
रिलिजको सँघारमा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ‘काफ्ले’ शीर्षकको सार्वजनिक गरिएको छ ।
मङ्गलबार काठमाडौंको बिग मुभिजमा आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको यस गीतले चलचित्रको यथार्थवादी स्वाद प्रस्तुत गरेको छ । गीतमा युवराज काफ्लेको शब्द, झुमा लिम्बूको सङ्गीत तथा झुमा र सुजन चापागाईंको स्वर रहेको छ ।
गीत सार्वजनिक समारोहमा चलचित्रका निर्देशक नवीन चौहानले ‘काफ्ले’ शब्द केवल गीतको शीर्षक नभई समाजको एउटा प्रतिबिम्ब भएको बताए ।
'हामी चलचित्रको जुन सपना बोकेर पाँचथर गएका थियौं, आज त्यो सपना पूरा हुन लागेको छ । चलचित्र 'रियलिस्टिक अप्रोच'बाट बनाइएको भएकाले यो गीतलाई पनि हामीले यथार्थपरक शैलीमा प्रस्तुत गरेका हौं,' उनले भने ।
उनका अनुसार अभिनेता विपिन कार्कीले चलचित्रमा ‘धरणीधर काफ्ले’को भूमिका निर्वाह गरेका छन् । जसका लागि काफ्ले थर हुनेहरूको संस्कृतिको अध्ययन एवं अनुसन्धानसमेत गरिएको थियो ।
कार्यक्रममा निर्देशक चौहानले म्युजिक भिडियो र चलचित्र निर्माणको भिन्नतालाई औंल्याए । 'मैले चलचित्र बनाउँछु भनेर जुन दिन सोच राखे, त्यस दिनदेखि मेरो अगाडि यो प्रश्नको ठुलो पहाड थियो,' उनले थपे, 'यो दुई घण्टाको म्युजिक भिडियो होइन, यो चलचित्र नै हो भन्ने महसुस गराउन अहोरात्र खटेको छु।'
यस्तो छ भिडियो