
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी श्रीमती सोनी सिन्धु रानी बस्दै आएको ललितपुरको महालक्ष्मी नगरपालिका– ४ इमाडोलस्थित घर अहिले चर्चा र विवादको केन्द्रमा छ ।
कित्ता नम्बर ९४३ (क्षेत्रफल १४३.१२ वर्ग मिटर) को जग्गामा बनेको घरको लफडा प्रहरी, सरकारी वकिल कार्यालय हुँदै अदालतसम्म पुगेको छ ।
पार्टीको नाममा खरिद गरिएको भनिएको घर कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले हडप्न खोजेको भन्दै उनीविरुद्ध ठगी तथा आपराधिक विश्वासघात कसुरमा अदालतमा मुद्दा दर्ता भयो ।
जेठ ५ गते दायर भएको मुद्दामा प्रारम्भिक सुनुवाइपछि यादव ५ लाख धरौटीमा छुटे ।
शुरूमा घर खरिद गर्ने योजना कसरी बन्यो र बीचमा किन लफडा शुरू भई घटना अदालतसम्म पुग्यो भन्ने विषय निकै रोचक छ ।
सुरेन्द्र नारायण यादवले सरकारी वकिल कार्यालय ललितपुरमा दिएको बयानअनुसार सीके राउत आफैंले यादवलाई ‘सुरेन्द्रजी, काठमाडौं आउँदा हामीलाई बस्ने ठाउँ भएन, तपाईंले घर खरिद गर्नुहोस्, अन्य सदस्यको केही उपाय छैन, यो काम तपाईंले मात्रै गर्न सक्नुहुन्छ’ भनेका थिए ।
पार्टी अध्यक्षबाट यस्तो प्रस्ताव आएपछि आफूले घर खोजी गर्दै जाँदा इमाडोलमा भेटेको र घर खरिद गरेर नामसारी गर्दा महिलाको नाममा गरे कर कम तिर्नुपर्ने भनेपछि आफूले श्रीमती ललिता कुमारीको नाममा गरेको बयान सुरेन्द्रले दिएका छन् ।
सीकेकै सल्लाहमा गरिमा विकास बैंकबाट १ करोड ४९ लाख रुपैयाँ ऋण लिएर घर खरिद गरेको सुरेन्द्रले बताएका छन् ।
सीकेलाई उक्त घर ५ वर्षका लागि मासिक २५ हजारका दरले भाडामा लिने दिने सम्झौता समेत गरेको सुरेन्द्रले बयानमा खुलाएका छन् । सीकेको श्रीमान–श्रीमतीबीच लफडा शुरू भएपछि मात्रै घरको विषयमा विवाद शुरू भएको सरकारी वकिलसँगको बयानमा सुरेन्द्रले बताएका छन् ।
‘जब सीकेकी श्रीमतीले घर आफ्नो नाममा नामसारी गर्ने भए मात्रै सम्बन्धविच्छेद गर्छु, नत्र गर्दिनँ भनिन्, त्यसपछि सीकेले यो घर मलाई चाहियो भन्नुभयो,’ सुरेन्द्रले बयानमा भनेका छन्, ‘तर, मैले खरिद गरेको घर तपाईँलाई किन दिने ? म यो घर दिन्न, भाडामा बस्न दिएको हो, बस्नुस्, भनेपछि सीकेसँग मेरो सम्बन्ध बिग्रिएको हो ।’
यही लफडालाई लिएर सीकेले आफूलाई कोषाध्यक्ष पदबाट निलम्बन गरेको र आफूसहित श्रीमतीका विरुद्धमा समेत प्रहरीमा ठगी र आपराधिक विश्वासघात कसुरमा उजुरी दिन लगाएको सुरेन्द्रको आरोप छ ।
जाहेरवाला एवं जनमत पार्टीका प्रवक्ता डा. शरतसिंह यादवले भने जाहेरीमा २२ महिनादेखि उक्त घरको भाडा पार्टीले नै तिर्दैै आएको र घर नामसारी गर्न सुरेन्द्रले ४० लाख रुपैयाँ मागेको उल्लेख गरेका छन् ।
४० लाख रुपैयाँ सुरेन्द्रलाई दिइसकेको कुरा शरतले जाहेरीमा खुलाएका छन् । यो कुराको साक्षी पार्टीका पदाधिकारी एवं सांसदहरू वसन्त कुशवाह, अनिता यादव, अब्दुल खान, विनिता सिंह दनुवार र सोनु मुर्मुसमेत रहेको शरतले जाहेरीमा उल्लेख गरेका छन् ।
तर, सुरेन्द्र भने यो कुरा ठाडै इन्कार गर्छन् । उनले आफूले कसैलाई पनि ४० लाख दिए घर पास गर्ने भनेर नभनेको बयानमा उल्लेख गरेका छन् । बरु २०७९ मा प्रदेश सभा र प्रतिनिधिसभा चुनावको समयमा आफूले खर्च गरेको व्यक्तिगत रकम माग गरेको र आफ्नो खातामा जम्मा भएको सुरेन्द्रको दाबी छ । चुनावमा भएको खर्च रकम सीकेसँग माग्दा सीकेले नै घरको कुरा निकालेर बखेडा झिकेको दाबी यादवले गरेका छन् ।
सुरेन्द्रले देखाएको चुनावी हिसाबकिताब
घरको लफडामा सुरेन्द्रले चुनावी हिसाबकिताब समेत खुलाएका छन् ।
२०७९ को चुनाव र चुनावपश्चात विनिता सिंह दनुवारले ९ लाख ९९ हजार, बबिता राउत इसरले १० लाख, हसिना खातुनले १० लाख, भाग्यश्री चौधरीले १० लाख, महेशप्रसाद यादवले ८ लाख आफ्नो बैंक खातामा जम्मा गरिदिएको सुरेन्द्रले बयानमा खुलाएका छन् ।
त्यस्तै, वसन्तकुमार कुशवाहले दिएको ३२ लाख मध्ये १२ लाख व्यक्तिगत लेनदेनको भएको उनको जिकिर छ । सोनु मुर्मु, रञ्जु खंग र अब्दुल खानले भने आफूलाई कुनै रकम नदिएको सुरेन्द्रको जिकिर छ । उनले सबैले दिएर जम्मा भएको ६८ लाख रुपैयाँ चुनावका क्रममा पर्चा पम्प्लेट, टि–शर्ट, पी–क्याप, इन्धन र चुनावी घर दैलोमा खर्च भएको भन्दै घर खरिदसँग जोड्न नमिल्ने जिकिर गरेका छन् ।
अनिता र विनिताले भने– ‘घर पार्टीको नाममा पास गर्न सुरेन्द्रले ४० लाख मागेकै हुन्’
पूर्वमन्त्री समेत रहेकी जनमतकी सांसद अनिता देवी साह र अर्की सांसद विनिता सिंह दनुवारलाई सरकारी वकिल कार्यालयले घटना विवरण कागज गराएको छ ।
जाहेरवाला एवं जनमत प्रवक्ता शरतसिंहले साक्षीको रूपमा उनीहरूको नाम समेत समावेश गरेका थिए ।
पार्टीको तर्फबाट घर खरिद गर्ने जिम्मा सुरेन्द्रलाई दिएको र आफूहरूले समेत रकम दिए पनि अपुग भएपछि बैंकबाट ऋण निकालेर दिएको अनितादेवी र विनिताले बयान कागजमा खुलाएका छन् । उनीहरूले बैंकको किस्ता तिर्ने बेलामा मात्रै उक्त घर सुरेन्द्रकी श्रीमती ललिताको नाममा रहेको आफूहरूले थाहा पाएको दाबी गरेका छन् ।
त्यसपछि आफूलगायत सांसदहरूले उक्त घर पार्टीका लागि खरिद गरेको र पार्टीकै नाममा नामसारी गर्न सुरेन्द्रलाई भन्दा उनले जग्गामा लगाएको २४ लाखको ब्याजसमेत गरी ४० लाख रुपैयाँ दिएमात्रै घर पास गरिदिन्छु भनेर ‘ह्वाट्सएप’ मा म्यासेज पठाएको उनीहरूको जिकिर छ । ‘पार्टीलाई भनिएको घर सुरेन्द्रले श्रीमतीको नाममा खरिद गरेको र पार्टीका नाममा नामसारी गर भन्दा उल्टै ४० लाख रुपैयाँ मागे, पैसा पनि दिइयो, तर घर नामसारी गर्न मानेनन्,’ अनिता र विनिताले गरेको कागजमा उल्लेख छ, ‘उनले ठगी तथा आपराधिक विश्वासघात गरेकाले कारबाही गरिपाऊँ ।’
सांसद अब्दुलले पनि अनिता र विनिताकै शब्द सापटी लिए
सरकारी वकिल कार्यालयले अनिता र विनितालाई गरेजस्तै बयान कागज पूर्वमन्त्री एवं सांसद अब्दुल खानसँग पनि गरेको छ । खानले कागजमा पनि सुरेन्द्रले ४० लाख रुपैयाँ दिए घर पार्टीको नाममा नामसारी गर्न तयार रहेको भनेर ह्वाट्सएपमा म्यासेज पठाएको उल्लेख छ । ‘पार्टीका माननीयहरूले रकम जम्मा गरेर नपुगेपछि बैंकबाट ऋण लिएर घर खरिद गर्न लगायौं, सुरेन्द्रले श्रीमतीको नाममा घर पास गराएछन्,’ अब्दुलले घटना विवरण कागजमा भनेका छन्, ‘पछि घर पार्टीको नाममा नामसारी गर भन्दा त उल्टै ४० लाख रुपैयाँ मागे, दियौं पनि, तर घर पास गर्नुको साटो दूषित नियत राखेर बखेडा निकाले ।’
यस्तो छ सीके राउतको घटना विवरण कागज
जाहेरवाला डा. शरद सिंह यादव, प्रतिवादी सुरेन्द्रनारायण यादव र ललिताकुमारी यादवलाई मैले चिन्दछु । निज प्रतिवादीहरूसँग मेरो व्यक्तिगत लेनदेन छैन । निज प्रतिवादी सुरेन्द्रनारायण यादव जनमत पार्टीको तत्कालीन कोषाध्यक्ष हुँदाका अवस्थामा पार्टीको अध्यक्षलाई काठमाडौं उपत्यकाभित्र बस्नुपर्ने भएकाले ललितपुर जिल्ला साविक इमाडोल गाविस वडा नम्बर ०८ हाल परिवर्तित महालक्ष्मी नपा– ४ कित्ता नम्बर ९४३ (क्षेत्रफल १४३.१२ वर्ग मिटर) को घरजग्गा खरिद गर्न निजलाई जनमत पार्टीको सचिवालयको तर्फबाट निर्देशन/जिम्मेवारी दिइएको थियो । सुरेन्द्रलाई पार्टीको राष्ट्रिय कोषाध्यक्षको रूपमा आर्थिक कारोबारको पूर्ण जिम्मेवारी दिई खटाइसकेको हुँदा निजलाई पटक–पटक खटाइराख्न आवश्यक भएन ।
उक्त घर जग्गा खरिद गर्नका लागि जाहेरवाला तथा म लगायतका पार्टीका अन्य माननीयहरूले रकम संकलन गरी निज सुरेन्द्रलाई दिएका थियौं । सो घरजग्गा खरिद गर्ने निश्चित भइसकेपछि निर्माण कार्य थोरै बाँकी रहँदा र घर खरिद गर्ने प्रक्रिया शुरू हुँदाका बखत २०७९ साल फागुन/चैतदेखि नै म उक्त घरमा बस्न थालेको हुँ । अधुरो निर्माण कार्य समेत आफैं बसेर पूरा गराएको हुँ । हालसम्म पनि म स परिवारसहित सोही घरमा बस्दै आएको छु । यो घर पार्टीको नाममा नै खरिद गर्नका लागि दबाव दिएको हुँ, तर पार्टीको नाममा बैंकले ऋण दिन नमानेको भन्दै उहाँले तत्काल आफ्नो श्रीमती ललिताकुमारी यादवको नाममा बैंकबाट ऋण निकाली उहाँकै नाममा नामसारी गरी पछि पार्टीलाई हस्तान्तरण गरिदिने भनी मौखिक सहमति भएको थियो ।
बैंकबाट पार्टीका लागि लिइएको सो घर जग्गाबापतको ऋणको मासिक रूपमा तिर्नुपर्ने किस्ता रकम २ लाख ५० हजार २०८० असारदेखिनै पार्टीले आधिकारिक बैंक खाताबाट तिर्दै आएको छ । सोको बैंक स्टेटमेन्ट समेत यसअघि नै पेश भइसकेको छ । हालसम्म उक्त ऋणको २२ किस्ताबापत हुन आउने रकम ५५ लाख जति भुक्तानी गरिसकेको अवस्था छ । करिब १ वर्ष अगाडिदेखि उहाँलाई उक्त घर जग्गा पार्टीको नाममा हस्तान्तरण गर्नभन्दा मेरो पनि व्यक्तिगत २४ लाख रुपैयाँ लगानी भएको छ र सो को ब्याजसहित हुन आउने जम्मा रकम शुरूमा ३५ लाख र केही दिनपछि ४० लाख फिर्ता गरे घरजग्गा हस्तान्तरण गर्छु भनेर मलाई ह्वाट्सएपमा म्यासेज पठाउनुभयो । मैले उक्त रकम अरू मानिसहरूबाट ऋणसापटी मागेर ३७ लाख ९९ हजार रुपैयाँ सुरेन्द्रको लक्ष्मी सनराइज बैंकको खातामा जम्मा गर्न लगाएको हुँ । सो कागजात समेत जाहेरी दरखास्त साथ पेश भइसकेको छ ।
सुरेन्द्रले जाहेरवाला तथा म समेतका माननीयहरूबाट रकम लिई पार्टीका लागि भनि खरिद गरेको घरजग्गा नामसारी गरौं भनी पटक–पटक भन्दा उनले ४० लाख रुपैयाँ रकम दिनुपर्छ अनि मात्रै तपाईंहरूलाई घरजग्गा दिन्छु भनेर भन्नुभयो । पैसा समेत दिएपछि पनि घर पार्टीको नाममा पास नगरिदिएकाले सुरेन्द्रलाई कानूनबमोजिम कारबाही गरिपाऊँ ।
पढ्नुहोस्, यो पनि :
सीके राउतले बैंकको ऋण र ४० लाख नगद सुरेन्द्रलाई तिरेको शरदसिंहको जिकिर
इमाडोलको घरजग्गाले जनमतमा लफडा: 'सुरेन्द्रपत्नी ललिताको दाबी- हाम्रो निजी सम्पत्ति हो'