२८ जेठ २०८३, बिहीबार
संयमता अपनाउँदै प्रधानमन्त्री

फेरिएका ओली– नरम बोली !

चैत २७, २०८१
काठमाडौं
फेरिएका ओली– नरम बोली !

राष्ट्रिय राजनीतिमा आक्रामक अभिव्यक्ति दिने नेताको छवि बनाएका प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बोलीमा पछिल्लो समय अप्रत्याशित लगाम लागेको छ । 

सार्वजनिक मञ्चदेखि सदनसम्म अरूप्रति निर्मम बन्दै आएका ओली पछिल्ला दिनहरूमा संयम देखिन थालेका छन् । विपक्षीदेखि विरोधीसम्मलाई कटाक्ष गर्ने उनको नियमितजस्तो स्वभाव हो । तर, नेपाली कांग्रेससँग आलोपालो सत्ता समीकरण गरेको केही समययता ओलीको स्वभाव पूरै फेरिएको छ । 

आन्तरिक राजनीतिमा संयम हुनेदेखि भूराजनीतिक विषयमा पनि तौलिएर बोल्ने शैली ओलीले विकास गरेका छन् । ओलीले पछिल्लो समय नेताहरूको कुरा पनि सुन्ने गरेका छन् । पूर्व राष्ट्रपति विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने चर्चा र तयारीबारे ओलीले कुनै आक्रामक अभिव्यक्ति नदिएको दाबी नेताहरू गर्छन् । 

बोलीमात्रै होइन, ओलीले कार्यशैलीमा समेत सुधार ल्याएका छन् । ओली सधैँ कटाक्ष गर्ने नेकपा एकीकृत समाजवादीको कार्यालय अवलोकनमा पुगे । धरानका मेयर हर्क साम्पाङलाई सोमबार भेटे । 

एमाले नेता विष्णु रिजालले ओलीलाई परिस्थितिअनुसार प्रस्तुत हुने नेताको रूपमा चित्रित गरे ।

‘प्रधानमन्त्री एवं हाम्रो अध्यक्ष समय–परिस्थिति हेरेर, बुझेर अभिव्यक्ति प्रकट गर्नुहुन्छ । उहाँ सहमति हुने स्थितिमा सोहीअनुसार प्रस्तुत हुनुहुन्छ । सहमति गरेर जान सकिन्छ भने अडान लिएर बसिरहनुहुन्न । हुँदै नहुने कुरामा कम्प्राइज नगर्ने उहाँको शैली कसैलाई कडा र सनक लाग्न सक्छ,’ रिजालले लोकान्तरसँग भने, ‘समग्रमा उहाँ नरम वा कडा भएको होइन, परिस्थितिजन्य अभिव्यक्ति दिने उहाँको स्वभाव हो । कसैले निहुँ खोज्ने र अभिनय गर्ने काम गरे मुखभरिको जवाफ दिनुहुन्छ । यस्तोमा कतिपयलाई चर्को बोलेको लाग्न सक्छ । परिस्थितिलाई सहज तरिकाले लिनुहुन्छ । उहाँमा कम्युनिस्टले भन्ने गरेजस्तो विचारमा दृढता र काम गराइमा निरन्तरताको स्वभाव छ ।’

गणतन्त्रमाथि आक्रामण गर्न खोजिएपछि राजनीतिबाट माथि उठ्नुपर्छ भन्ने सन्देश ओलीले दिएको रिजाल बताउँछन् । ‘पछिल्लो समय गणतन्त्रमाथि नै आक्रमण गर्न खोजिएपछि उहाँले सबैसँग कुरा गर्नुभयो । सबैलाई बोलाएर परिवर्तनको पक्षमा एकजुट हुन आह्वान गर्नुभयो । यस क्रममा विपक्षमा भए पनि समाजवादी मोर्चाले गरेको खबरदारीको प्रशंसामा शब्द खर्चिनुभयो,’ रिजालले भने, ‘समाजवादीको कार्यालयमा गएर निरीक्षण गर्नुभयो । आमरूपमा प्रणाली र संविधानको पक्षमा प्रधानमन्त्रीको अविछिन्न लगाम र सम्मान छ । यसैले गणतान्त्रिक र लोकतान्त्रिक शक्तिसँग उहाँ हातेमालोको स्थितिमा हुनुहुन्छ । परिस्थितिअनुसार पार्टीसँग सहकार्य गर्ने उहाँको नीति छ ।’

राजावादी सक्रिय हुनेबित्तिकै प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गर्न र सर्वदलीय बैठक आह्वानका लागि समेत ओलीले ढिलाइ गरेनन् । राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले गठबन्धन र आन्तरिक बाध्यताले प्रधानमन्त्री ओलीको कार्यशैलीमा केही सुधार आएको बताउँछन् । 

राजावादी सक्रिय हुनेबित्तिकै प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गर्न र सर्वदलीय बैठक आह्वानका लागि समेत ओलीले ढिलाइ गरेनन् । राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले गठबन्धन र आन्तरिक बाध्यताले प्रधानमन्त्री ओलीको कार्यशैलीमा केही सुधार आएको बताउँछन् । 

‘केही हदसम्म उहाँले कार्यशैलीमा सुधार गर्न खोजेको देखिन्छ । विगतमा कटु प्रहार र व्यंग्य गर्ने स्वभावबाट उहाँ केही माथि उठ्नुभएको छ । राजनीतिकरूपमा एक्लिँदै गएको स्थिति, गठबन्धनको बाध्यता, पार्टी विभाजनपछिको कमजोरीले उहाँलाई कार्यशैली परिवर्तन गर्नुपर्ने स्थितिमा पुर्‍याएको देखिन्छ । कांग्रेससँग सरकार बनाएपछि अभिव्यक्तिमा संयम हुन खोज्नुभएको हो । यो राजनीतिक बाध्यता, कार्यशैलीमा आएको सुधार र पार्टीको साइजले निर्धारण गरेको भूमिका पनि हो ।’

२०७९ को चुनावपछि माओवादीलाई समर्थन गरे पनि ओलीले कांग्रेससँग विश्वस्त हुनुपरेको वाग्ले बताउँछन्  । ‘चुनावपछि कार्यशैली परिवर्तन गरेर पहिले माओवादीलाई समर्थन गर्नुभयो । तर, त्यो सरकारबाट विश्वस्त हुन सक्नुभएन र कांग्रेससँग सरकार बनाउने निर्णयमा पुग्नुपर्‍यो,’ वाग्ले भन्छन्, ‘पछिल्लो समय समाजवादी मोर्चा, नेकपा एकीकृत समाजवादसहितका गणतन्त्रवादी पार्टी र नेतासँग सापेक्षिक रूपमा ओली सकारात्मक बन्नुभएको देखिन्छ । यो तात्कालिक राजनीतिक वा रणनीतिक के हो, समयले पुष्टि गर्छ ।’ 

व्यवस्थाविरोधी शक्ति हावी हुन थालेपछि बोलीदेखि कार्यशैलीसम्मै परिवर्तन गर्न ओलीलाई बाध्यता परेको उनी बताउँछन् । कांग्रेसलाई चिढ्याउँदा सत्ता समीकरण नै तलमाथि हुनसक्ने बोध समेत ओलीलाई छ । यसैले उनले कांग्रेस सभापतिलाई चिढ्याउने नीति लिएका छैनन् । नियुक्तिदेखि महत्त्वपूर्ण निर्णयमा देउवासँग संवाद गरी सहमति गर्ने र सन्तुलन मिलाएर अगाडि बढ्ने कार्यशैली ओलीले अख्तियार गरेका छन् । 

मधेश प्रदेशभामा प्रधानमन्त्री ओली

एमालेमा पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय गराउन केही नेता लागेका छन् । तर, ओलीले विवाद नगरी यो विषयलाई सहजै ट्याकल गर्न खोजेको एक नेताले जानकारी दिए । 

‘एमालेमा खेल्न माओवादीले समेत उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टी राजनीतिमा ल्याएरै छाड्यो । यसबाट एमाले अध्यक्ष थप दबाबमा आउनुहुन्छ भन्नेमा उनीहरू छन्,’ ती नेताले भने, ‘तर, अध्यक्षले आफूहरूले चाहेको दिन भण्डारीलाई पार्टी राजनीतिमा ल्याउने भन्दै आउनुभएको छ । उहाँले पार्टीभित्रै खेल्ने गरी नआउन चुनौती दिएपछि भण्डारी पनि खुल्नुभएको छैन ।’ 

पार्टीले आदर्श मान्ने मदन भण्डारीकी पत्नी समेत रहेकी विद्यालाई नचिढ्याउन ओलीलाई निकटस्थले सुझाव दिने गरेको नेताहरू बताउँछन् । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह सरकारसँग टसलमा छन् । यही बीचमा ओलीले धरानका मेयर हर्क साम्पाङसँग भेट गरेका छन् । यसअघि खानेपानीको माग गर्दै रित्तो गाग्री बोकेर काठमाडौं आउँदा ओलीले साम्पाङलाई भेट दिएका थिएनन् । ओलीले साम्पाङलाई भेटेपछि निषेध नभई सहकार्यको बाटो भन्दै सामाजिक सञ्जालमा बालेनलाई व्यंग्य गरिएको छ । 

चुच्चे नक्सा जारी गरेयता लामो समय ओली भारतविरुद्ध आक्रामक देखिँदै आएका थिए । तर, पछिल्लोपटक प्रधानमन्त्री भएयता ओली भारतप्रति नरम छन् । थाइल्यान्डमा समकक्षी नरेन्द्र मोदीलाई भेटेर आएपछि ओलीको अभिव्यक्तिमा झन् संयमता भेटिन थालेको छ ।

चुच्चे नक्सा जारी गरेयता लामो समय ओली भारतविरुद्ध आक्रामक देखिँदै आएका थिए । तर, पछिल्लोपटक प्रधानमन्त्री भएयता ओली भारतप्रति नरम छन् । थाइल्यान्डमा समकक्षी नरेन्द्र मोदीलाई भेटेर आएपछि ओलीको अभिव्यक्तिमा झन् संयमता भेटिन थालेको छ ।

कुनै समय ओलीले भगवान राम नेपालमा जन्मिएको र वास्तविक अयोध्या चितवनमा रहेकोसम्म बताएका थिए । तर, भारतले अलि बढी नै ‘रियाक्ट’ नगर्दै ओलीले आफूलाई सच्याएका थिए । पछिल्लोपटक भारतले भ्रमणमा नबोलाए पनि ओलीले कुनै कटाक्ष गरेका छैनन् । बरु छिमेकीसँग सन्तुलित सम्बन्ध नै आफ्नो कूटनीति रहेको प्रस्ट्याए । 

‘कहिले–कहिले केही सानातिना कुरा उठेको हुन्छ, त्यसको अर्थ सम्बन्ध बिग्रियो भन्ने होइन । थप छलफलको आवश्यकता हुन्छ, कहिले–कहिले । दुई छिमेकीसँग सम्बन्ध अत्यन्त राम्रो छ,’ ओलीले मधेश प्रदेश सभामा मंगलबार सम्बोधन गर्दै भने, ‘यस मित्रतालाई कसैले बिगार्न सक्दैन । खुला सिमानाका नाममा हुने बेठीक गतिविधि दुवैतर्फबाट रोक्नुपर्छ, खुला सिमानाको दुरुपयोग हुन दिनुहुँदैन, यसमा सतर्क रहनुपर्छ ।’

ओलीले दुवै छिमेकीसँग सम्बन्ध नबिग्रिएको दाबी पनि गरे । 

‘हाम्रा दुईवटा छिमेकी छन् । उनीहरूसँग सुमधुर सम्बन्ध छ । हल्ला गरिरहन्छन्, सम्बन्ध बिग्रियो भनेर’ ओलीले भने, ‘कहाँ बिग्रियो सम्बन्ध ?’

भारतले तत्काल भ्रमणमा नबोलाए पनि ओलीले चिढ्याएर बोल्न नचाहेको देखिन्छ ।

ओलीले प्रतिगमनको ढोका खोल्ने गरी संविधान संशोधन नहुने बताए । तर, जनताका अधिकारलाई अझै बलियो बनाउन प्रमुख दलबीच सहमति गरेरै संविधान संशोधन गरिने उनको भनाइ छ ।

चैत १५ गते राजावादी समूहको हिंसात्मक आन्दोलन छानबिनका लागि न्यायिक समितिको माग भइरहेको छ । प्रधानमन्त्री ओलीले तीनकुने घटनाको छानबिन हुने र आवश्यक परे न्यायिक समितिबारे पनि पुनर्विचार गर्न सकिने भनेर लचकता देखाएका छन् । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएकोबारे पनि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संसद्मा प्रधानमन्त्रीको जवाफ माग गरेको थियो ।

कुनै मुद्दामा महिनौंसम्म अडानमा बस्ने ओलीको स्वभाव थियो । तर, प्रतिपक्षीको मागलाई ओलीले सहजै मानिदिए । चैत १८ गते संसद्मा कुलमानको विषय अदालती प्रक्रियामा गएको भन्दै यसमा अनावश्यक टिप्पणी नगर्ने भन्दै सन्तुलित जवाफ दिएका थिए ।

ओलीले यो विषयमा धेरै ‘रियाक्ट’ नगरेपछि विपक्षीले समेत यो विषयलाई धेरै उचाल्न पाएका छैनन् । बरु यही मौकामा ओलीले शान्ति प्रक्रिया टुंग्याउने विषयमा माओवादीसँग सार्थक वार्ता गरेका छन् । 

राजनीतिक विश्लेषक वाग्ले अपेक्षाकृत संयमता देखाए पनि ओली पहिलेकै धङधङीबाट उठ्न अझै धेरै काम गर्न बाँकी रहेको बताउँछन् । 

‘कार्यनीतिक लचकता र रणनीतिक दृढता भनेजस्तै सार्वजनिक अभिव्यक्ति र कार्यशैलीमा विगतमा भन्दा अपेक्षाकृत संयमित र सुधारोन्मुख देखिएपनि राज्य सञ्चालन र सरकारका निर्णय प्रक्रियामा उनको अडान र दृढता कायमै देखिन्छ,’ वाग्लेले भने, ‘त्यसैले बहुचर्चित कम्युनिस्ट शब्दावली सापट लिएर विश्लेषण गर्दा रूपमा फरक देखिए पनि सारमा उही पहिले कै केपी ओली नै हुन् ।’

salt training

कमेन्ट गर्नुहोस्