२४ असार २०८३, बुधबार

गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा केभीडीएका सबइन्जिनियर पौड्यालविरुद्ध मुद्दा दायर

बैशाख २८, २०८२
काठमाडौं
गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा केभीडीएका सबइन्जिनियर पौड्यालविरुद्ध मुद्दा दायर

काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गत दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत सबइन्जिनियर कुमार पौड्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पौड्यालविरुद्ध ३ करोड ६३ लाख २१ हजार २०७ रूपैयाँ ५० पैसा बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै आरोपपत्र दायर गरेको हो ।

साविक भ्रष्टाचार निवारण ऐन, २०१७ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम पौड्यालले पदीय मर्यादा विपरीतका कार्य गर्दै गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा आयोगले गरेको अनुसन्धानमा त्यसको पुष्टि भएपछि आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । 

कुमारले २०५१ वैशाख ९ गतेदेखि २०८० असार ३१ गतेसम्मको अवधिमा कूल वैध आय २ करोड ५८ लाख ९७ हजार ३२४ रूपैयाँ ७५ पैसा रहेको तर, सोही अवधिमा कूल खर्च ६ करोड २२ लाख १८ हजार ५३२ रूपैयाँ २५ पैसा पुगेको देखिएको आयोगले जनाएको छ।

आयोगका अनुसार कूल वैध आय र खर्चबीच ३ करोड ६३ लाख २१ हजार २०७ रूपैयाँ ५० पैसाको अन्तर देखिएपछि उक्त रकम गैरकानूनी सम्पत्ति भएको पुष्टि प्रवक्ता पौडेलले बताएका छन् । 

आयोगले पौड्याललाई सम्बन्धित ऐन अनुसार कैद, जरिवाना र सोही रकम बराबरको सम्पत्ति जफत गर्नुपर्ने मागदाबी गरेको छ।

साथै, पौड्यालले आर्जन गरेको गैरकानूनी रकमबाट बढे बढाएको सम्पत्ति आफ्नी पत्नी विष्णु मैया पौड्यालको नाममा राखेको देखिएको हुँदा कानूनअनुसार जफतको प्रयोजनका लागि उनलाई पनि प्रतिवादी कायम गरिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्