
‘इन्डियन आइडल सिजन १५’को उपाधि मानसी घोषले जितेकी छन् ।
आइतबार राति सम्पन्न भएको ग्रान्ड फिनालेमा अन्तिम प्रस्तुति दिएका प्रतिस्पर्धीहरूमध्ये मानसी विजेता घोषित भइन् । उनको जीतको घोषणा इन्डियन आइडलको आधिकारिक सामाजिक सञ्जालमार्फत् पनि गरिएको थियो ।
इन्डियन आइडलले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत् मानसी घोषलाई बधाई दिँदै लेखेको छ, ‘इन्डियन आइडल सिजन १५ जितेकोमा मानसी घोषलाई धेरै-धेरै बधाई! कस्तो आवाज, कस्तो यात्रा! तपाईंले हरेक प्रस्तुति अविस्मरणीय बनाउनुभयो ।’
सुभोजित र स्नेहा शंकरलाई पछि पारिन्
मानसी घोषले आफ्नो भावनात्मक र दमदार गायनका कारण सह-फाइनलिस्ट सुभोजित चक्रवर्ती र स्नेहा शंकरलाई पछि पारिन्।
उनको निरन्तर उत्कृष्ट प्रदर्शन र दर्शकहरूसँगको जोडले उनलाई शीर्ष स्थानसम्म पुर्यायो। उपाधिसँगै उनले चम्किलो नयाँ कार पनि जितेकी छन्।
‘इन्डियन आइडल सिजन १५’को यात्रा
‘इन्डियन आइडल सिजन १५’ सन् २०२४ को अक्टोबरमा शुरू भएको थियो र पाँच महिना चलेको थियो। यस अवधिमा थुप्रै प्रतिस्पर्धीले आफ्नो गायनको जादू देखाए।
अन्ततः तीन जना प्रतियोगी फिनालेसम्म पुगेका थिए। उत्कृष्ट प्रस्तुतिका आधारमा मानसी घोषले उपाधि जितिन्।
मानसी घोषको जितपछि सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूको प्रतिक्रिया दिन थालेका छन्।
एक प्रयोगकर्ताले लेखेका छन्, ‘मानसी घोष अत्यन्तै उत्कृष्ट गायिका हुन्, उनी साँच्चिकै भारतीय रकस्टार हुन्। उनले सुखविन्दर जस्तो लिभिङ लिजेन्डको गीत आफ्नै शैलीमा गाएर उनलाई साथ गाउन बाध्य बनाइन्। वाह, उनी नै सच्ची विजेता हुन्।’
अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘मानसी घोष र शुभोजित चक्रवर्ती-दुई बंगाली, विजेता र पहिलो रनर अप। बधाई छ !’