
कुनै बेला अर्थमन्त्री भनेकै डा. रामशरण महत हुन् भन्ने भाष्य बने पनि बजेट निर्माणको चटारोबीच उनको नाम बिर्सिन थालिएको केही वर्ष भइसकेको छ ।
केही दिन अगाडि अर्थमन्त्री विष्णु पौडेलले २०८२/०८३ को बजेटबारे सात जना पूर्व अर्थमन्त्रीहरूसँग छलफल गरे । तर, यो छलफलमा ६ पटक अर्थमन्त्री भइसकेका महत उपस्थित भएनन् । कांग्रेसबाट ६ पटक अर्थमन्त्री भएका डा. महत उपस्थित हुन चाहन्थे । तर, आउन सकेनन् । २०४६ सालको परिवर्तनपछि देशलाई खुला र उदार अर्थतन्त्रको युगमा प्रवेश गराउन प्रमुख भूमिका खेलेका उनी सक्रिय राजनीतिबाट गुमनाम भएको केही वर्ष बितिसकेको छ ।
तीन/चार वर्ष अगाडिसम्म महत सार्वजनिक कार्यक्रममा पनि निस्कन्थे । मुलुकको अर्थतन्त्र, राजनीति, सरकारको नीति कार्यक्रमदेखि बजेटमा केन्द्रित रहेर भाषण गर्थे । छलफलमा सहभागी हुन्थे । तर, आर्थिक अनुशासनमा जोड दिने उनै महत आफू भने एउटा गम्भीर स्वास्थ्य समस्याले पीडित छन् ।
उनी कांग्रेसका सिनियरमध्येका नेता हुन् । केन्द्रीय समितिमा उनको २२ औं वरीयता छ । तर, स्वास्थ्यकै कारण उनी पार्टी बैठकमा आउन छाडेको पनि लामै समय भइसकेको छ । अब उनलाई सक्रिय राजनीतिमा आउन र पुरानै लयमा फर्किन कठिन देखिएको छ ।
कांग्रेस नुवाकोटका सभापति एवं उनका भतिजा रमेश महत पछिल्लो केही वर्षयता स्वास्थ्य समस्याले महत सक्रिय राजनीतिबाट टाढै रहेको बताउँछन् ।
‘उहाँ सक्रिय राजनीतिमा हुनुहुन्न । रेगुलर काममा पनि हुनुहुन्न । सामाजिक क्रियाकलापमा पनि सक्रिय हुनुहुन्न,’ महतले लोकान्तरसँग भने, ‘स्मरण शक्ति कम हुँदै जाने, नचिन्ने, बिर्सिने (अल्जाइमर जसलाई डिमेन्सिया पनि भनिन्छ) को समस्या छ ।’
महतलाई यस्तो हुन थालेको केही वर्षयता हो । तर, पछिल्लो ६/७ महिनायता भने महत यो समस्याबाट अलि धेरै नै पीडित छन् । वर्षौंसम्म राजनीतिको उच्च तहमा बसेर काम गरेका नेता भएकाले उनलाई भेट्न मान्छेहरू आउँछन्, आउन खोज्छन् । तर, महत सहजै चिन्दैनन् । निरन्तर भेटिरहेका मान्छेलाई अलिअलि ठम्याउँछन् । कतिपय पारिवारिक सदस्यलाई पनि सहजै ठम्याउन सक्दैनन् ।
समस्या बढ्दै गएपछि थाइल्यान्डको बैंकक र भारतका विभिन्न अस्पतालमा उपचार गरियो । तर, अस्पतालले सुधार हुन गाह्रो छ भनेका छन् । अहिलेकै अवस्थामा राख्ने (स्टेबल) मात्रै विकल्प भएको चिकित्सकको सल्लाह छ ।
‘समस्या आएपछि बैंककदेखि भारतका धेरै अस्पतालमा पुर्यायौं, तर पूरै सुधार हुन गाह्रो छ भन्नुहुन्छ,’ अर्का एक पारिवारिक सदस्यले भने, ‘उहाँका लागि विकल्प भनेकै अहिलेको स्थितिलाई स्टेबल राख्न मद्दत गर्ने मात्रै हो । उहाँलाई देखिएको समस्या सुधार भएर जाने स्थिति देखिएको छैन ।’
स्वास्थ्यमा समस्या आएयता भेटघाटका लागि पहिलेजस्तो नेता/कार्यकर्ताको लाइन लाग्दैन । तर, उनलाई सम्झेर केही शुभेच्छुक भने आउने गरेको पारिवारिक स्रोत बताउँछ । दुई महिनाजति अगाडि कांग्रेस नेता डा. शेखर कोइराला भेट्न आएका थिए । उनीबाहेक कांग्रेसका अन्य सिनियर नेता भेट्न नआएको धेरै नै भइसक्यो ।
७४ वर्षीय महत श्रीमती रोशना थापा, छोरा र बुहारीसँगै काठमाडौंको मन्डिखाटार जनमार्ग पिपलबोटस्थित घरमा बस्छन् । छोरी कामको शिलशिलामा देशबाहिर छिन् । छोरा पेशाले कानून व्यवसायी हुन् । सक्रिय राजनीतिबाट टाढिँदै गए पनि महत २ वर्ष अगाडिसम्म बजेटका गतिविधिलाई नजिकबाट हेर्थे ।
आफ्नै भाइ डा. प्रकाशशरण महतले दुई वर्षअगाडि ल्याएको बजेट वक्तव्य पनि घरमै बसेर पूरै पढेका थिए । तर, समस्याले च्यापेपछि महत पछिल्लो केही समययता बजेट, नीति तथा कार्यक्रम, बजार र अर्थतन्त्रका विश्लेषणबाट टाढै छन् । अलिअलि पत्रपत्रिका पढ्ने, शारीरिक व्यायाम गर्ने काम भने गर्छन् । गल्फका शौखिन महत कहिलेकाहीँ खेल्न पनि पुग्ने गरेका छन् ।
अर्थतन्त्रको सवालमा उदार, तर आरोपित
२०४८ को चुनाव हारेपछि महत राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाइएका थिए । तर, पनि त्यसपछि नुवाकोटबाट चुनाव जितेपछि महतले देशलाई खुला र उदार अर्थतन्त्रको युगमा प्रवेश गराउन भूमिका खेले । पहिलो चुनाव हारे पनि महतलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएका थिए । महत ६ पटक अर्थ र एकपटक परराष्ट्रमन्त्री भएका थिए । अर्थमन्त्री हुँदा हरेकपटक बजेट ल्याउने सौभाग्य पनि पाए ।
अर्थमन्त्री भनेकै महत हुन् परिचय बनेको थियो । उनी वितरणमुखी बजेटको सधैं विरोधमा रहे । धेरैपटक बजेट ल्याउने अवसर पाएका महत वृद्धभत्ता दिने, सांसदलाई पैसा बाँड्ने प्रक्रियाप्रति सधैं अनुदार नै रहिरहे । पहिलोपटक कम्युनिस्ट प्रधानमन्त्रीका रूपमा मनमोहन अधिकारी २०५१ सालमा प्रधानमन्त्री भए । सोही सरकारको पालमा आफ्नो गाउँ आफैं बनाउँ भन्ने नाराका साथ गाउँ विकास समितिलाई ५ लाखको दरले बजेट दिने व्यवस्था गरियो । वृद्धभत्ताको शुरूआत पनि भयो । तर, त्यसपछि पटक–पटक अर्थमन्त्री हुँदा महतलाई एमालेको भन्दा लोकप्रिय बजेट ल्याउन कांग्रेसबाटै दबाब नपरेको होइन । कम्युनिस्टहरूले बजेटमा पपुलिस्ट कुरालाई जोड दिएको महतलाई मन पर्थेन ।
बरु राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भएदेखि नै निजीकरणमा जोड दिए । पूँजी र प्रविधिका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्दा अर्थतन्त्र चलायमान हुने, रोजगारी वृद्धि हुने उनको मान्यता थियो । करको दर कम गरे मात्र निजी क्षेत्र लगानीका लागि आकर्षित हुने उनको मान्यता थियो । तर, सरकारी संस्थान, हरिशिद्धी इटा टायल कारखाना, भृकुटी कागज कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, बालाजु कपडासहितका उद्योग निजीकरण गरेको, कतिपय बन्द गराएको भन्दै महतको आलोचना हुने गरेको छ ।
आर्थिक अनुशासनको कुरा गरे पनि सीमित घरानालाई लाभ हुने गरी नीति बनाएको, संस्थानहरू कौडीको मूल्यमा बेचेको भन्दै महतको आलोचना हुने गरेको छ ।
आलोचनालाई सहेर महतले उदार अर्थतन्त्र, मार्केट इकोनोमीको पक्षमा पैरवी गर्न छाडेनन् । जसोतसो चलेका उद्योग बन्द गरेको, निजीकरण गरेर राज्यको ठूलो आर्थिक भार जोगाएको दाबी महतलाई समर्थन गर्नेहरूले गर्दै आएका छन् । कांग्रेस र महतले ल्याएको नीतिले नेपाली अर्थतन्त्र अहिलेको अवस्थामा आएको दाबी उनीहरूको छ ।
अहिले फस्टाएका प्रतिस्पर्धी, प्राइभेट कम्पनी, बजार, अवसर, लगानीको क्षेत्र तथा रोजगारी सिर्जना हुनु नै महतको सफलता भएको दाबी कांग्रेस नेताहरू गर्छन् । आज फस्टाएका शिक्षा, स्वास्थ्य, होटलसहितका सेवा क्षेत्र, घरजग्गा कारोबार, बैंक, सहकारीजस्ता वित्तीय संस्था, साना लगानीका उद्यम खुला अर्थतन्त्रकै उपज भएको दाबी कांग्रेस नेताहरूको छ ।
यसबीचमा थुप्रै कम्युनिस्ट सरकार बने पनि महत र आचार्यले बसाएको उदार अर्थतन्त्रको भाष्यलाई नभत्काएको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल बताउँछन् ।
‘उहाँहरू दुवैले उदार अर्थतन्त्रको प्रणाली बसालिनुदिनुभयो । कम्युनिस्ट नेता प्रधानमन्त्री र अर्थमन्त्रीको रूपमा आउनुभयो, तर थोरै डिस्टर्व गरे पनि त्यो थ्योरीलाई भत्काउने काम गर्नुभएन,’ पोखरेल भन्छन्, ‘यसैले उदार अर्थतन्त्र, निजीकरण र उदारीकरणको विषयमा कम्युनिष्टले भाषणमा विरोध गरे पनि सिद्धान्तमा विरोध गर्ने स्थिति आजसम्म बनेको छैन । बरु त्यसैलाई पछ्याउँदै आउनुभएको छ ।’

उदार अर्थतन्त्रको विकल्प खोज्ने आँट नगरिनुले कांग्रेस र महतले लिएको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको देखाउने पोखरेल बताउँछन् ।
कतिसम्म भने २०७२ को भूकम्पपछि पनि महतले राहतका नाममा अन्धाधुन्ध पैसा बाँड्न नहुने मत राखेका थिए । महत आयात घटाउने र उत्पादन बढाउने पक्षमा मत राख्थे । सार्वजनिक खर्च नियन्त्रण गर्न नसक्ने काममा राज्यको ढुकुटी खर्च गर्न हुँदैन भन्ने मान्यता उनमा थियो ।
अप्ठ्यारोमा ठीकठाक काम गरेको भन्दै महतलाई बेलायतको एउटा संस्थाले पुरस्कृत पनि गरेको थियो । ‘द फाइनान्सियल टाइम’को सह–प्रकाशन ‘दि बैंकर म्यागेजिन’को २०१६ को उत्कृष्ट अर्थमन्त्रीको रूपमा महतलाई पुरस्कृत गरियो । भूकम्पपछिको अर्थतन्त्रका चुनौतीलाई मसिनो गरी परिभाषित गरेको र अर्थतन्त्र बचाउनका लागि योजना ल्याएको भन्दै उनलाई सो पुरस्कार दिइएको थियो ।
पूर्व अर्थमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की महतकै उदार अर्थतन्त्रको नीतिकै कारण अर्थतन्त्रको जग अप्ठ्यारोमा पनि कमजोर नभएको बताउँछन् ।
‘महत लामो समय अर्थमन्त्री हुनुभयो । उहाँकै समयमा मुलुकको अर्थतन्त्र गतिशील बन्ने बाटोमा अगाडि बढ्यो । निजी क्षेत्रलाई प्रोत्सहित गर्ने श्रेय पनि उहाँलाई जान्छ । आज फस्टाएको र बजारमा बढेको अवसर उहाँबाटै सिर्जित अवस्था हो,’ कार्की भन्छन्, ‘अर्थतन्त्रमाथि भूकम्पको चुनौती आयो । तर, उहाँले सुधारतिर लानुभयो । अप्ठ्यारोमा पनि कमजोर हुन नदिएपछि उहाँ बेलायतबाट बेस्ट अर्थमन्त्रीको रूपमा सम्मानित हुनुभयो । अहिले अस्वस्थ हुनुभयो भनेर होइन, अहिलेको सुधारोन्मुख अर्थतन्त्रको जग बसाउन उहाँको महत्त्वपूर्ण भूमिका छ ।’
आर्थिक अनुशासनमा जोड दिने, बजेट निर्माणका क्रममा गोपनीयता कायम गर्ने, आफ्नै दलको नेताको समेत दबाब थेग्ने अर्थमन्त्रीको रूपमा महत परिचित भएको पोखरेल बताउँछन् । महतले व्यक्तिगत र राजनीतिक स्वार्थलाई नहेरी अर्थतन्त्र सुधार गर्नतिर मात्रै ध्यान दिएको उनले बताए ।
‘व्यक्तिगत स्वार्थ, आर्थिक र राजनीतिक स्वार्थ नहेरीकन देशको अर्थतन्त्रलाई हेर्ने, काम गर्ने र बजेट ल्याउने अर्थमन्त्रीको रुपमा महत परिचित हुनुहुन्छ,’ पोखरेल भन्छन्, ‘राजनीतिक करियर नहेरी अर्थतन्त्रलाई सुधारेर लाग्ने मान्छे उहाँ र महेश आचार्य मात्रै हो ।’
तर, आज महत स्वास्थ्य समस्यामा परेको र आचार्य राजनीतिक प्रतिशोधको शिकार भएको पोखरेलले बताए ।
‘महत र आचार्यले राजनीतिक करियरको चिन्ता गर्नुभएन । देशको चिन्ता गरेर उहाँहरूले २०४८ र २०५१ मा बसाएको मेहनत र परीक्षणको जगले आज देश धानिएको हो । नत्र देशको अर्थतन्त्र कोल्याप्स भइसक्थ्यो,’ पोखरेल भन्छन्, ‘स्वास्थ्यमा समस्या आएपछि महत आज आफ्नै छोरालाई चिन्न नसक्ने अवस्थामा हुनुहुन्छ । अर्कोतिर अर्थतन्त्रको जग बसाउन त्यत्रो मेहनत गर्ने इमान्दार महेश आचार्यलाई पार्टीले केन्द्रीय सदस्य बनाउन समेत चाहेको छैन ।’
बजेट, बजार र अर्थतन्त्रका हरेक कुरा आउँदा गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवादेखि सुशील कोइरालासम्मले महतलाई नै अगाडि सार्ने गरेको पोखरेल सम्झन्छन् ।
‘महतले नेतृत्वको साथ पाउनुभयो । ०४८ सालमा गिरिजाबाबुले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाउनुभयो । ०५१ सालमा देउवाले पहिलोपटक अर्थमन्त्री बनाउनुभयो । गिरिजा र सुशीलले पनि सधैं च्यापिरहनुभयो,’ पोखरेल भन्छन्, ‘महतले काम गरेन भनेर आफ्नोमा गुनासो गर्न आउनेलाई समेत गिरिजाबाबुले बजेट, योजना र कार्यक्रमका कुरा आउनासाथ हामीलाई होइन, महतलाई धेरै थोक थाहा हुन्छ, जे गर्छन्, उनैले गर्छन् भनेर पठाउनुहुन्थ्यो ।’ छोटो समय पाए पनि कम्युनिस्टको तर्फबाट सुरेन्द्र पाण्डेले अर्थमन्त्री भएर केही सुधारको प्रयास गरेको पोखरेलले बताए ।
एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे पार्टीभित्रै गाली खान तयार भएर पनि आफ्नो नीतिमा दृढ भएर काम गर्ने अर्थमन्त्रीको रूपमा महतलाई सम्झन्छन् ।
‘उहाँले धेरैपटक नेपालको बजेट ल्याउनुभयो । ग्लोबल कन्टेक्स्टलाई आत्मसात गर्नुपर्छ र मार्केट इकोनोमीमा आधारित अर्थतन्त्र बनाउनुपर्छ भन्ने पक्षमा उहाँ हुनुहुन्थ्यो । उहाँको नीतिको पार्टीमा विरोध पनि भयो । गाली खानुपरे पनि यी विषयमा उहाँ दृढ भएर उभिनुभएको थियो,’ पाण्डे भन्छन्, ‘तर, पछिल्लो समयमा कांग्रेसभित्र पार्टीले लिनुपर्ने नीतिमा स्पष्टताको अभाव छ । मार्केट इकोनोमी सामाजिक सुरक्षाजस्ता सवालमा कांग्रेस अस्पष्ट छ । तर, महतले गाली खाएर पनि यी कुराको पैरवी गरिरहनुभयो ।’
पार्टीले लिएको नीतिको तत्कालीन कांग्रेस नेता प्रदीप गिरीले आलोचना गरे पनि महतले आफ्नो लय नछाडेको पाण्डे बताउँछन् ।
‘प्रदीप गिरीले संसद् बैठकमै महतले लिएको आर्थिक नीतिको विरोध गर्नुभएको थियो ’ पाण्डेले भने, ‘तर मार्केट इकोनोमीको पक्षमा उहाँ उभिनुभयो ।’
गिरीले धान र गहुँको फरक थाहा नहुनेले उदारवादी खुला अर्थतन्त्रबारे गरेको कुरा नेपालको हितमा नरहेको भन्दै महतको विरोध गरेका थिए । पार्टी भित्रैबाट कुरा उठ्दा पनि महत आफ्नो अडान र नीतिमा टसमस भएनन् । महत आफ्ना साथी पनि रहेको भन्दै पाण्डेले उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।
मार्केट इकोनोमी मन परेको क्षेत्रमा लगानी गर्न पाउने, नाफाको उद्देश्य राखेर उद्योगधन्दा खोल्ने, कम्पनीबीच प्रतिस्पर्धाको वातावरणले सेवा, अवसर र मूल्यमा सहजता हुने र बजारलाई सरकारको कानूनी सुरक्षाबाहेकको हस्तक्षेप नहुने अवस्था हो । महत आफू अर्थमन्त्री रहँदा यिनै सिद्धान्तमा दृढ भइरहे, जसमाथि समर्थन र विरोधको बहस आज पनि हुने गर्छ ।