
बुटवलका दीपक रिजाल सानैदेखि कुकुर प्रेमी थिए । स्कूल जाँदा–आउँदा बाटोमा देखिने कुकुरलाई प्रायः केही न केही खानेकुरा दिइरहन्थे ।
उनको घरमा पनि पाल्तु कुकुर थियो । सानैदेखि कुकुर देखेर हुर्किएका दीपकले कोरोना महामारीका बेला सडकमा डुल्ने ‘भुस्याहा’ कुकुरहरू खान नपाएर भौतारिएको प्रत्यक्ष देखे ।
भोकले छटपटिएका ती कुकुरलाई ‘लकडाउन’ अवधिभर उनले खानाको जोहो गरी जसोतसो पेट पालिदिए । खाना खुवाउन थालेपछि बिहानैदेखि कुकुरहरू त्यही ठाउँमा आएर घेरिन थाले ।
लकडाउनले सिंगो मुलुक र शहर थुनिएका बेला कुकुरसँग निकट साथीजस्तै बन्न पुगेका दीपक त्यो बेला गाडीले ठक्कर दिएर घाइते भएका, चोटपटक लागेर रगताम्मे भएका कुकुर देखेपछि उपचार र संरक्षण गर्नुपर्छ भन्नेमा पुगे ।
त्यसपछि उनले रूपन्देहीको देवदह नगरपालिका–१० चरङ्गेमा ‘अल नेपाल केयर’ नामक संस्था स्थापना गरी कुकुरको सुखदुःखको साथी बन्ने निधो गरे ।
कुकुरको सरसफाइ गर्ने, शरीरका किर्ना फालिदिने, घाउले ग्रस्त कुकुरलाई औषधि लगाइदिने काम गर्न घिन र झर्को मानेनन् ।
संस्था स्थापना भएको ४ वर्ष भयो । अहिले कसैले घाइते कुकुर सडकमा छटपटाइरहेको देखेमा दीपकको मोबाइलमा घण्टी बजिहाल्छ ।
स्याहार केन्द्रको एक टोलीले तत्काल ‘लोकेसन’मा पुगेर कुकुरको उद्धार गरी केयर सेन्टर ल्याएर पशु स्वास्थ्यकर्मीको समन्वयमा उपचार गर्छ ।
घाइते कुकुरले दुखाइ मेट्ने औषधि तथा तातो र पोषिलो खाना पाउँछन् ।
‘उपचार अघि बढ्दै गएपछि घाइते कुकुर तंग्रिन थाल्छन्,’ दीपक भन्छन्, ‘स्याहार केन्द्रमा अहिले ६० वटा कुकुर छन् । स्याहार केन्द्रबारे थाहा पाएका व्यक्तिहरूले दुर्घटनामा परेका, स्याहार नपाई सडकमा थलिएका कुकुर देख्नासाथ खबर गर्ने गरेका छन् ।’
उद्धार गर्दा रोगी, फोहोरी र देख्दै घिनलाग्दा हुने कुकुर स्याहारपछि स्वस्थ र सुन्दर देखिन्छन् । केयरमा अहिले घाइते कुकुरको उपचारका लागि अनुरोधको ओइरो लाग्ने गरेको छ ।
बुटवल, भैरहवा, सुनवल, पाल्पा, कपिलवस्तुलगायतका जिल्लाबाट घाइते कुकुर उपचारका लागि ल्याइदिने समेत गर्छन् ।
पहिले घरको सुरक्षाका लागि पालिने कुकुर शहरी क्षेत्रमा शोख र एक्लोपन मेटाउने साथीको रूपमा पनि चिनिन्छन् ।
घरमा पालिएका कुकुरलाई बुढो वा रोगी भएपछि सडकमा ल्याएर छाडिदिने प्रवृत्तिका कारण शहरमा कुकुरको संख्या तीव्र गतिमा बढेको उनको बुझाइ छ ।

‘यो त उमेर छउञ्जेल दूध खाएर बुढो भएका गाईलाई सडकमा छाडेजस्तै निर्दयी काम हो,’ रिजाल भन्छन्, ‘शोखका लागि पाल्नेबाट राम्रो स्याहार नपाएर रोगाएका तिनै भुस्याहा कुकुरले स्याहार केन्द्रमा आश्रय पाइरहेका छन् ।’
सडकमा अलपत्र छाडिएका कुकुर स्याहार्न केन्द्रमा उनीसहित ४ जना (पशु स्वास्थ्यकर्मीसहित) खटिन्छन् । केन्द्रमा कुकुरलाई दैनिक १० किलो चामलको भात पकाएर खुवाउने गरिएको उनले बताए ।
कुकुरलाई विभिन्न होटलबाट संकलन गरेर मासु ल्याएर खुवाउने गरिन्छ । औषधि, खुराक, कर्मचारीलाई तलब र जग्गाको भाडा सबै गरेर मासिक ५० हजारभन्दा बढी खर्च हुने गरेको छ । कुकुरको उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग गर्छन् भने कसैले आफैं उपस्थित भएर दिने सहयोगबाट पनि केयर सेन्टर चलेको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर– ११ को मध्यम परिवारमा जन्मे/हुर्केका २९ वर्षका दीपकले अहिलेसम्म करिब १ हजार बढी घाइते कुकुरको उपचार गरिसकेको बताए ।
‘अहिले कुकुर आफ्नो परिवारको मान्छेजस्तै प्रिय लाग्छ,’ दीपक भन्छन्, ‘सहयोगका लागि हात फैलाएर तथा आफ्नै खर्च गरेर भए पनि उनीहरूको उपचार गरी निको हुँदा मनमा शान्ति र सन्तुष्टि मिल्छ ।’
शुरूमा कुकुरको सेवामा दत्तचित्त दीपकको कुकुर प्रेमका कारण चिनेका साथी र आफन्तहरू तर्किंदै गएका थिए । तर, अहिले घाइते र रोगी कुकुरको उद्धार, उपचार र स्याहार गर्ने उनको रूचिमा सबैको साथ मिल्न थालेको छ ।
‘मेरो हातबाट औषधि र खाना पाएको कुकुर २ दिन बढी बाँच्यो भने पनि खुशी लाग्छ,’ उनले लोकान्तरसँग भने ।
केयर सेन्टरमा रहेका सबै कुकुरको बन्ध्याकरण गरिन्छ । रेबिजलगायत मानिसमा सर्न सक्ने रोगविरुद्धको भ्याक्सिन दिएर उपचार शुरू हुन्छ । केयरमा रहेको स्वस्थ कुकुर घरमा पाल्न चाहनेलाई उनी निःशुल्क दिन्छन् ।
दैनिक सरदर १२ घण्टा कुकुरको स्याहारमा खटिने उनी र उनका कर्मचारीले कुकुरबाट सर्न सक्ने रोगको खोप लगाउने गरेका छन् ।
‘भेटेसम्मका कुकुरलाई कालगतिले नमरुञ्जेल राम्रो खाना र उपचार दिएर जीवन बिताउन सहयोग गर्ने मेरो उद्देश्य हो,’ दीपक भन्छन्, ‘प्रकृतिकै सृष्टि भएकाले यी अबोध प्राणीका लागि पनि ठाउँ हुनुपर्छ भनेर यो काममा लागेको हुँ ।’
‘डग मानिसप्रति बफादार र मायालु पनि हुन्छन्’ उनी कुकुरलाई सुमसुम्याउँदै थप्छन्, ‘बिरामी र घाइते कुकुर तथा तिनका छाउरा देख्दा मलाई औधी माया लाग्छ ।’
दीपकले कुकुरको हाउभाउ सबै बुझ्छन् । भोक तिर्खा लाग्दा, दिसापिसाव आउँदा अनि खुशी र पीडा महसुस गर्दा कुकुरले देखाउने व्यवहारबारे उनी परिचित छन् ।
मानिससँगको सम्बन्धमा हजारौं वर्षदेखि जोडिएको कुकुर घरको सुरक्षा गर्ने बफादार प्राणीका रूपमा परिचित छ ।
हिजोआज परिवारका युवा सदस्यहरू कामका लागि शहर वा परदेश जाने भएकाले घरमा रहेका ज्येष्ठ सदस्य र बालबच्चाको साथीको रूपमा पनि कुकुर पाल्ने गरेको पाइन्छ ।
तर, सडकका कुकुरप्रति शहरबासीको माया कमजोर बनिरहेको छ । केहीले घरमा कुकुर पाले पनि सडकमा भेटिने कुकुरप्रति निर्दयी व्यवहार देखाउने गरेको दीपकको अनुभव छ ।
आफूले चाहेको बानी सिकाएर काम लिन सकिने भएकाले कुकुर भरपर्दो जनावर मानिन्छ ।