२७ जेठ २०८३, बुधबार

अमेरिकाका सात शहरमा गुञ्जिँदै नेपथ्य

बैशाख १५, २०८२
काठमाडौं
अमेरिकाका सात शहरमा गुञ्जिँदै नेपथ्य

अग्रणी सांगीतिक ब्यान्ड नेपथ्यले अमेरिकाका सातवटा शहरमा कन्सर्ट गर्ने भएको छ । 

संगीतमा रमाउने संसारभरिका श्रोता दर्शकहरूलाई नेपालीपनका माध्यमबाट जोड्दै आएको नेपथ्य अमेरिकाको शृंखलाबद्ध सांगीतिक यात्रामा निस्किन लागेको हो । 

अमेरिकामा नेपथ्यले आफूलाई सातौंपटक उभ्याउन लागेको हो । गत वर्ष पनि ब्यान्डले डेढ महिना लगाएर अमेरिकाको पूर्वीदेखि पश्चिमी किनारासम्मका सातवटा शहरमा शृंखलाबद्ध सफल प्रस्तुति दिएको थियो । यसपटक सात नयाँ शहरमा नेपथ्य प्रस्तुत हुँदै छ ।

तालिका अनुसार ब्यान्डले आगामी मे १७ तारिखमा टेक्सास राज्यको राजधानी अस्टिनमा आफूलाई उभ्याउने छ । उक्त शहरस्थित ‘इमोज् अस्टिन’ हलमा शृंखलाबद्ध यात्राकै पहिलो प्रस्तुति हुनेछ ।

त्यसपछिको दोस्रो प्रस्तुतिका लागि ब्यान्ड दक्षिणवर्ती राज्य टेक्सासबाट एकैपटक क्यानाडासँग सिमाना जोडिएको उत्तरी किनारा वासिङ्टन राज्य पुग्नेछ । उक्त राज्यको सियाटल शहरमा मे २३ तारिखका दिन नेपथ्य प्रस्तुत हुनेछ । 

तेस्रो प्रस्तुतिका निम्ति भने ब्यान्ड फेरि थोरै तल ओर्लिएर क्यालिफोर्निया राज्यको सर्वाधिक जनसंख्या ओगटेको शहर लस एन्जलस पुग्नेछ । सिनेमा निर्माणका लागि विश्वमै अग्रणी मानिने हलिउड अटाएको यो शहरमा मे २६ तारिखका दिन ‘हाउस अफ ब्लुज’मा ब्यान्डले लोकरक गीत सुनाउनेछ ।

त्यसपछि ब्यान्ड पेन्सिलभेनिया राज्यतर्फ प्रस्थान गर्नेछ । त्यहाँस्थित पिट्सबर्ग शहरलाई यसपटक नेपथ्यले चयन गरेको छ । गत वर्ष ब्यान्डले यसै राज्यको ह्यारिसवर्गमा आफूलाई उभ्याएको थियो । मे ३१ तारिखका दिन पिट्सबर्गस्थित ‘रक्सिन थिएटर’मा ब्यान्ड प्रस्तुत हुनेछ ।

त्यसपछि भने ब्यान्ड पाँचौं प्रस्तुतिका लागि फेरि उत्तरतर्फ उक्लेर सिकागो शहर पुग्नेछ । त्यहाँस्थित ‘दी भिक थिएटर’मा जुन ७ तारिखका दिन नेपथ्य कन्सर्ट तोकिएको छ । 

सिकागोमा नेपथ्यका गीतहरू सुनाएपछि ब्यान्ड म्यासाचुसेट्स राज्यको राजधानी बोस्टन शहरतर्फ लाग्नेछ । सन् १६३५ मा अमेरिकाकै पहिलो स्कूल ‘बोस्टन ल्याटिन स्कूल’ स्थापनाको श्रेय पाएको यो शहर यतिबेला उच्च शिक्षाका लागि विश्वकै केन्द्र मानिन्छ । हार्वर्ड र एमआईटी जस्ता विश्वकै अग्रणी शिक्षालयहरू यसै शहरका देन हुन् । यस शहरको  ‘रोयल बोस्टन’ हलमा नेपथ्य जुन ११ तारिखका दिन प्रस्तुत हुनेछ ।

यसरी अमेरिकाका फरक-फरक भेगका बेग्लाबेग्लै विशेषता बोकेको शहरमा उपस्थित भइसकेपछि अन्तिममा नेपथ्य नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो शहर पुग्नेछ । नेपथ्य पहिलोपटक प्रस्तुत हुन लागेको यो शहरमा वर्सेनी ‘नर्थ क्यारोलाइना फोक फेस्टिभल’ पनि आयोजना हुँदै आएको छ । यहाँको  ‘पिडमोन्ट हल’मा जुन १४ तारिखको साँझ ब्यान्डले यो वर्षको शृंखलाबद्ध अमेरिका यात्राकै अन्तिम प्रस्तुति दिनेछ ।

नेपथ्यले सन् २००४ मा एरिजोना राज्यको फिनिक्स र राजधानी वासिङ्टन डीसीमा आफूलाई प्रस्तुत गर्ने उद्देश्यका साथ पहिलोपटक अमेरिका यात्रा गरेको थियो । त्यसपछिका वर्षमा ब्यान्डले न्यूयोर्क, सानफ्रान्सिस्को, लस एन्जलस, एटलान्टा, डालास र बोस्टनमा सांगीतिक प्रस्तुति दिइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्