
सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु आर्यालपछिको उत्तराधिकारी छान्न सकस परेको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमले गत वैशाख २ गते अवकाश पाएसँगै रिक्त पदमा बढुवा हुन तँछाडमछाड शुरू भएको छ ।
रिक्त एक पदका लागि अहिले ८ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू प्रतिस्पर्धी छन् ।
एआईजी बढुवा समितिको अध्यक्ष गृहसचिव रहने व्यवस्था छ । गत वैशाख १४ गते बढुवा समितिले ७ दिनको सूचना प्रकाशन गर्दै आवेदन आह्वान गरेको थियो । ८ जना डीआईजीले आवेदन भरेका छन् ।
दरखास्त फारम बुझाउनेमा डीआईजीहरू कमल गिरी, गणेश ठाडा, शम्भु सुवेदी, कुलबहादुर नेम्वाङ, लक्ष्मण सिंह, प्रदीपकुमार पाल, सुरेश श्रेष्ठ र अञ्जनीकुमार पोखरेल छन् । यीमध्ये श्रेष्ठ र पोखरेल सशस्त्र प्रहरी स्थापना भएपछि भर्ना भएको पहिलो टोली (सिसम– १) का सिनियर अधिकृत हुन् ।
यीनैमध्येबाट एक जनालाई एआईजीमा बढुवा गर्नुपर्ने दबाब सरकारलाई छ ।
‘एउटा मात्रै पद खाली छ, ८ जना प्रतिस्पर्धी छन्,’ बढुवा समितिका एक सदस्यले लोकान्तरसँग भने, ‘कसलाई बढुवा गर्ने भन्ने निर्णयमा पुग्न त्यति सजिलो छैन ।’
बहालवाला आईजीपी अर्यालको अवकाशपछि एआईजीद्वय नारायणदत्त पौडेल वा वंशी दाहालमध्ये एक जना आईजीपी बन्नेछन् । त्यसपछि अब एआईजीमा बढुवा भएका व्यक्ति नै आईजीपी बन्नेछन् ।
ती सदस्यका अनुसार संघीय संसद्मा छलफलकै क्रममा रहेको सशस्त्र प्रहरी विधेयकले ऐनको रूप नलिई अहिलेकै अवस्था रहेमा जो डीआईजी एआईजीमा बढुवा हुन्छ, उसैले आईजीपी अर्यालपछिको दोस्रो कार्यकाल सशस्त्र प्रहरीको नेतृत्व गर्नेछ । नेतृत्वमा कसलाई ल्याउने भन्ने खिचातानीकै कारण बढुवा पेचिलो बनेको ती सदस्य बताउँछन् ।
सशस्त्र प्रहरी मुख्यालयका अनुसार डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, शम्भु सुवेदी र कुलबहादुर नेम्वाङ प्रतिस्पर्धामा अगाडि छन् ।
गत वर्ष पुस २३ मा बसेको मन्त्रिपरिषद् बैठकले यी चारैजनाको म्याद थपेको थियो । चार जनाले आफूलाई एआईजीमा बढुवा गरिदिन सरकार र राजनीतिक दलका शीर्ष नेतासँग छुट्टाछुट्टै ‘लबिइङ’ गरिरहेका छन् ।
मुख्यालयका अनुसार चालु ऐनकै व्यवस्था रहिरहे अब नेतृत्वमा पुग्नेले कम्तीमा २ वर्ष संगठन हाँक्न पाउँछन् । वर्तमान आईजीपी अर्यालको कार्यकाल २०८३ वैशाख १८ गतेसम्मको छ ।
यी चार जनापछि लक्ष्मण सिंह र प्रदीपकुमार पाल पनि प्रतिस्पधार्मा छन् । तर, उनीहरू गिरी, ठाडा मगर, सुवेदी र नेम्वाङभन्दा झण्डै डेढ वर्षपछि डीआईजीमा बढुवा भएका थिए ।
डीआईजी सिंह र पालभन्दा पछि डीआईजीमा बढुवा भएका पोखरेल र श्रेष्ठले पनि आफूलाई बढुवाका प्रतिस्पर्धीको रूपमा राख्दै आवेदन भरेका छन् ।
प्रतिस्पर्धीमध्ये डीआईजी गिरी र ठाडामगर बीचमा कडा प्रतिस्पर्धा देखिएको छ । प्रतिस्पर्धीहरूमध्ये यी दुईको राजनीतिक ‘नेक्सस’ पनि बलियो छ ।
‘अहिलेसम्मको दौडधुप हेर्दा गिरी र ठाडामगरमध्ये एकजनाले बाजी मार्ने देखिन्छ,’ गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरसँग भने, ‘२०८४ को चुनावलाई समेत हेरेर निर्णय लिइयो भने यी दुईबाहेक अरूको विकल्प देखिँदैन ।’
गृहसचिव गोकर्णमणि दुवाडीले सशस्त्रको एआईजी बढुवा प्रक्रियामा रहेको बताए । उनले भने, ‘प्रतिस्पर्धीहरूले आवेदन भरेका छन्, हामी छलफलमै छौं, बढुवा समितिको बैठक बसेर छिट्टै टुंग्याउँछौं ।’