२८ जेठ २०८३, बिहीबार
देउवानिकट नेताको छलफल

कांग्रेस संस्थापन नै छैन एकजुट, देउवालाई दबाब दिन अर्को गुट !

चैत २८, २०८१
काठमाडौं
कांग्रेस संस्थापन नै छैन एकजुट, देउवालाई दबाब दिन अर्को गुट !

नेपाली कांग्रेसमा १५ औं महाधिवेशनका लागि पूर्व पदाधिकारीसहितका प्रभावशाली नेताले थप दबाब बढाउने तयारी गरेका छन् । क्रियाशील सदस्यताको विषय नै टुंगिन सकस भएपछि पूर्व पदाधिकारीले पार्टी नेतृत्वलाई दबाब बढाउन अग्रसरता लिएका हुन् ।

यसका लागि पूर्वउपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह र पूर्वमहामन्त्री डा. शशांक कोइराला लगायतको समूह थप फराकिलो भएको छ । जसमा कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ थपिएको नेता विमलेन्द्र निधि बताउँछन् ।

महाधिवेशनको तयारी सुस्त बनेपछि दबाबका लागि आफूहरू एकजुट भएर निरन्तर छलफलमा जुटेको निधिले बताए ।

‘शुरूमा प्रकाशमानजी, शशांकजी र मैले भेटको शुरूआत गरेका थियौं । पछिल्लो भेटसम्म यसमा नेताहरू थपिने क्रम बढेको छ । सिटौलाजी, विजयजी, गोपालमानजी थपिनुभएको छ । अझै डा. प्रकाशशरण महत पनि थपिँदै हुनुहुन्छ,’  निधिले लोकान्तरसँग भने, ‘हामी यसअघि पनि बस्यौं । सभापतिसँग पनि सामूहिक भेट गरिसकेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल पार्नका लागि कांग्रेसलाई बलियो पार्नुपर्छ भनेर छलफल गर्दै, साथीहरू थप्दै अगाडि बढेका हौं ।’

विमलेन्द्र, प्रकाशमान, शशांक

शुरूमा बीपीपुत्र शशांक, गणेशमान सिंहपुत्र प्रकाशमान र महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्रले मात्रै छलफल गरेका थिए । यी तिनै जना नेता कांग्रेसमा प्रभावशाली मानिन्छन् । 

निधि र सिंह १४ औं महाधिवेशनको पहिलो चरणमा सभापति पदका लागि देउवासँग भिडेका थिए । तर, दोस्रो चरणमा देउवालाई नै समर्थन गर्न पुगे । शशांकले १३ औं महाधिवेशनमा महामन्त्री जितेका थिए । तर, १४ औं मा शेखर अघि बढेपछि केन्द्रीय सदस्य मात्रै लडे । यी चार नेता नेता अरूलाई समेटेपछि देउवालाई दबाब बढाउन सकिने बुझाइमा छन् । 

यसअघि चैत १६ गते आफ्नै निवासमा विचार मिल्ने ६ जना बसेर महाधिवेशन समयमा गर्न नखोजेको प्रति नेतृत्वलाई खबरदारी गरेको निधिले बताए । 

‘विचार मिल्ने समूह निर्माण गर्दै जाँदा गोपालमानजी र प्रकाशशरण महत पनि हामीसँगै बस्न सहमत हुनुभएको छ । सभापतिसँगै लुम्बिनी जानुपर्ने भएकोले उहाँ चैत १६ गते हामीसँग बस्नुभएन,’ निधिले भने, ‘अब वैशाखमा अर्को नेताकोमा हुने छलफलमा उहाँ सहभागी हुनुहुन्छ । ३ बाट ७, १२, १८ हुँदै संख्या बढाउँदै महाधिवेशनको निम्ति दबाब बढाउँछौं ।’ 

२०८२ मा सम्भव नभए पनि २०८३ मा कुनै हालतमा महाधिवेशन गर्नुपर्ने उनको भनाइ छ । तर, पार्टी नेतृत्वले प्रभावकारी तयारी अगाडि नबढाएकोमा आफूहरूले चिन्ता व्यक्त गरेको निधि बताउँछन् । 

‘२०८३ भित्रै कुनै पनि हालतमा महाधिवेशन गर्नैपर्छ । तर, कांग्रेसमा औपचारिक बैठकबाहेक अनौपचारिक छलफल नै हुन छाडे । यसरी पार्टी बलियो हुँदैन । नियमित बैठक बसेर महाधिवेशनको तयारी पनि अगाडि नबढाउनु, अनौपचारिक छलफल पनि नराख्नु, वैचारिक छलफलको अभाव हुनु राम्रो होइन,’ निधिले भने, ‘कांग्रेसलाई बलियो र गतिशील बनाउन र राजनीतिलाई सही दिशामा हिँडाउन पनि कांग्रेस सजग भएर लाग्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो । हाम्रो अभियान छिटो महाधिवेशन गर्नका लागि केन्द्रित हो, तर अहिले नै उम्मेदवार लक्षित होइन ।’

शशांकनिकट स्रोतले पनि ६/७ जना नेता सम्मि लत कार्यक्रमलाई कोठाबाट अब कार्यकर्ताका बीचमा लाने गरी छलफल भइरहेको जानकारी दियो ।

‘अहिलेसम्म नेताहरू ३ देखि ६/७ जनासम्मले धेरैपटक बैठक गर्नुभएको छ । अब यसलाई अझै फराकिलो बनाउने गरी छलफल भइरहेको छ । कार्यकर्ताहरूलाई राखेर एउटा छलफल गरौं भन्ने कुराकानी भएको छ । उहाँ (शशांक)ले पनि यस्तो कार्यक्रम राख्दा राम्रो हुन्छ भन्नुभएको छ,’ शशांकनिकट स्रोतले भन्यो, ‘वैशाखको ५ देखि ७ गतेको आसपासमा महाधिवेशनकेन्द्रित यस्तो छलफल कार्यक्रम हुन्छ ।’

शशांक कोइराला

चैत १५ को छलफलमा राजावादी समूहले गरेको अराजक प्रदर्शनको समीक्षा गरेको निधि बताउँछन् । तर, महाधिवेशनका लागि पार्टीले आवश्यक अग्रसरता नलिँदा चिन्ता व्यक्त भएको पनि उनले बताए । 

‘१५ गते घटना भएपछि समीक्षा गर्‍यौं । सुस्त तयारीले २०८२ महाधिवेशन सम्भव छैन । यसमा हामीले चिन्ता जनाएका छौं । तर, २०८३ मा महाधिवेशन हुनुपर्छ । क्रियाशील सदस्यता वितरण भएको छैन,’ निधि भन्छन्, ‘हाम्रो छलफल महाधिवेशनकेन्द्रित हो, तर सभापतिमा को लड्ने–को नलड्ने भन्ने होइन । महाधिवेशनमा नेतृत्वको विषयमा प्रवेश गरिसकेका छैनौं । नेतृत्वका विषयमा उपयुक्त समयमा छलफल गर्छौं ।’

यसअघि पनि संस्थापन पक्षकै पूर्व पदाधिकारीहरूले आलोपालो छलफल गरेका थिए । महाधिवेशनको तिथि सुनिश्चित नभएको र भावी उत्तराधिकारीबारे पनि सभापतिले मुख नखोले अवस्थामा ११ नेता गत फागुन २ गते बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा पुगेका थिए । 

उपसभापति पूर्णबहादुर खड्का देउवाले आफूलाई स्वतः सभापतिको उम्मेदवार बनाउनुपर्ने पक्षमा छन् । तर, यो समूहमा पूर्वपदाधिकारीसहितका नेताले आफूहरू मध्येबाटै एक जनालाई अगाडि सार्नुपर्ने मत राख्दै आएका छन् ।  

जसमा निधि, सिंह, सिटौला, पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत, एनपी साउँद, बालकृष्ण खाँण थिए । उनीहरूले भावी सभापतिको उम्मेदवार आफूहरूमध्येबाटै हुनुपर्ने माग गरेका थिए । देउवाले आफ्नै टिमका खड्का, अर्को टिमका डा. शेखर कोइराला वा पछिल्लो समय राम्रो सम्बन्धमा रहेका गगन थापालाई सभापतिमा अगाडि सार्न सक्छन् कि भन्ने आशंका गर्ने पनि छन् । संस्थापनलाई साथ दिएका धेरै नेता देउवाले यी चारजना (निधि, सिटौला, सिंह, शशांक)बाहेक अरू कसैलाई अगाडि नसारून् भन्ने पक्षमा छन् । 

जवाफमा सभापति देउवाले यही टिमबाट आफू सभापति भएको भन्दै समय आएपछि नाम घोषणा गरेर जाने बताएका थिए ।

देउवाले आफूलाई साथ दिएका नेतालाई नचिढ्याउने बरु अनुकूलता हेरेर उनीहरूलाई इंगेज गरिराख्ने नीति लिएका छन् ।

त्यतिखेर देउवा निवास पुगेका साउँद र खाँण डा. शेखर कोइरालाको समूहनजिक पुगेका छन् । यी दुवै नेताले शेखरका कार्यक्रम छुटाउने गरेका छैनन् । अब देउवाको प्रत्यक्ष छत्रछायाँ नहुने भएपछि उनीनिकटका पदाधिकारीसहितका प्रभावशाली नेता पनि दोधारमा छन् ।

विमलेन्द्र निधि

तर, नेता निधि जरुरत परे फेरि पनि सभापतिसँग छलफल गर्ने बताउँछन् । 

‘हामीले निरन्तर रूपमा महाधिवेशनको प्रक्रियाका लागि सदस्यता टुंग्याउन दबाब दिइरहेका छौं । प्रभावशाली एक  ठाउँमा उभिएपछि सभापति, पदाधिकारी, प्रदेश, जिल्ला र सबैतिर दबाब पुग्छ भन्ने हाम्रो विश्वास छ,’ निधिले भने, ‘महाधिवेशनका लागि सभापतिसँग जतिखेर पनि बस्नुपर्छ भन्नेमा हामी छौं । सभापतिसँग फेरि पहिलेजस्तै छलफल गर्छौं । महाधिवेशन समयमा गर्न दबाब बढाइरहन्छौं ।’ 

महाधिवेशनका लागि मात्रै दबाब भने पनि नेतृत्वका विषयमा प्रस्ट हुन सभापति देउवालाई सोही समूहका नेताहरूले तीव्र दबाब दिएको एक नेता बताउँछन् । 

‘महाधिवेशनका प्रक्रिया शुरू नहुँदै आवश्यक तयारी गर भन्नु एउटा प्रक्रियाको कुरा हो । यो पदाधिकारी र पार्टीको संरचनाले गर्ने हो । तर, पूर्व पदाधिकारीले बाहिरबाट सुझाव मात्रै दिने हो,’ कांग्रेसका एक नेता भन्छन्, ‘देउवालाई साथ दिएका थुप्रै नेताले नेतृत्वमा आफूलाई चयन गर्न दबाब बढाएका छन् । भेटेरै गरिएका आग्रह र कोठे बैठकका सन्देश नेतृत्वमा आफूलाई नै अगाडि सार भन्ने हो ।’ 

बरु महाधिवेशन नै २०८४ को चुनावपछि गराउन सकिन्छ कि भनेरै शशांककै मुखबाट बोलाउन खोजेका छन् । महामन्त्री गगन थापाले बिहीबार मात्रै क्रियाशील सदस्यता नवीकरण गर्ने समय १५ दिन थपेका छन् । 

चैत मसान्तभित्र सदस्यता नवीकरण हुने स्थिति नभएपछि महामन्त्रीले २ साताको थप समय दिएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्