२८ जेठ २०८३, बिहीबार
सिद्धिलक्ष्मी स्टील्सको ज्यादती : भाग–५

उद्योगी अञ्जन श्रेष्ठको बदमासी– सिद्धिलक्ष्मीमा झन्डै १५ कठ्ठा सरकारी जग्गा झ्वाम !

एउटा सरकारी कुलो पूरै गायब, थप २ वटा कुलो समेत अतिक्रमणमा
बैशाख २८, २०८२
काठमाडौं
उद्योगी अञ्जन श्रेष्ठको बदमासी– सिद्धिलक्ष्मीमा झन्डै १५ कठ्ठा सरकारी जग्गा झ्वाम !
रातो घेरामा पूरै गायब भएको, पहेँलो घेरामा अधिकांश भाग अतिक्रमित र निलोमा आंशिक अतिक्रमण र ढल मिसाइएको कुलो

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको स्वामित्वमा रहेको सिद्धिलक्ष्मी स्टील्सले राजकुलोसहित करिब १५ कट्ठा सरकारी जग्गा कब्जा गरेको खुलेको छ ।

लोकान्तर डट्कमको टीमले गरेको एक महिनाभन्दा लामो खोजले नवलपरासीको रामग्रामस्थित सिद्धिलक्ष्मीले सरकारी जग्गा, कुलो र केही निजी जग्गा हडपेर आफ्नो संरचना बनाएको पत्ता लगाएको हो ।

उद्योगले अतिक्रमण गरेका ३ कुलोमध्ये एउटा अहिले पूरै गायब छ भने उद्योगको पूर्व र पश्चिमपट्टिका २ वटा कुलो मिच्दै गएको छ । यससँगै केही स्थानीयले आफ्नो जग्गा पनि उद्योगले खाइदिएको गुनासो गरेका छन् ।

लोकान्तरलाई प्राप्त दस्तावेजअनुसार रामग्राम नगरपालिका वडा नम्बर १० को नदवा टोलस्थित ५७५, १५८९, १५९५, १५९१, १५९७, ५७३, ५७४, ५८१, ५८२, ५७२, १५९०, १५९६, ६२८, ११३१, ६२७, ६२६, १२६०, १२६१, ५७५७, १९०१, १९०२,१९००,१८९९ र ५७९ नम्बर कित्तामा सिद्धिलक्ष्मीले भवन निर्माणको इजाजत लिएको थियो ।

२०७५ सालको असोज ८ गते उद्योगले लिएको उक्त इजाजतपत्रमा मन्झरिया- ५ मा पर्ने ८२४, १२१८, १२२९, १२३२,  १२३८, १२४०, १२५०, १२४७, १२४१, १२४५, १२३९, १२४९, १२४४, १२४३, १२४८, १२१९, १२५१, २२,१२३७, १२४६, ६, १२३६, १२४२, ७७६, ७७५, ७८०, ७८१,  ७८२ र ७८३ कित्तासमेत तोकिएको छ ।

भवन निर्माणको स्थायी इजाजत पत्र

स्वीकृत नक्सामा स्पष्ट देखिएका तीनवटा कुलोमध्ये बीचको पूरै गायब छ भने पूर्वको कुलो आंशिक रूपमा मात्र देखिन्छ । पश्चिमको कुलो पनि अतिक्रमणमा छ ।

उक्त इजाजत पत्रमा जम्मा ५३ कित्तामा फैलिएको फ्याक्ट्रीको बीचमा रहेको एउटा कुलो प्रस्ट देख्न सकिन्छ । लोकान्तरकर्मीले गरेको स्थलगत अवलोकनमा उक्त कुलो गायब छ ।

पास भएको नक्सामा कुलोको लगभग २२० मिटर खण्डलाई अलग्गै देखाइएको र त्यसको पश्चिमपट्टि सोही कुलोको समानान्तरजस्तो देखिने गरी करिब १७० मिटरको एउटा भवन निर्माणको इजाजत दिइएको छ ।

तर, सोही भवनसँग जोडिने गरेर दक्षिणपट्टि अर्को एउटा ठूलो भवन पनि विना इजाजत खडा गरिएको स्थलगत अवलोकन र गुगल म्यापमा समेत देखिन्छ ।

स्थलगत हेर्दा उक्त कुलोको नामोनिसान कहीँ देखिन्न । लोकान्तरसँग कुरा गर्दै स्थानीयले सोही कुलो प्रयोग गरेर आफ्नो खेतमा सिँचाई गरेको तर अहिले त्यसको अस्तित्व नै मेटिएको बताउने गरेका छन् ।

रामग्राम नगरपालिकाले दिएको स्थायी इजाजतपत्रमा भनिएको छ, 'जम्मा ५३ कित्तामा नक्सा बमोजिम नक्सा पास प्रक्रिया भइरहेको हुँदा नियम कानूनको पालना गर्ने शर्तहरूको अधीनमा रही स्वीकृत नक्साबमोजिम निर्माण कार्य गर्न यो भवन निर्माण स्थायी इजाजत पत्र प्रदान गरिएको छ ।'

तर, नियम कानूनको पालना नगरी नयाँ भवन खडा गरेको र बीचको कुलो नै गायब बनाएको विषयमा स्थानीय तहले खासै चासो दिएको छैन ।

गूगल म्यापबाट लिइएको तस्वीर:

गुगल म्यापमा माथि उल्लेख गरिएको कुलो बग्ने ठाउँमा गाडीहरू लहरै मिलाएर राखिएको देखिन्छ । त्यस्तै, स्वीकृत भवनको दक्षिणमा बनाइएको वर्गाकार संरचना इजाजतविना नै खडा गरिएको छ ।

लोकान्तरले ड्रोनबाट लिएको तस्वीर

२०७९ को कात्तिक १८ गते नापी कार्यालयले जारी गरेको नक्साअनुसार उक्त कुलोको दायाँपट्टि (पूर्वी भागमा) ५६६, ११३१, ११३२, ५७२, ५७५ ५७९, ६२७, ६२६, ५८१, ५८५, ५८६, ५९४ नम्बरका कित्ताहरू छन्, जुन सिद्धिलक्ष्मीकै स्वामित्वमा छन् । (कतिपय कित्ता २०७५ सालमा इजाजत पत्र लिएपछि समायोजन गरिएका देखिन्छन्)

त्यस्तै, पश्चिमपट्टि १४३१, ६४१, ५६७, १५९१, १५९० लगायत अन्य धेरै कित्ताहरू छन् । नक्सामा उक्त कुलोको कित्ता नम्बर शून्य (०) देखाइएको छ ।

दायाँ–बायाँ रहेका २ कुलो पनि अतिक्रमणको चपेटामा 

लोकान्तरले लिएको ड्रोन फुटेजमा देब्रेपट्टि सिद्धिलक्ष्मीको गेट रहेको छ । उक्त गेट पनि नक्सा पासमा देखाइएको छैन । गेटबाट छिरेपछि देखिने स-साना संरचना पनि इजाजतपत्रमा छैन ।

उक्त गेटको देब्रेपट्टि (पूर्वी भाग)मा पनि एउटा कुलो रहेको छ । उक्त कुलोको करिब २५० मिटर खण्डमा पनि फ्याक्ट्रीले अतिक्रमण गरेको छ ।

स्वीकृत नक्सामा स्पष्टसँग देखाइएको कुलो, स्थलगत अवलोकनमा देखिन्न । स्थानीय बालकुमार साहनीले उक्त कुलो कम्पाउन्डबाहिर रहेको भएपनि कम्पाउन्ड बनाउँदा अतिक्रमण गरेर मेटिएको बताए ।

'यो कुलोको धेरै भाग फ्याक्ट्रीले मिचिसकेको छ । फ्याक्ट्री नआउँदा यही कुलोबाट हामीले टन्न सिँचाई गर्थ्यौं, अहिले हेर्नुस् त, खै कहाँ छ कुलो ? सब मिचेर खाइसक्यो ।'

त्यस्तै, स्टील फ्याक्ट्रीको संरचना जोडिएको पश्चिमपट्टिको खोला पनि अतिक्रमणको चपेटामा परेको छ । स्वीकृत नक्सामा लगभग सिधा देखिएको उक्त खोला (अहिले कुलोको आकारभन्दा पनि सानो देखिएको) स्थलगत अवलोकनमा जाँदा ठाउँ–ठाउँमा फ्याक्ट्रीले मिचेको देखिन्छ ।

त्यो खोला त्यहाँबाट बग्दै नन्दन तालसम्म पुग्छ । स्थानीयहरूले छठलगायत अन्य चाडपर्वमा नन्दन तालमा गएर पूजाआजा गर्छन् । गत साल छठकै दिन सिद्धिलक्ष्मीले सोही खोलामा लाखौं लिटर उद्योगको रसायन र ढल छाडिदिएको थियो ।

यसबारे लोकान्तरले गत वैशाख ११ गते 'स्थानीयको स्वास्थ्यसँगै आस्थामाथि पनि प्रहार– छठको बिहानै तालमा भरिदिएको थियो ढल र रसायन' शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

सिद्धिलक्ष्मीको पश्चिम हुँदै बग्ने उक्त खोलाको लगभग २५० मिटर खण्ड ठाउँ–ठाउँमा उद्योगले मिचेको छ ।

स्थानीयहरूले यसबारे पटक-पटक ध्यानाकर्षण गराउँदा पनि न त उद्योगले टेरेको छ, न त स्थानीय पालिकाले नै खोला अतिक्रमण हुनबाट रोक्न सकेका छन् ।

स्थानीयहरूले पैसा र शक्तिको प्रभावमा पारेर सरकार र प्रशासनलाई चुप गराएको आरोप अञ्जन श्रेष्ठमाथि लगाउने गरेका छन् ।

स्थानीय रामकिसुन केवटले लोकान्तरसँग भने, 'पैसा फाल्दिन्छ, अनि सबै चुप हुन्छन् । हामीमाथि परेको पीडा र मर्का कसैले बुझेका छैनन् ।'​

रातो घेरामा पूरै गायब भएको, पहेँलो घेरामा अधिकांश भाग अतिक्रमित र निलोमा आंशिक अतिक्रमण र ढल मिसाइएको कुलो

ड्रोनबाट खिचिएको तिनीहरूको अहिलेको अवस्था:

फ्याक्ट्रीको बीचबाट बग्ने कुलो सबै सिद्धिलक्ष्मीले कब्जा गरेको छ भने दायाँ र बायाँ दुई खोलामाथि अतिक्रमण जारी छ । नापी कार्यालय परासीका अनुसार बीचको कुलोको क्षेत्रफल करिब ५ कट्ठा रहेको छ ।

पूर्वको कुलोको अधिकांश भाग (करिब ४ कट्ठा)माथि अवैधानिक हिसाबले उद्योगले अतिक्रमण गरेको छ भने पश्चिममा रहेको खोलाको पनि ४/५ कट्ठा अतिक्रमणको चपेटामा परेको छ ।

यसबारे स्थानीयले दबाब दिन थालेपछि २०७९ को कात्तिक २५ गते नगरपालिकाकी उपप्रमुख सम्झना चौधरी, इन्जिनियर सतिशकुमार गुप्ता, मेलमिलाप संयोजक रामजी साहनी, स्थानीय रन्जना अधिकारी, राजेन्द्रकुमार, मनोज अधिकारी, यमबहादुर मल्ल र सिद्धिलक्ष्मीका तर्फबाट लक्षणबहादुर श्रेष्ठ र अजय बुढाथोकीसमेतको सहभागितामा बैठक बसेको थियो ।

उक्त बैठकले स्थानीय सरकार सञ्चालन ऐन- २०७४ को दफा ११ बमोजिम अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने काम, कर्तव्य नगरपालिकाको रहेको र मुलुकी देवानीसंहिताको दफा ३०४ को उपदफा २ अन्तर्गत जिल्ला प्रशासन कार्यालयको समेत अधिकार क्षेत्रमा पर्ने भएकाले कानूनबमोजिम छानबिन अघि बढाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

लोकान्तरलाई प्राप्त माइनुटको कपी
तर, सिद्धिलक्ष्मीको दबाबमा उक्त बैठकको माइनुट गायब बनाइयो । त्यसपछि छानबिन रोकियो । स्थानीय थप आक्रोशित बने ।

त्यसपछि तीनवटै कुलो र खोला मिचिएको भन्दै स्थानीय रन्जना अधिकारीले वडा नम्बर १० मा स्वीकृत नक्साविपरित सार्वजनिक कुलो अतिक्रमण गरी संरचना निर्माण गरेको भनेर २०७९ को मंसिर ११ गते वडा कार्यालयमा उजुरी दिइन् ।

'सिद्धिलक्ष्मीले गैरकानूनी हिसाबले संरचना निर्माण गरेको र राज्यको प्राकृतिक संरचनाहरू ध्वस्त बनाएको देखिन्छ । त्यस्तै, कृषि गर्ने जनासमुदायहरूलाई आत्मबल दिनुको बदला हतोत्साह गराई कृषि क्षेत्रमा समेत अवरोध पर्न आएको र वर्षायाममा आउने भेल बाढीबाट सम्बन्धित ग्रामीणहरूलाई पर्ने असर मध्यनजर राखी कारबाही गर्न हार्दिक अनुरोध गर्दछु,' उजुरीमा भनिएको छ ।

वडामा दिएको उजुरी

उजुरीसँगै उनले भवन निर्माणका लागि उद्योगले पाएको स्वीकृति, नक्सा र कुलोमाथि बनेको संरचनाको फोटोहरू पेश गरेकी थिइन् । उजुरीसँगै उनले करिब १५ कट्ठाभन्दा बढी जग्गा उद्योगले मिचेको दाबीसमेत गरेकी थिइन् ।

उजुरी परेको २ दिनपछि वडा कार्यालयले रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै छानबिनका लागि अनुरोध गर्‍यो ।

वडाले लेखेको पत्र

छानबिन प्रक्रियामा सिद्धिलक्ष्मीको असहयोग

पत्र पाएपछि नगरपालिकाले सम्बन्धित सरोकारवालालाई पत्र लेखेर बोलाएको थियो । तर, सिद्धिलक्ष्मीका कोही पनि प्रतिनिधि उपस्थित भएनन् । नगरपालिकाले गर्ने भनेको छानबिनलाई सिद्धिलक्ष्मीले बहिष्कार गर्‍यो । छानबिन प्रक्रिया अघि बढ्न सकेन ।

रन्जनाले छानबिन प्रक्रिया कहाँ पुग्यो भनी नगरपालिकासँग जानकारी मागिन् ।

२०८० को जेठ २ गते नगरपालिकाले एक पत्र लेख्दै भन्यो, 'सिद्धिलक्ष्मी स्टीलको प्रबन्धकलाई मिति २०७९/१०/२७ गतेका दिन उपस्थित हुनका लागि इमेलमार्फत पत्राचार गरिएको र उक्त प्रालिले पत्र प्राप्त गरेता पनि तोकिएको समयमा प्रबन्धक तथा कुनै पनि प्रतिनिधि उपस्थित नभएको र सिद्धिलक्ष्मीले कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको जानकारी पत्रमार्फत गराएको व्यहोरा अनुरोध छ ।'

सिद्धिलक्ष्मीको अटेरी

स्थानीयका गुनासाहरूलाई नजरअन्दाज गर्दै आएको सिद्धिलक्ष्मीले छलफलमा उपस्थित हुन नगरपालिकाले गरेको आग्रह लत्याएको यो पहिलोपटक होइन ।

त्यसअघि र त्यसपछि पनि धेरैपटक उपस्थितिका लागि आग्रह गरिएको तर नमानेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । 

...अनि छानबिनबाट स्थानीय तह पछि हट्यो

स्रोतका अनुसार त्यसपछि नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई उद्योगका कर्मचारीले छुट्टाछुट्टै भेट गर्न थाले ।

अनि, कुलो मिचिएको र नक्सा पास नगरी संरचना बनाएको विषयमाथि कुरा नउठाउने अघोषित सहमति भएको कतिपय स्थानीयहरूको दाबी छ ।

यसबारे लोकान्तरसँग कुरा गर्दै रन्जना अधिकारीले भनिन्, 'सरकारी जग्गा अतिक्रमणको विषयमा जति उजुरी गरेपनि रामग्राम नगरपालिका छानबिन गर्न तयार भएन । मैले औपचारिक रूपमा लिखित उजुरीहरू धेरै दिएँ । जनप्रतिनिधिलाई पनि व्यक्तिगतरूपमा भेटेर सिद्धिलक्ष्मीको ज्यादतीबारे छानबिन गर्न आग्रह गरें । तर, कसैले पनि वास्ता गरेनन् ।'

यसबारे लोकान्तरले रामग्राम नगरपालिकाका मेयर धनपत यादवलाई सिद्धिलक्ष्मीले गरेको ज्यादतीबारे छानबिन गर्न किन तयार हुनुभएन भनेर सोधेका थियौं ।

मेयर यादवले आफू निर्वाचित भएर आउनुभन्दा अगाडिकै विषय भएकाले आफूलाई थाहा नभएको प्रस्टीकरण दिए ।

'यसबारे अदालतमा पनि मुद्दा चलिरहेको छ भन्ने जानकारी आएको छ, त्यसैले अदालतमा विचाराधीन मुद्दामा छलफल गर्नु पनि भएन । अन्य कुरा खासै थाहा छैन,' मेयर यादवले भने ।

वडा नम्बर १० का वडाअध्यक्ष सुरेश यादव पनि यो विषयमा तर्किए । लोकान्तरले फोन गर्दा उनले आफू व्यस्त रहेको जवाफ दिए ।

'म व्यस्त छु, एकछिनपछि फोन गर्छु,' यति भनेर उनले फोन काटिहाले । त्यसपछि न उनको कल आयो, न यताबाट गएको कलको कुनै जवाफ ।

उद्योगको गेट भन्दा पूर्वपट्टि रहेको कुलो (जुन रामग्राम वडा नम्बर ६ मा पर्छ)लाई अतिक्रमण हुनबाट जोगाउने प्रयास भइरहेको वडाअध्यक्ष विद्यासागर त्रिपाठीको भनाइ छ ।

'हाम्रो वडामा पर्ने कुलो अतिक्रमण हुन थालेको थियो । हामीले त्यसविरुद्ध निरन्तर प्रयास गरिरहेका छौं,' त्रिपाठीले लोकान्तरसँग भने ।

उनले कम्पाउन्डभित्र बनेका संरचनाहरू पनि नगरपालिकाबाट स्वीकृत नभएको बताए । '३/४ महिनाअघि मात्र ती संरचना स्वीकृतिका लागि निवेदन दिएको जस्तो मलाई लाग्छ । तर, संरचनाहरू त्यसअघि नै बनिसकेका थिए,' त्रिपाठीले भने ।

स्थानीय तह निकम्मा बनेपछि जिल्ला प्रशासनमा उजुरी

स्थानीय तहबाट कुनै छानबिन प्रक्रिया शुरू नगरिएपछि रन्जना अधिकारी जिल्ला प्रशासन कार्यालय पुगिन् ।

२०८० को जेठ १२ गते उनले जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक सम्पत्ति संरक्षण र मिचिएको कुलो एकिन गरी त्यहाँ बनाइएको संरचना भत्काई कारबाही गरिपाउँ भन्दै उजुरी गरिन् ।

उक्त उजुरीमा स्थानीय तहका प्रतिनिधिहरूलाई सिद्धिलक्ष्मीले प्रभावमा राखेका कारणले छानबिन हुन नसकेको जिकिर गरिन् ।

'१० नम्बर वडा कार्यालयमा उजुरी गर्दा आफूले सबैलाई मिलाएको र कसैले केही गर्न नसक्ने र कुलोसँग जोडिएको स्थानीयको जग्गासमेत बेच्नुपर्ने बाध्यता सिर्जना गर्ने धम्की आयो ।'

nullजिल्ला प्रशासनलाई दिएको उजुरी
 

उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले नापी कार्यालयलाई मिचिएको जग्गा नापेर प्रतिवेदन पेश गर्न आग्रह गर्दै २०८० मंसिर २९ गते पत्र लेख्यो ।

अनि नापी कार्यालयले सर्वेक्षक कृष्णप्रसाद वाग्ले र अमिन सुनिलकुमार चौधरीलाई त्यहाँ मिचिएको जग्गा रेखांकन गर्न खटायो ।

उक्त पत्रमा भनिएको छ, 'साविक सुक्रौली र मञ्झरिया, हाल रामग्राम नपा वडा नम्बर १० अन्तर्गत पर्ने सिद्धिलक्ष्मी स्टील्स उद्योग वरिपरि भित्र पर्ने सार्वजनिक कुलोहरूको जग्गाको रेखांकन गर्न तपाईंहरूलाई खटाइ पठाइएको व्यहोरा जानकारी गराइन्छ ।'

पत्रमा जिल्ला प्रहरी कार्यालयलाई सहयोगको आग्रहसहित बोधार्थ दिइएको छ भने रामग्राम नगरपालिकालाई आवश्यक प्रतिनिधि खटाइदिन आग्रह गरिएको छ । साथै, सिद्धिलक्ष्मी उद्योगलाई आवश्यक समन्वय गरी सहयोग गर्नसमेत आग्रह गरिएको छ । 

नापी कार्यालयले सर्वेक्षक खटाएको पत्र

गोप्य राखिएको गोलमटोल प्रतिवेदन

तर, त्यसरी नापी कार्यालयबाट खटिएर गएको टोलीलाई सिद्धिलक्ष्मीले कुनै समन्वय र सहयोग गरेन । बरू मागिएको जानकारी पनि नदिने, दिएपनि गलत जानकारी दिने गर्न थाल्यो । जेनतेन गरेर वाग्ले र चौधरीले करिब ५ कट्ठा जग्गा मिचिएको भन्दै प्रतिवेदन पेश गरे ।

यद्यपि, कतिपय स्थानीयले नापीका लागि गएको टोली नै सिद्धिलक्ष्मीको प्रभावमा परेर सही प्रतिवेदन तयार पार्न नसकेको बताएका छन् । उनीहरूले मिचिएको जग्गा यकिन गरेर त्यसलाई प्रतिवेदनमा उल्लेख गरेनन्, 'करिब ५ कट्ठा' मात्र भनेर टारिदिए ।

लोकान्तरले सर्वेक्षक वाग्लेलाई यसबारे सोधेको थियो । वाग्लेले भने, 'हामी त्यतिबेला कुलोको रेखांकनका लागि गएका थियौं । त्यहाँ बीचमा गायब भएको कुलोबारे हामीले प्रतिवेदन बनाएर बुझायौं । त्यो मसँग छैन, नापी विभागमा होला । त्यतिबेला कस्तो प्रतिवेदन बनेको थियो, अहिले मलाई ठ्याक्कै थाहा छैन ।'

त्यसपछि लोकान्तरकर्मीले नापी विभागका प्रमुख नापी अधिकृत कैलाशनाथ पाण्डेलाई प्रतिवेदनबारे प्रश्न गरे । उनले प्रतिवेदनको ओरिजिनल कपी जिल्ला प्रशासन कार्यालय पठाइसकिएको जानकारी दिए ।

अनि हामीले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीसँग सम्पर्क गरेर प्रतिवेदनबारे जानकारी माग्यौं ।  

भण्डारीले लोकान्तरसँग भने, '२०८० को चैतमा नापी कार्यालयले हामीलाई प्रतिवेदन बुझाएको अभिलेखबाट देखिन्छ । उक्त प्रतिवेदनमा करिब ५ कट्ठा मिचिएको भन्ने उल्लेख छ ।'

नापीको प्रतिवेदन आएपछि जिल्ला प्रशासन कार्यालयले सिद्धिलक्ष्मी स्टील्सलाई पत्र लेखेर ७ दिनभित्र कुलो मिचिएकोबारे जानकारी दिन पत्र लेखेको भण्डारीले बताए ।

'हामीले बयानका लागि पनि उहाँहरूलाई बोलाएका थियौं,' भण्डारीले भने, 'उद्योगका केही प्रतिनिधि आएका थिए । उनीहरूले २ वर्षभित्र कुलो व्यवस्थापन गर्ने कागज गरिदिए ।'

यसबारे जिल्ला प्रशासन कार्यालय नवलपरासीले २०८१ सालको साउन २७ गते उजुरीकर्ता रन्जना अधिकारीलाई पत्र लेख्दै भनेको छ, 'तपाईंको उजुरीको सम्बन्धमा सम्बन्धित क्षेत्रमा स्थलगत अनुसन्धान गर्ने तथा सम्बन्धित पक्षहरूसँग बुझ्ने कार्य सम्पन्न भएको र उक्त उद्योगका वरिष्ठ प्रबन्धक लक्षणबहादुर श्रेष्ठले उद्योग सञ्चालक र अन्य पदाधिकारीसँग समन्वय गरी अतिक्रमण भएको विषयमा २ वर्षभित्र व्यवस्थापन गर्ने भनी यस कार्यालयमा कागज गरेको साथै थप अनुसन्धानको प्रक्रिया जारी रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।'

जिल्ला प्रशासनले उजुरीकर्तालाई दिएको जानकारी

सहायक सीडीओ भण्डारीले उद्योगले कुलो बराबरको जग्गा अन्त व्यवस्थापन कसरी गरिरहेको छ भनेर पटक-पटक सोध्दा उताबाट जवाफ नआएको बताए ।

'२०/२२ दिनअघि पनि हामीले पत्र लेखेर उद्योगलाई ताकेता गरेका थियौं, उताबाट जवाफ आएको छैन,' भण्डारीले लोकान्तरसँग भने ।

के भन्छन् कम्पनीका प्रतिनिधि ?

उद्योगको मुख्य स्वामित्व उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष रहेका अञ्जन श्रेष्ठसँग रहेकाले लोकान्तर टीमले पटक-पटक उनीसँग फोनमा कुरा गर्ने प्रयास गर्‍यो । उनलाई कुराकानीको विषय खुलाएर म्यासेज गर्दा पनि त्यसको जवाफ पठाएनन् ।

अञ्जनका भाइ निराकारले पनि फोन कलको कुनै रेस्पोन्स नगरेपछि हामीले वरिष्ठ प्रबन्धक लक्षण श्रेष्ठलाई कुलो मिचिएकोबारे सोधेका थियौं । लक्षणले त्यहाँ उद्योग स्थापनाका लागि सबै जग्गा व्यवस्थापन गरेका थिए । स्थानीय सरकार र सरोकारवालाबीचको छलफलमा पनि कहिलेकाहीँ लक्षण नै जाने गर्दथे । 

लक्षणले लोकान्तरसँग भने, 'नक्सा बनाउँदा कहीँ कतै छोयो होला । कतै छोएन होला, ठो ठूलो कुरा होइन, मैले जग्गाको व्यवस्थापन गरेको हुँ । पहिला कृषिका लागि प्रयोग गरिएको कुलो उद्योग बनेपछि प्रयोगमा आउने कुरा भएन । स्थानीयसँग त्यसको साटो अन्त जग्गा मिलाउने कुरा भएको थियो । त्यो पनि कसैलाई चाहिन्छ भने दिन्छौं भनेका हौं । बाँकी भवन निर्माण र संरचनाबारे मलाई त्यति जानकारी छैन ।'

सिद्धि लक्ष्मीको ज्यादतीको शृंखला

अञ्जन श्रेष्ठले सिद्धिलक्ष्मी स्टील्समार्फत स्थानीयमाथि गरेको ज्यादती यतिमा मात्र सीमित छैन । लोकान्तरले यसअघि सिद्धिलक्ष्मीले लाइसेन्स नभएका कर्मचारीलाई चलाउन दिएको मोटरसाइकलले ठक्कर दिएर स्थानीय राजु विकको मृत्यु भएको समाचार स्टोरी प्रकाशित गरेको थियो ।

पढ्नुहोस् स्टोरी- पैसाको बलमा अञ्जन श्रेष्ठको उद्योगले दबाएको दर्दनाक घटना,ज्यानै लिँदा पनि प्रशासन लाचार !

लाइसेन्सविना नै मोटरसाइकल चलाएर राजुको ज्यान लिने सिद्धिलक्ष्मीका इन्जिनियर धर्मेन्द्रकुमार गुप्तामाथि न कुनै कारवाही भयो, न त उनलाई मोटरसाइकल चलाउन दिने कम्पनीमाथि छानबिन नै ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ अनुसार लाइसेन्सविनै सवारी चलाउने चालक मात्र होइन, कम्पनी (कानूनविदका अनुसार मालिक) समेत कैद सजायको भागीदार हुन्छ । उक्त कम्पनीका मालिक अञ्जन स्वयं हुन् । पैसा र शक्तिको आडमा उनी सजायबाट उम्किरहेका छन् ।

त्यस्तै, सिद्धिलक्ष्मीले त्यहाँ काम गर्ने मजदुरहरू माथिसमेत हदैसम्मको अमानवीय व्यवहार गर्दै आएको छ ।

काम गर्दा गर्दै हातका औंला काटिएका मजदुर अंगदप्रसाद हजामलाई विनाकुनै क्षतिपूर्ति कम्पनीबाट निकालिएको समाचार स्टोरी पनि लोकान्तरले प्रकाशित गरेको थियो ।

पढ्नुहोस् स्टोरी - एफएनसीसीआईका भावी अध्यक्षको उद्योगले बिचल्ली पारेको एक मजदुर परिवारको दर्दनाक कथा [भिडियो स्टोरी]

समाचार संकलन गर्न लोकान्तर टीम फिल्डमै गएर अंगद र उनको परिवारसँग कुरा गरेको थाहा पाएपछि सिद्धिलक्ष्मीले त्यहाँ खाना पकाउने काम गरिरहेकी उनकी श्रीमती अनितादेवीलाई पनि कामबाट निकाल्यो ।

यद्यपि मानवअधिकार आयोग र अन्य सरोकारवाला निकायहरूले त्यसबारे चासो व्यक्त गर्न थालेपछि भने अनितादेवीलाई पुनः काममा फर्काइएको छ ।

गत वर्षको छठपर्वमा स्थानीयहरूले पूजा गर्ने नन्दन तालमा बिहानै सिद्धिलक्ष्मीले ढल तथा रसायन खोलेर सांस्कृतिक आस्थामा समेत प्रहार गरेको समाचार स्टोरी लोकान्तरले प्रकाशित गरेको थियो ।

पढ्नुहोस स्टोरी -

स्थानीयको स्वास्थ्यसँगै आस्थामाथि पनि प्रहारछठको बिहानै तालमा भरिदिएको थियो ढल र रसायन [भिडियोसहित]

सिद्धिलक्ष्मी स्टील्सको लापरवाहीले खोलामा बग्न थाल्यो रसायन, स्थानीयको उठीबास [भिडियो स्टोरी]
 

salt training

कमेन्ट गर्नुहोस्