झन्डै दुई वर्ष त एक छाक मात्रै खाएँ । भोक बिर्सिसकेकी थिएँ’, उनी स्मरण गर्छिन् ती दिन । 

२०६४ सालमा एसएलसी उत्तीर्ण गरेकी सोमनाले सुर्खेत फर्किने निर्णय गरिन् । वीरेन्द्रनगरस्थित सुर्खेत क्याम्पसबाट शिक्षा संकायमा प्लस टु पास गरिन् । तर, त्यहाँ पनि उनका दुःख सकिएनन् । यही बीचमा उनको विवाह भइसकेको थियो । श्रीमान् कमाउन भारत गएका गए । उनी एक छोरीसहित कोठामा बस्थिन् । आँखा नदेखेकै कारण घरबेटीले कोठाबाट निकालिदिए। ‘डेढ वर्षकी नानी लिएर सडकमा आउनुपर्दा मेरो के अवस्था भयो होला ?’, उनी भन्छिन् । 

श्रीमानको साथले पढाइलाई निरन्तरता
‘मलाई मेरो श्रीमानले शुरूबाटै पढ्ने हौसला दिनुभयो । मैले पढाइलाई निरन्तरता दिएँ । शिक्षा क्याम्पसबाटै स्नातक र स्नातकोत्तर पनि गरेँ । यही बीचमा भेरीगंगास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा प्रावि तहको दृष्टिविहीन शिक्षक दरबन्दी रहेको थाहा पाँए’, उनले भनिन्, ‘त्यहाँको दरबन्दीमा अपाङ्गता नभएका व्यक्तिलाई जागिर खुवाइएको थियो । त्यसको विरोध गरेर मैले जागिर खाएँ ।’

अहिले बाँकेको बैजनाथ गाउँपालिकामा उनको घर छ । सोमना राहत दरबन्दीमा शिक्षक छिन् भने श्रीमान् रमेश राना नेपाल आयल निगममा जागिरे छन् ।

नेपालगञ्जको मंगलप्रसाद माविमा पढ्दा दृष्टिविहीन बाल क्लबको उपाध्यक्ष रहेकी सोमना सुर्खेतमा आएपछि भने नेत्रहीन संघ सुर्खेतको सदस्य भइन् । सोही संस्थामार्फत् विस्तारै उनी सार्वजनिक कार्यक्रममा जान थालिन् । अरूका कुरा सुनिन् । दृष्टिविहीनका समस्या अरूलाई सुनाउन थालिन् ।

उनी सुर्खेत नेत्रहीन संघको सचिव हुँदै हाल नेत्रहीन संघ कर्णाली प्रदेशको सचिव छिन् । शिक्षण पेसाका अलावा सोमनाले १३ वर्ष जति आफूजस्तै बालिकाका लागि परामर्शदाता भएर काम गरिन् । विभिन्न संस्थासँग जोडिएर हिंसा र प्रतिकारका बारेमा परामर्श दिएको उनी बताउँछिन् ।

हिजो दैलेख, रामघाट, नेपालगञ्ज र सुर्खेत बसेर गरेका संघर्ष र दुःख दिन बिर्सिन नसकिने छन् । उनी धेरै पटक रोइन् । तर, हिजो दबाउन खोज्नेहरू आज उनलाई घरमा खाना खान बोलाउँछन् । पहिले जसले कुरा काट्थे, अहिले उनीहरू नै ‘तेरो छोरीले नाम कमाएकी छ’ भनेर आमालाई सुनाउँछन् । 

उनL जीवनमा निराश हुन नहुने बताउँछिन । ‘जीवनदेखि निराश भएर बाँच्न मन नलाग्नेहरूले मेरो जीवन भोगाई हेरून् । भोगाइले नै जीवनलाई परिपक्व बनाउँछ । हरेकको जीवनमा संघर्ष छ’, उनी भन्छिन, ‘मसँग त यत्रो आँट छ भने आँखा देख्नेहरूले चाहे नसक्ने के छ र ? शारीरिक भन्दा मनको कमजोर मान्छेले जीवनको यात्रा छोट्याउने हो ।’

आफूले भोगेकोजस्तै अरुले हिंसा नभोगून् भन्ने उनको चाहना छ । त्यसैले उनले २०७२ सालमा शिखर मावि रामघाटको छात्रावासबाट बालिकालाई अलग गरेर छुट्टै राख्न पहल गरिन् । उनकै खबरदारीपछि नेपालगञ्जको मंगल माविमा पनि छात्र र छात्राका लागि अलग्गै छात्रावास छ ।

salt training

कमेन्ट गर्नुहोस्