
आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता शुरू भएको छ । वार्ता सिंदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी छ ।
सरकार र शिक्षक महासंघबीच सोमबार र मंगलबार राति पनि वार्ता भएको थियो । मंगलबार अबेर रातिसम्म चलेको वार्ता सहमति नजिक पुगेको शिक्षामन्त्री पन्तले जानकारी दिए ।
शिक्षक महासंघले सरकारसमक्ष ९ बुँदे प्रस्ताव पेस गरेको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएमा शिक्षक महासंघले आन्दोलनको शैली फेर्ने बताएको छ ।
मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने कुरा महासंघका तर्फबाट राखेको र त्यसमा ठोस निर्णय नभइसकेको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । आजै सहमति हुन सक्ने उनको विश्वास छ ।
मन्त्रालय र शिक्षकबीच सहमति जुटे आजै हस्ताक्षर गर्ने तयारी छ ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर चैत २० गतेदेखि देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।
शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को शुरूदेखि नै पठनपाठन प्रभावित भएको छ ।