
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साविक भरतपुर गाविसमा बाल संरक्षण अनुदानको रकम हिनामिना गरेको आरोपमा तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०६८/०६९ मा बालबालिकाको पोषण भत्ताबापतको कुल ३ लाख ७ हजार २ सय रुपैयाँ हिनामिना गरेको भन्दै आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बालबालिकाका लागि निकासा भएको उक्त पोषण भत्ता रकम लक्षित वर्गलाई वितरण नै नगरी सचिव कोइरीसमेतले हिनामिना गरेका हुन् ।
न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार तत्कालीन कार्यालय सहयोगी उमाकान्त महतोले आफ्नो पदीय ओहोदाको दुरुपयोग गर्दै तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी र जिल्ला विकास समितिको आन्तरिक लेखापरीक्षण शाखाका तत्कालीन सहायक लेखापाल सुरुज साहसँग प्रत्यक्ष मिलेमतो गरी नक्कली भरपाई तयार पारेका थिए ।
उनीहरूले आफैं र अन्य व्यक्तिहरूलाई औँठाछाप लगाउन लगाई कीर्ते भरपाई खडा गरेर पेस्की फर्छ्यौट गराई सरकारी रकम दुरुपयोग गरेको प्रयोगशाला परीक्षण प्रतिवेदनबाट समेत पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले कोइरी, तत्कालीन कार्यालय सहयोगी तथा हाल गौशाला नगरपालिका–४ का वडा सचिव उमाकान्त महतो र तत्कालीन जिल्ला विकास समितिका सहायक लेखापाल तथा हाल भंगाहा नगरपालिकामा कार्यरत अधिकृत सुरुज साहविरुद्ध जनही ३ लाख ७ हजार २०० रुपैयाँ बिगो कायम गरेको छ ।