२४ असार २०८३, बुधबार
मखनामा चरम मूल्य अन्तर

मखनाको मूल्य १० गुणासम्म फरक : किलोकै ५०० देखि साढे ४ हजारसम्म !

बैशाख २५, २०८२
काठमाडौं
मखनाको मूल्य १० गुणासम्म फरक : किलोकै ५०० देखि साढे ४ हजारसम्म !

नेपाली बजारमा मखनाको मूल्य ५०० रुपैयाँदेखि साढे ४ हजार रुपैयाँ प्रतिकिलोसम्म रहेको पाइएको छ । पौष्टिक तत्त्वले भरिपूर्ण ड्राई फ्रुट मखनाको मूल्य १० गुणासम्म वृद्धि भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । 

प्रोटिन, फाइबर, कार्बोहाइड्रेट, भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्टजस्ता पोषक तत्त्वहरूले भरिपूर्ण ड्राई फ्रुट मखनाको बिक्रीमा १० गुणासम्म मूल्य तलमाथि भएको पाइएको विभागका निर्देशक जगदिश अर्यालले बताए । 

उनका अनुसार विभागको टोलीले फरक फरक दिनमा मखनाको मूल्य निकाल्न टोली खटाएको थियो । विभागले वैशाख १७ गते २० गते र २३ गतेगरी फरक फरक स्थानबाट मखनाको मूल्य निकालेको थियो । विभागले निकालेको मूल्यमा १० गुणासम्मको महँगो मखना पाइएको हो । 

विभागले बिक्रेतालाई २ लाखसम्मको जरिवाना र बिक्रीमा रोकसमेत लगाएको उनको भनाइ छ । तर, सबैलाई विभागले कारबाही गर्न नसक्ने उनले बताए । 

बिहारको दादु दयाल ट्रेडरको प्याकेजिङ भएको र नेपालमा जेजे एक्जीम प्रालिले आयात गर्ने मखनाको मूल्य प्रतिकिलोग्राम ५०० रुपैयाँमा बिक्री गरिरहेको छ । 

त्यस्तै, ज्ञान इन्टरप्राइजेजले आयात गर्ने मखनाको मूल्य भने ४ हजार ७ सय रुपैयाँमा बिक्री भइरहेको विभागले जनाएको छ । ज्ञान इन्टरप्राइजेजले आयात गर्ने मखना भाटभटेनी सुपर मार्केटमा बिक्री भइरहेको छ । 

विभागले बजारमा आएको उजुरीपछि भाटभटेनी सुपर मार्केट र अन्य खुद्रा डिलरहरूमा मखनाको मूल्य प्रवृत्ति हेर्न टोली खटाएको थियो । उक्त टोलीले सुपर मार्केटमा बिक्री भइरहेको मखनाको खरिद मूल्य खोजेको थियो । 

जहाँ ज्ञान इन्टरप्राइजेजबाट ३ हजार ७५० रुपैयाँ प्रतिकेजीको बिल देखिएको र जेजे एक्जीले आयात गरेको मखनाको बिल अनुसार भ्याट नजोडी प्रतिकिलोग्राम ३९५ रुपैयाँ देखिएको छ ।

तर, जेजे एक्जीले आयात गरेको अधिकतम खुद्रा बिक्री मूल्य(एमआरपी) नलगाइएकोले २ लाख ५ हजार जरिवाना र एमआरपी नलगाएसम्म कारोबारमा रोक लगाएको छ । 

अब विभागले ५०० रुपैयाँमा बिक्री भइरहेको मखना र साढे ४ हजारमा बिक्री भइरहेको मखनाको वास्तविक खरिद मूल्य खोजिरहेको छ । विभागले दुवै आयातकर्तालाई बिजक पेश गर्न निर्देशन दिएको छ । 

बजारमा देखिएको यस्तो मूल्यको फरकलाई निश्चित कानुनअनुसार कारबाही अथवा नियन्त्रणमा लिन नमिल्ने विभागका महानिर्देशक कुमार दाहालले बताए । आयातकर्ताले वास्तविक कति मूल्यमा आयात गरेको हो ? त्यसको खोजीमा विभाग रहेको उनको भनाइ छ । 

‘एउटै प्रकृतिको सामानमा यतिको फरक कसरी आयो ? यसको उत्तर खोजेका हौं । अहिले सबैभन्दा सस्तो र सबैभन्दा महँगो मखनाको बिजक पेश गर्न भनेका छौं’, दाहालले भने, ‘आयातकर्ताले वास्तविक कति मूल्यमा आयात गरेको हो ? त्यसपछि किन यति धेरै फरक छ भन्नेकुरा थाहा हुन्छ । कसले कसलाई ढाँटिरहेको छ । त्यो सबै खुल्छ । अनि कारबाही गछौं ।’

salt training

कमेन्ट गर्नुहोस्