०२ असार २०८३, मंगलबार
बसाइँसराइको असर

रित्तिँदै कोशीका गाउँ : विकास पहाड चढ्यो, मान्छे शहर झरे

जेठ ९, २०८२
विराटनगर
रित्तिँदै कोशीका गाउँ : विकास पहाड चढ्यो, मान्छे शहर झरे

धनकुटाको छथरजोरपाटी गाउँपालिका–३ मा रहेको दामोदर माध्यमिक विद्यालयको कक्षाकोठामा सन्नाटा छ । विद्यालयमा अहिले मात्र ९५ जना विद्यार्थी छन् ।  यही विद्यालयमा कुनै समय सयौं विद्यार्थी हुन्थे । 

सहायक प्रधानाध्यापक योगेन्द्र चौलागाईका अनुसार २०५० सालपछि विद्यार्थी संख्या घट्न थालेको हो । ‘६०–७० को दशकमा त अत्यधिक विद्यार्थी घटे,’ उनले भने, ‘मुख्यतः क्षेत्री बाहुन समुदायका मानिसहरू धेरै बसाइँ सरे । अहिले लिम्बू र भुजेल समुदायका विद्यार्थी बढी छन् ।’

यो विद्यालयको इतिहास गहिरो छ । पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल, पूर्वमन्त्री महेश आचार्य, चिरञ्जीवी रिजाल र मिनेन्द्र रिजालका पुर्खाहरूले यो विद्यालय स्थापना गरेका थिए । दामोदर रिजालकै नामबाट यो विद्यालय सञ्चालन भइरहेको छ । उनका परिवारका सदस्यहरू वर्षमा एक पटक मात्र विद्यालयमा पुगेर सहयोग गर्ने गर्छन् । 

शिक्षक र कर्मचारी गरेर १५ जनाको दरबन्दी रहेको विद्यालयमा हाल १३ जना कार्यरत छन् । एक जना शिक्षकको भागमा सात जना विद्यार्थी रहेका छन् ।  कक्षा १० सम्म पढाइ हुने विद्यालयको अवस्था कोशी प्रदेशका पहाडी गाउँमा भइरहेको बसाइँसराइको उदाहरण हो ।

विद्यालय मात्र होइन, साप्ताहिक लाग्ने हाट–बजारमा पनि यसको असर परेको छ । तेह्रथुमको सदरमुकाम म्याङलुङको टुँडिखेलमा शुक्रबार र मंगलबार दुई दिन साप्ताहिक हटिया लाग्छ । तर, अहिले हटिया पनि सुक्दै गएको छ ।

‘पहिला किसानहरू डोकामा साग–सब्जी बोकेर आउने गर्थे,’ तेह्रथुम पत्रकार महासंघ सचिव कृष्ण विदुखी गौतम भन्छन्, ‘अहिले सडक बन्यो तर, यहाँका उत्पादन कमै देखिन्छ ।  सबै तराई तथा भारतबाट आएका साग–सब्जीले बजार भरिन्छ ।’ 

जग्गा बाँझो हुँदा आफ्नै खेतबारीमा उत्पादन हुने बस्तु पनि अर्काकै भरमा पर्नु परेको छ । हटियामा आउने मानिस पहिलाको तुलनामा आधा घटेका छन् ।  बसाइँसराइले स्थानीय अर्थतन्त्रमा गहिरो प्रभाव पारेको स्थानीय उद्योगी व्यापारीहरू बताउँछन् ।  

विसं २०७८ को जनगणनाअनुसार तेह्रथुम जिल्लाको कुल जनसंख्या ८८ हजार ७३१ रहेको छ । जसमध्ये महिला ४५ हजार १५० जना र पुरुष ४३ हजार ५८१ जना रहेका छन् । विसं २०६८ को जनगणनाअनुसार यस जिल्लामा १ लाख १ हजार ५७७ जना रहेका थिए ।

विसं २०६८ को जनसंख्याभन्दा २०७८ को जनसंख्या १.३० प्रतिशतले कम भएका जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । खानेपानी तथा सिँचाइको चरम अभावका कारण बसाइँ–सर्ने गरेकाले जनसंख्या घटेको प्रशासनले जनाएको छ । अहिले कोशी प्रदेशमा सबैभन्दा कम जनसंख्या भएको जिल्ला हो तेह्रथुम । ‘मान्छेले पखेटा लगाएपछि जति सुकै विकास भए पनि रोक्न सकिंदो रहेनछ,’ अर्का पत्रकार मनोज लिम्बू भन्छन्, ‘धेरै क्षेत्री बाहुन नै बसाइँ सरेको देखिन्छ ।’

पछिल्लो दशकमा ग्रामीण क्षेत्रमा भौतिक विकासमा उल्लेखनीय सुधार देखिन्छ । विकासका योजनाहरू गाउँसम्म पुगेका छन् ।  गाउँ छाडेका युवा, श्रमिक, विद्यार्थी वा काम खोज्दै विदेशिएका जनतालाई फर्काउन स्थानीयतहहरूले पनि केही पहल गरेका छन् ।  तर, त्यसले पनि गाउँ फर्काउन भने सकेको छैन । 
धनकुटाको छथर जोरपाटी गाउँपालिकाले गाउँमा फर्कनेलाई दुहुना गाई दिने घोषणा गरेको थियो ।  अहिलेसम्म दुई जना मात्र गाउँमा फर्केको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर तामाङ बताउँछन् । 

धनकुटा सदरमुकामदेखि तेलिया जाने बाटो अहिले कालोपत्रे छ । तर, त्यहाँ हिँड्ने मानिसको संख्या भने कम छ । स्थानीयहरूका अनुसार पहिला विकास थिएन, मान्छे थिए । अहिले विकास आयो, मान्छे आएनन्  ।

खानेपानी र सिँचाइको अभावले यहाँका धेरै मानिसहरू बसाइँ सरेका थिए । पहिलाको स्मरण गर्दै दामोदर माध्यमिक विद्यालयका सहायक प्रअ योगेन्द्र चौलागाई भन्छन्, ‘पहिला खाने पानी पाइँदैन भनेर हाम्रो विद्यालय भएको क्षेत्रतिर छोरी दिन मान्दैनथे रे ।  यहाँ आउनेले पानी माग्दा पनि छोरीको पेवा भन्थे रे । अहिले खानेपानी आयो तर, मान्छे छैनन् ।’

यहाँका धेरै घर खाली छन् ।  घरको ढोकामा ताला लागेका छन् भने आँगनमा झारले ढाकेका छन् ।  मानिस गाउँ छाड्नुका धेरै कारण छन् ।  स्थानीय अगुवाहरूका अनुसार शिक्षित युवाहरूलाई गाउँले जीवन अवसरविहीन लाग्छ भने बाँच्न न्यूनतम रोजगारीको अभाव, कृषिमा नाफा नहुनु बसाइँ सराइका मुख्य कारण हुन् । 

रोजगारीको अवसर नहुँदा विकास पुगे पनि गाउँमा फर्कने मान्छे भने छैनन् । बत्ती बल्न थालेका छन्, इन्टरनेट चल्न थालेको छ, प्राथमिक स्वास्थ्य केन्द्रहरू बनेका छन्, विद्यालयमा पक्की भवन बनेको छन्  तर यी सबै भौतिक संरचनाहरूले मानिसलाई फर्काउन सकेका छैनन् । यो समस्या दामेदर माध्यमिक बिद्यालय र तेह्रथुमको मात्रै होइन, कोशीका सयौं गाउँको हो ।

सुरक्षित, सम्मानजनक र सम्भावनायुक्त वातावरण बनाउन नसकेसम्म मानिसहरूलाई गाउँ फर्काउने सम्भावना कम भएको जानकारहरू बताउँछन् ।  भौतिक विकास मात्र पर्याप्त नभएको र मानव विकासमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको उनीहरूको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्