२३ असार २०८३, मंगलबार

हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बैशाख ३०, २०८२
काठमाडौं
हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय, बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह कानूसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार जिल्ला हुलाक कार्यालय, बाराका नासु हाल कार्यालय प्रमुखसमेत रहेका बलीरामप्रसाद कुर्मीले २०६० सालदेखि नै बचत बैंकको जिम्मा लिँदै आएको तथा बचतकर्ताको बचत रकम कुनै अभिलेख नराखी आफूखुसी अपचलन गरेको भनी जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

अनुसन्धानका क्रममा तत्कालीन नासु बलीरामप्रसाद कुर्मीले जिल्ला हुलाक कार्यालय, बारामा बचत बैंक हेर्ने जिम्मेवारी सम्हाल्दा सेवाग्राहीबाट संकलित रकम ५ करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ ३३ पैसा हिनामिना गरेको खुलेको आयोगले जनाएको छ ।

उनले बचतकर्ताको निक्षेप रकम पासबुक र लेजर बुकमा मात्र उल्लेख गरी नगदी रजिस्टर र अन्य आधिकारिक अभिलेखमा नचढाइ तथा बैंकमा दाखिला नगरी दुरुपयोग गरेको आयोगको दाबी छ ।

उनले तत्कालीन कार्यालय प्रमुखहरूसँग मिलेमतो गरी रकम अपचलन तथा बाँडफाँट गरेको पनि देखिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी कार्यालय प्रमुखका रूपमा कार्यरत जयलालप्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साहलेसमेत उक्त रकमको प्रविष्टि, लेखा जोखा र प्रमाणीकरण नगरी लापरबाही गरेको पाइएको छ।

अख्तियारले प्रतिवादीहरूलाई कैद, जरिवाना र ५ करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ ३३ पैसा असुल उपरको मागदाबी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्