
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले बजारमा रहेका पाँच वटा मापदण्ड विपरीतका सेवामूलक फर्म तथा कम्पनीविरूद्ध मुद्दा दर्ता गरेको छ ।
ती फर्म तथा कम्पनीमा कैफियत भेटिएपछि कसुरअनुसार एउटा मुद्दा जिल्ला अदालतमा र चारवटा मुद्दा जिल्ला प्रशासन कार्यालय, बाँकेमा दर्ता भएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत एकराज बुढाथोकीले जानकारी दिए ।
सो कार्यालयले नेपालगञ्जका विभिन्न वडामा रहेका क्वालिटी चाउमिन तथा सस उद्योग, डिउ ड्रप ड्रिङ्किङ वाटर, इन्ड्रष्टिज, वाइ के ड्रिङ्किङ वाटर, उद्योग, गोल्डेन प्रशोधित पिउने पानी र बिसमिल्ला होटेलविरूद्ध मुद्दा दर्ता भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले जनाएको छ ।
ती फर्म तथा कम्पनीमध्ये खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले बिर्यानी, सोर्मा र कबावमा बाह्य सिन्थेटिक रङ्ग प्रयोग गरेको र होटलको व्यवस्थापन फोहोर गरेको कसुरमा नेपालगञ्ज–११ इदगाह रोडमा रहेको बिस्मिल्लाह होटलविरूद्ध बाँके जिल्ला अदालतमा मुद्दा दायर गरेको कार्यालयका सूचना अधिकारी रामहरि लामिछानेले जानकारी दिए ।
उक्त होटलमा केही दिनअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज, उपमहानगरपालिका, वडा कार्यालय, वडा प्रहरी कार्यालयसहित गएको संयुक्त अनुगमन टोलीले अनुगमन गरेको थियो ।
अनुगमनमा बिस्मिल्ला केटर्स चिकन शोर्मा एन्ड बिरयानी होटल नामको बोर्ड राखेको तर घरेलु तथा साना उद्योग कार्यालय, बाँकेमा बिस्मिल्ला होटल भनी दर्ता भएको उक्त होटलको सरसफाइ र भान्सामा देखिएको फोहोर तथा खाद्य वस्तुमा अखाद्य रङ्गको प्रयोग गरेको फेला परेपछि अनुसन्धान गरी मुद्दा दायर गरिएको हो ।
खाद्य बजार अनुगमन ४३ वटा, दाना बजार अनुगमन चारवटा, होटल, रेष्टुरेन्ट अनुगमन ३८ वटा, खाद्य उद्योग अनुगमन ११० वटा, दाना उद्योग अनुगमन चारवटा गरेको कार्यालयले जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले वैशाखसम्म १ हजार ९४२ वटा खाद्य नमूना विश्लेषण, ९७ वटा दाना नमूना विश्लेषण, तरकारी तथा फलफूलको विषादी परीक्षण २०९ वटा, उत्पादन बिक्री तथा रोक्का दुईवटा गरेको छ भने २१ लाख ६९ हजार ३७३ राजस्व संकलन भएको छ ।