१० साउन २०८३, आइतबार

एमाले विराटनगर महानगर अधिवेशनमा जिल्लामा जस्तै दुई प्यानल

बैशाख २, २०८२
विराटनगर
एमाले विराटनगर महानगर अधिवेशनमा जिल्लामा जस्तै दुई प्यानल

नेकपा (एमाले) विराटनगर महानगर कमिटीको नगर अधिवेशन आजदेखि शुरू हुँदैछ । महानगर अधिवेशनमा जिल्ला अधिवेशनजस्तै दुई प्यानलबीच कडा टक्कर हुने देखिएको छ । 

एउटा प्यानल पार्टी नेता विनोद ढकालको समर्थनमा रहेको छ भने अर्काे प्यानलमा प्रतिनिधिसभाको लेखा समितिका सभापति ऋषिकेश पोख्रेल, केन्द्रीय सदस्य जीवन घिमिरे तथा नेता परशुराम बस्नेतको समर्थन रहेको छ ।

पोख्रेल समूहलाई संस्थापन पक्ष र ढकाल समूहलाई इतर पक्षको रूपमा चिनिन्छ । इतर पक्षलाई भने पूर्वराष्ट्रपति विद्या भण्डारीसँग जोड्ने गरिएको छ । संस्थापन पक्षले वर्तमान संगठन कमिटीका अध्यक्ष रोहित कोइरालालाई अधिवेशनमा अध्यक्ष पदको उम्मेदवारको रूपमा अघि सारेको छ । 

कोइरालाले सोमबार आफ्नो प्यानलको घोषणा गरेका छन् । जसमा उपाध्यक्ष पद खाली राखिएको थियो । हिजो राति भने विराटनगर–८ का वडाध्यक्ष राम पोख्रेललाई उपाध्यक्ष पदमा उम्मेदवार बनाइएको छ ।  

त्यसैगरी संस्थापन पक्षले विराटनगर–४ का वडा कमिटी अध्यक्ष नवराज काफ्लेलाई सचिव पदमा र चन्द्रशेखर विश्वास र कला डाँगीलाई उपसचिव पदमा उम्मेदवार बनाएको छ ।

इतर समूहबाट संगठन कमिटीका वर्तमान सचिव बलराम गिरीलाई अध्यक्ष पदको उम्मेदवार बनाइएको छ । गिरीको प्यानलमा सुरज न्यौपानेलाई उपाध्यक्ष, विज्ञानशर्मा चापागाईलाई सचिव तथा हमिर आजातहिमा मैनाली पोख्रेललाई उपसचिव पदमा उम्मेदवार बनाएको छ । इतर समूहले मंगलबार आफ्नो प्यानलको घोषणा गरेको छ ।

यसअघि एमाले मोरङको दशौं जिल्ला अधिवेशनमा इतर समूहले संस्थापन पक्षलाई परास्त गरेको थियो । त्यस अधिवेशनमा इतर समूहले सबै पदाधिकारी पदमा ‘क्लिन स्विप’ गर्नुका साथै बहुमत सदस्य पद जितेको थियो ।  

जिल्लास्तरको यो ऐतिहासिक विजयले इतर पक्षको मनोबल उच्च रहेको छ भने उनीहरू विराटनगर महानगरमा समेत त्यसलाई दोहोर्‍याउने दाबी गरिरहेका छन् । 

विराटनगर महानगरमा संस्थापन पक्षका लागि यस पटकको अधिवेशन अत्यन्तै महत्वपूर्ण देखिएको छ । जिल्ला अधिवेशनमा पराजित भएपछि संस्थापन पक्षलाई महानगरमा विजय हासिल गर्नैपर्ने दबाब छ । पार्टीभित्र आफ्नो पकड कायम राख्न र प्रभाव देखाउनसंस्थापन पक्षले विराटनगरमा सम्पूर्ण शक्ति केन्द्रित गरेको स्रोतले बताएको छ ।

इतर पक्षका ढकाल समूह भने जिल्ला अधिवेशनको सफलतालाई निरन्तरता दिँदै महानगरमा पनि विजय हासिल गरेर थप राजनीतिक सन्देश प्रवाह गर्ने रणनीतिका साथ चुनावी मैदानमा उत्रिएको छ । जिल्लामा देखाएको प्रभावशाली प्रदर्शनलाई महानगरमा दोहोर्‍याउन इतर पक्ष आत्मविश्वासका साथ अगाडि बढिरहेको देखिन्छ ।

प्रतिनिधिहरूलाई आकर्षित गर्न दुवै पक्षले अनौपचारिक भेटघाट र छलफललाई तीव्रता दिएका छन् । दुवै पक्षले आफ्नो जित पक्का भएको बताउँदै आएका छन् । अधिवेशनका लागि ३१५ जना प्रतिनिधि छानिएका छन् ।  जसमा २२१ जना भूगोल, ७९ जना जनसंगठन र बाँकी मनोनीत प्रतिनिधिहरू रहेका छन् । 

अध्यक्ष पदका उम्मेदवार रोहित कोइरालाले प्रतिस्पर्धा आफू र सागर थापाबीच भएको बताए । ‘मेरै संगठनको सचिवसँग मेरो प्रतिस्पर्धा होइन,’ उनले भने, ‘अहिलेको प्रतिस्पर्धा भनेको सागर थापासँगको जस्तो देखियो ।’ 

उनले सर्वसम्मत गरे अध्यक्ष बाहेकका अन्य पद छाड्न पनि आफू तयार रहेको बताए ।  सागर हाल जिल्ला उपाध्यक्ष हुन् । विराटनगरकै मानगढ खानेपानी उपभोक्ता समितिको चुनावको विषयलाई लिएर तत्कालीन महानगर कमिटीका अध्यक्ष थापालाई कारवाही गरिएपछि कोइरालालाई संगठन कमिटीको अध्यक्ष बनाइएको थियो ।

इतर समूहका अध्यक्ष पदका उम्मेदवार बलराम गिरीले आफू नगर कमिटीको संगठन कमिटीको सचिव भएकाले अध्यक्षमा दाबी गर्नु स्वभाविक भएको बताए । ‘अधिवेशनमा आएका प्रतिनिधिले गर्ने निर्णय नै अन्तिम निर्णय हो,’ उनले भने, ‘स्वच्छ प्रतिस्पर्धा गर्छाैं ।’

गिरी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसँग समेत नजिक भएकाले उनले जिल्लाको अधिवेशनको पैँचो तिर्न अन्य भूमिका नखेलून् भनेर नै अध्यक्षको उम्मेदवार बनाएको नेताहरूले बताएका छन् । जिल्ला अधिवेशनमा भने मुख्यमन्त्री कार्कीले सांसदहरूलाई मन्त्री बनाउने आश्वासन समेत बाँडेको स्रोतले बताएको छ ।

मोरङका १७ पालिका मध्ये १२ वटा पालिकाको अधिवेशन सकिएको छ । बहुमत पालिकामा भने संस्थापन इतर समूहले नै जितेको छ ।

salt training

कमेन्ट गर्नुहोस्