३० जेठ २०८३, शनिबार

‘कर्णाली ब्लूज’का लेखक बुद्धिसागरको कथामा चलचित्र निर्माण

बैशाख २७, २०८२
काठमाडौं
‘कर्णाली ब्लूज’का लेखक बुद्धिसागरको कथामा चलचित्र निर्माण

‘कर्णाली ब्लूज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता चर्चित उपन्यासका लेखक तथा कवि बुद्धिसागरको कथामा चलचित्र निर्माण गरिएको छ । निर्देशक दीपेन्द्रकुमार खनालले उनको कथामा ‘के घर के डेरा घर नम्बर २’ चलचित्र निर्माण गरेका हुन् । 

निर्देशक खनालले केही वर्ष अगाडिदेखि बुद्धिसागरलाई चलचित्रमा कथाकारका रूपमा ल्याउन प्रयास गरेका थिए । सो प्रयासलाई सार्थकता दिँदै उनको कथामा चलचित्र निर्माण गरिएको निर्देशक खनाल बताउँछन् । 'साहित्यकारका कथालाई पर्दामा ल्याउन के–कस्ता चुनौती रहेछन् त,' भन्ने प्रश्नमा खनाल भन्छन्, 'कथाको मर्म बुझ्ने निर्देशक नपरेमा साहित्यकारको कथाले न्याय पाउँदैन । बुद्धिसगरजीले लेख्नुभएको पटकथामा हरेक जानकारीलाई सूक्ष्म तरिकाले प्रस्तुत गरिएको छ । तर, हामी निर्देशकले एउटा सीमित समय भित्र कथा भनिसक्नुपर्ने हुन्छ । त्यसकारण  कथाको मर्म प्रस्तुत हुनेगरी दृश्यमा उतार्ने खुबी निर्देशकमा हुनु जरुरी छ ।'

उनले बुद्धिसागरको पटकथालाई चलचित्रको शैलीमा रूपान्तरण गरेर चलचित्र कस्तो बन्छ भन्ने बारेमा जानकारी दिएर काम शुरू गरेको बताए । साहित्यकारले लेख्दा सामान्य कथा जस्तो सुन्दर हुन्छ, चलचित्रमा त्यस्तै सुन्दर तवरले प्रस्तुति गरिएको निर्देशक खनालको दाबी छ ।

निर्देशक खनालले यस अगाडि ‘के घर के डेरा’ निर्देशन गरेका थिए । उस्तै नाम भए पनि यसपटक कथा र परिवेश फरक रहेको उनले बताए । किनकि ‘के घर के डेरा’ लाई ‘कमेडी’ शैलीमा प्रस्तुत गरिएको थियो भने यसपटक ‘के घर के डेरा घर नम्बर २’ मा ‘इमोसनल’ शैली प्रयोग गरिएको छ । 

'मैले मनछुने चलचित्र तयार गरेजस्तो लागेको छ । किनकि यो घरबेटी, डेरावालसँगै शहरमा हुनेहरूको कथा हो । यसको सुन्दर पक्ष भनेकै चलचित्रमा रहेका पात्रहरू एक-आपसमा जोडिएका छन् । उनीहरूले काठमाडौं शहरमा देखिने हरेक वर्गलाई प्रतिनिधित्व गरेको छन् भन्ने लागेको छ,' निर्देशक खनालले भने ।

अभिनेता खगेन्द्र लामिछानेले निर्देशक खनालले झैँ पटकथाको सुन्दरता पात्रहरूको उदयसँगै अवतरण रहेको बताए । आफैं लेखक भएकाले अभिनेता लामिछाने लेखनका क्रममा आइपर्ने कठिनाइसँग जानकार हुन् ।

'पात्रलाई चलचित्रमा जसरी शुरूआत गरिन्छ, त्यसको अन्त्य धेरैलाई मन पर्ने किसिमको बनाउन निकै कठिन हुन्छ । म आफैं लेखक भएकाले यस चलचित्रमा पटकथामा आएका सम्पूर्ण पात्र अर्थपूर्ण हुनुका साथै एकआपसमा जोडिएको छ र ती यत्तिकै हराउँदैनन्,' उनले भने ।

‘पशुपति प्रसाद’जस्तो चलचित्रमा लेखकसँगै अभिनेतासमेत रहेका लामिछानेले ‘अर्गानिक’ भनेर अघोषित रूपमा बुझ्ने गरिएको ग्रामीण परिवेशसम्बन्धी बुझाइमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । नेपालका मौलिक विषय गाउँ मात्र नभई सहरकै पनि ‘अर्गानिक’ हुने उनको बुझाइ छ । 

'हामीले गाउँका कथालाई मात्र मौलिक वा ‘अर्गानिक’ भनेर शहरका कथालाई नजरअन्दाज गरिरहेका छौं । हामीले यो सोच बदल्नुपर्छ । किनकि गाउँभन्दा शहरका गरिब दयनीय हुन्छन् । उनीहरूले गाउँ जस्तो सहजै जीविकोपार्जन गर्न सक्दैनन् । त्यसकारण हामीले ‘अर्गानिक’को परिभाषालाई वृहत् बनाउनुपर्छ,' अभिनेता लामिछानेले भने । 

यस चलचित्रमा अभिनेत्री केकी अधिकारीले डेरावालको भूमिकामा छिन् । अभिनेत्री अधिकारीले चलचित्रमा अन्य पक्षको कथा पनि देख्न पाइने बताइन् । 'डेरावाल वा घरबेटीको मात्र कथा होइन । चलचित्रमा रहेका पात्रहरू कसैको आफ्नै घर छ त, कसैको डेरा छ, कोहीसँग दुवै छैन । त्यसकारण यो कथालाई घरबेटी र डेरावालमार्फत प्रस्तुत गरिए तापनि यो समग्रमा सफलताका लागि मेहनत गरिरहेका सम्पूर्णको कथा हो,' उनले भने ।

चलचित्रमा आर्यन सिग्देल, उपासनासिंह ठकुरी, निश्चल बस्नेत, प्रकाश घिमिरेलगायत कलाकारले पनि अभिनय गरेका छन् । यो चलचित्र आगामी जेठ २ गतेदेखि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्