१३ साउन २०८३, बुधबार

राष्ट्रिय आवास कम्पनीका इन्जिनियर खनालविरुद्ध विशेष अदालतमा मुद्दा

बैशाख २५, २०८२
काठमाडौं
राष्ट्रिय आवास कम्पनीका इन्जिनियर खनालविरुद्ध विशेष अदालतमा मुद्दा

राष्ट्रिय आवास कम्पनीमा करारमा कार्यरत इन्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेर ओहोदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै आयोगले इन्जिनियर सुमन खनालविरुद्ध आयोगले विशेषमा आरोपपत्र दायर गरेको हो ।

खनालले करारमा नियुक्ति लिने प्रयोजनका लागि पेस गरेको ब्याचलर अफ सिभिल इन्जिनियरिङ तह र नेपाल इन्जनियरिङ काउन्सिलको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको आयोगले जनाएको छ । 

उनले पेस गरेका कागजात नक्कली रहेको भन्‍ने उजुरीमा अनुसन्धान हुँदा निज सुमन खनालले राष्ट्रिय आवास कम्पनी लिमिटेड, पुल्चोक ललितपुरमा इन्जिनियर पदमा करारमा तथा ज्यालादारीमा नियुक्ति हुन बीई सिभिल इन्जिनियरिङ एकाडेमिक ट्रान्सक्रिप्ट, क्यारेक्टर सर्टिफिकेट, प्रोभिजनल सर्टिफिकेट, इस्टर्न कलेज अफ इन्जिनियरिङबाट जारी भएको क्यारेक्टर सर्टिफिकेट, नेपाल इन्जिनियरिङ परिषदको प्रमाण पत्र, इन्जिनिरिङको लाइसेन्स समेत नक्कली पेस गरेको भेटिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । 

‘शैक्षिक योग्यता तथा प्रमाणपत्र पेस गरी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ’, प्रवक्ता पौडेलले भनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्