
काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुला राख्ने निर्णय भएको एक वर्ष भएको छ । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले संयुक्त रूपमा २०८१ वैशाख १ गतेदेखि ठमेल र दरबारमार्गलाई २४सै घण्टा खोल्ने घोषणा गरेका थिए । आर्थिक मन्दीको मारमा परेको पर्यटन व्यवसायलाई चलायमान बनाउन ठमेल र दरबारमार्ग क्षेत्र सधैं खुला राख्ने निर्णय गरिएको थियो ।
तर, २४सै घण्टा सञ्चालन भएको एक वर्षसम्म पनि व्यवस्थित हुन नसकेको ठमेलस्थित नाइट क्लब एलओडीका निर्देशक भुपेन कुँवर बताउँछन् । सधैं खुल्नु सकारात्मक भए पनि व्यवस्थित हुनुपर्ने उनको भनाइ छ । ‘हामीले नै २४सै घण्टा ठमेल खोल्नुपर्छ भनेका हौं । सरकारले २४ सै घण्टा खोल्ने निर्णय गर्यो । तर, निकै अव्यवस्थित देखिन थालेको छ’, निर्देशक कुँवरले भने, ‘कुन व्यवसायलाई कसरी ? कति बेलासम्म खोल्न दिने ? भन्ने कुरा मिलाइएको छैन । जुनसुकै समयमा जे पनि पाइन्छ भन्ने धारणाले ठमेलको विशेषता घटाउँदै लगेजस्तो देखिन्छ ।’
२४सै घण्टा सानादेखि ठुला सबै व्यवसाय खोल्नाले ठमेललाई झन् अव्यवस्थित बनाइएको लुना रेस्टुरेन्ट एन्ड बारका सञ्चालक सुमन महर्जन बताउँछन् । रात्रिकालीन व्यवसाय र मनोरञ्जनका लागि परिचित ठमेल अचेल अव्यवस्थित बन्दै गएको उनको बुझाइ छ ।
‘ठमेलमा रात्रिकालीन मनोरञ्जनका लागि मानिसहरू आउने गर्छन् । यसको विशेषता नै यही हो । तर, अहिले भट्टी पसलदेखि पान पसलसम्म रातभरी खुल्छन् । यसले ठमेललाई अव्यवस्थित बनाएको छ’, उनले भने, ‘कुन व्यवसाय कति बेलासम्म खोल्ने ? कहाँ–कहाँ खोल्ने ? लगायत पक्षहरूको व्यवस्था गरिएको छैन । यसले ठमेलको महत्वलाई अलिक घटाएको छ ।’
रात्रिकालीन व्यवसायमा होटेल, रेष्टुरेन्ट, बार, लाउन्ज, डान्स क्लब, दोहोरी साँझलगायत पर्छन् । यी व्यवसायहरू निश्चित समयसम्म खुल्ने गर्दछन् ।
तर, ठमेलमा अहिले सानादेखि ठूला धेरै पसल २४ सै घण्टा खुल्ला हुन्छन् । मध्यरातमा एमआरपीमै मदिरा पाइन्छ । जसको असर होटेल तथा रेष्टुेरेन्टमा परेको व्यवसायीको गुनासो छ ।
ठमेलललाई सधैं खुला राख्दा व्यापार व्यवसाय बढेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष ध्रुव अधिकारी बताउँछन् । पर्यटकहरू ढुक्कसँग ठमेलमा २४सै घण्टा घुम्न सक्ने वातावरण बनेको उनको भनाइ छ । ‘ठमेल क्षेत्रका व्यवसायी खुसी छन् । पर्यटकहरू पनि निकै सन्तुष्ट भएको पाउँछौं । सुरक्षा पनि राम्रो भइरहेको छ’, उनले भने, ‘पहिलेभन्दा व्यापार बढेको भन्न मिल्छ । यो निकै राम्रो कुरा हो । यसलाई निरन्तरता दिँदै झन् प्रभावकारी ढङ्गबाट अगाडि लैजानुपर्छ ।’

यता, दरबारमार्गमा भने होटेल, रेस्टुरेन्ट, क्लब तथा बारबाहेक अन्य व्यवसाय राति १० बजेअघि नै बन्द हुने गरेका छन् । होटेल तथा रेस्टुरेन्ट र क्लबहरू मात्रै रातिसम्म खुल्छन् । २४सै घण्टा दरबारमार्गलाई चलायमान बनाउन न्यूनतम ४० देखि ५० प्रतिशत व्यवसाय रातभर खुल्नुपर्ने किङ्स लाउन्जका सञ्चालक कुमार गुरुङ बताउँछन् । ‘दरबारमार्ग २४सै घण्टा खुल्नुपर्छ । तर, यसका लागि होटेल तथा रेस्टुरेन्ट र क्लबहरू मात्रै खुलेर हुँदैन । यसरी चल्दैन’, उनले भने, ‘अन्य व्यवसायहरू पनि खुल्नुपर्छ । धेरै सेवासुविधा र विकल्प भएपछि मानिसहरूको चाप बढ्ने हो । होइन भने निश्चित मानिसहरूबाहेक अरू आउँदैनन् ।’
दरबारमार्गमा पार्किङको समस्याले पनि कमै मानिसहरू आउने गरेको उनको बुझाइ छ ।

२४सैं घण्टा खुल्ला गरेसँगै व्यवसायी र सुरक्षा निकायलाई निकै सहज भएको दरबारमार्ग विकास बोर्डका कोषाध्यक्ष सञ्जय अधिकारी बताउँछन् । दरबारमार्गमा व्यवसायी तथा उपभोक्ताहरूले सुरक्षित र ढुक्क हुने वातावरण पाएको उनको भनाइ छ ।
‘सुरक्षा निकायलाई पनि समयमै बन्द गर्नुपर्छ भन्ने दबाब अहिले छैन । व्यवसायीहरू आफूखुसी पसल चलाउँछन्’, उनले भने, ‘उपभोक्ताहरूलाई पनि निकै सहज भएको छ । सुरक्षा निकायले पनि हालसम्म कुनै पनि अनियन्त्रित गतिविधि हुन दिएको छैन ।’
तर, पार्किङको समस्याले दरबारमार्गमा २४सै घण्टा व्यवसाय सञ्चालनमा अवरोध खडा गरेको उनले गुनासो गरे ।
‘दरबारमार्ग क्षेत्रमा पार्किङ हटाएपछि त्यसको प्रभाव व्यवसाय देखिएको छ । दिनभरि पार्किङ गर्न रोक लगाए पनि रातिको समयमा पार्किङ गर्न दिनुपर्ने हो’, उनले भने, ‘होइन भने राति पनि मानिसहरू किन आउँछन् ? यसको व्यवस्थापन गरिएको छैन । यो हुनुपर्छ ।’
