२७ असार २०८३, शनिबार

गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

बैशाख १६, २०८२
काठमाडौं
गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा विशेष अदालतबाट सफाइ पाएका मधेश प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कार्यरत शाखा अधिकृत मिनबहादुर भट्टराईविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

भट्टराईले आफू राष्ट्रसेवक पदमा रहेकै अवस्थामा कानून विपरीत ४ करोड ४० लाख १५ हजार ९२५ रूपैयाँ ८६ पैसाको सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले उनीमाथि साविक भ्रष्टाचार निवारण ऐन, २०१७ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गरेको थियो ।

उक्त सम्पत्तिमध्ये केही उनकी पत्नी झुना कुमारी कठेतको नाममा राखिएको देखिएकाले सम्पत्ति जफतको प्रयोजनका लागि झुना कुमारीलाई समेत प्रतिवादी बनाई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको थियो। तर, विशेष अदालतले गत २०८१ असार ९ गतेको फैसलाबाट दुवै प्रतिवादीलाई सफाइ दिएको थियो ।

अख्तियारले भने सो फैसलासँग असहमति जनाउँदै मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । 

पुनरावेदनमा अख्तियारले माग गरेअनुसार भट्टराईलाई कैद, जरिवाना र सम्पत्ति जफतको माग दाबी गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्