२८ जेठ २०८३, बिहीबार
जीवनदर्शन

शैवभुमिको विस्तार : कैलाशदेखि इरान र अफ्रिकासम्म

जेठ १०, २०८२
काठमाडौं
शैवभुमिको विस्तार : कैलाशदेखि इरान र अफ्रिकासम्म

पौराणिक कथनअनुसार हालका मनु वैवस्वत हुन्, जो यस कल्पको सातौँमा पर्दछन् । उनी विवस्वान् (सूर्य)का पुत्र हन् । यसै अर्थमा उनलाई वैवस्वत भनिएको हो । उनको कार्यकाल कहिलेबाट शुरू भयो भन्नेबारे भने मतभेद छ । कतिपय इतिहासकारले करिब ई. पू. २७ सय वर्ष अघितिरबाट उनको कार्यकाल शुरू भएको बताए  भए पनि पौराणिक पण्डितहरू यसमा सहमत देखिँदैनन् । जे होस् इतिहासकारहरूका अनुसार छैटौँ मनु चाक्षुषको पालामा (करिब ई. पू. ३२ सय वर्ष अघितिर) भएको जलप्रलयको झण्डै पाँचसय वर्षपछि उनको कार्यकाल शुरू भएको देखिन्छ ।

विवस्वान्ले भृगुवंशी उशना पुत्र त्वष्टा (जसलाई विश्वकर्मा पनि भनिन्छ) प्रजापतिकी पुत्री रेणु (जसलाई संज्ञा तथा अश्विनी पनि भनिन्छ)सँग विवाह गरेका थिए । उनको तर्फबाट विश्वानको वैवस्वत, यम र यमी तीन सन्तान भएका थिए । रेणु आफ्नो सन्तानलाई दासी सवर्णा (छायाँ)को जिम्मा लगाएर माइत हिँडेपछि विवस्वानले सवर्णाको तर्फबाट समेत शनि, तपती र विष्टी तीन सन्तान जन्माएका थिए । 

रेणुले पतिको आदेशविना घर छाडेर आएको कुरा थाहा पाएपछि बाबु त्वष्टाले रिसाएर तत्कालै फर्कने आदेश दिए तर, उनी पतिसँग परेको खटपटको कारण तत्कालै फर्कने मुडमा थिइनन् । त्यसैले उत्तरकुरु (हालको कुर्दिस्थान र आर्मेनियाको तल्लो भाग)तिर गएर बस्न लागिन् । पछि विवस्वान्ले यो कुरा थाहा पाए र आफू पनि त्यतैतिर गएर बस्न लागे । फलतः उनीहरूको तर्फबाट अश्विनीकुमार दुई भाइ अर्का सन्तान भए, जसलाई अश्विनीकुमार भनिन्छ तर, उनीहरूको वास्तविक नाम भने नासत्य र दर्श थियो । 

जे होस् सानैदेखि यमको स्वभाव धार्मिक प्रकृतिको थियो । यसैको आधारमा उनलाई धर्मराज पनि भन्ने गरिन्थ्यो । ठूलो भएपछि उनका भाइ शनि हालको युनानी भूमिमा उपनिवेश कायम गरी बस्न लागे । यम भने विमाता सवर्णासित झगडा परेकाले ठूलो बाबु वरुणलोक सुषा नगरीतिर गएर बस्न लागे, जुन कश्यपसागको तटीय क्षेत्र काश्यप पर्वतको आसपासमा थियो । भनिन्छ पछि गएर यस नगरीलाई अमरावतीको नामले पुकारिन थालियो ।   

वरुण भातृपुत्र यमलाई निकै माया गर्थे । त्यसैले उनलाई दिक्पालमात्र बनाएनन् पितृलोकको अधिपतिसमेत बनाएर पठाइदिए । त्यसपछि उनी मृत्युलोकतिर गएर बस्न लागे, जुन स्थान केही समयअघि भएको जलप्रलयका कारण उजाड हुन पुगेको थियो । यसैको कारण त्यस स्थानलाई मृत्युलोक भन्ने गरिएको थियो । त्यतिबेला उनी बसेको स्थानलाई अपवर्त भन्ने गरिन्थ्यो । हाल इरानी भूभागमा पर्ने यस स्थानलाई अविवर्द भन्ने गरिएको छ । मृत्युलोकको अधिपति भएकाले यमलाई अहिले पनि मृत्युको देवता भन्ने गरिएको पाइन्छ ।

यिनै यमको वसु नामकी पत्नीबाट आठ भाइ वसुको जन्म भएको थियो । यिनमा जेठाको नाम धर थियो । पछि गएर धरबाट रुद्र नामको पुत्र भए । यिनै रुद्रकुलमा ११ वटा रुद्र उत्पन्न भएका थिए, जसलाई अज, अहिर्बुृध्न्य, विरूपाक्ष, त्वष्टा, वीरभद्र, भैरव, शिव, त्र्याम्बक, कपाली, शम्भु, सर्व वा पिनाकी भन्ने गरिन्छ । रुद्रलाई बढी मन पर्ने स्थान चारवटा रहेका पाइन्छन् । यिनमा पहिलो स्थान हिन्दूकुश अर्थात् काराकोरम पर्वत क्षेत्र मानिन्छ । दोस्रोमा भद्रवट अर्थात् कैलाशपर्वत पूर्वको ब्रह्मपुत्र प्रश्रवण क्षेत्रलाई लिइएको छ भने तेस्रोमा कैलाश मानसरोवर क्षेत्र मानिएको छ, जुन स्थान ब्रह्मपुत्र र सिन्धुको उद्गमस्थलको रूपमा रहेको छ ।

चौथो स्थान भने निकै व्यापक क्षेत्रमा फैलिएको पाइन्छ, जसमा पहिलो स्थान पर्शियाको केही क्षेत्र रहेको छ, जुन स्थानमा अहिले पनि शङ्करा जातिको बाहुल्य भेटिन्छ । असिरियामा सेवाजिय नामको देवताको पूजा हुने गर्दछ । करिब ई. पू. २५०० तिर शेमपुत्र असुरको नामबाट स्थापित असिरिया साम्राज्य त्यति बेला निकै ठूलो थियो । भूमध्य सागरको पूर्वी भागमा अवस्थित यो साम्राज्य फारस तथा केही क्षेत्र श्यामदेशको सीमासित जोडिएको थियो । मिश्रमा सेवा देवताको साथमा सर्पको समेत सम्बन्ध जोडिएर आएको छ । अमेरिकाको पेरुमा अहिले पनि सिवु देवताको पूजा हुन्छ । यी सबै स्थान शिवसितै सम्बन्धित मानिएका छन् । पहिले हालको प्यालेस्टाइनमा पाल नामक देवताको धाम थियो, जुन स्थानमा असुरहरूले कब्जा जमाएका थिए । 

शिवले त्रिपुरासुरसित युद्ध गरी यस स्थानको उद्धार गरेका थिए । त्यस्तै अफ्रिकाको प्राचीन नाम शिवदान थियो । रावण विजयपछि रामले सो स्थान छोरा कुशलाई दिएका थिए । यसैको आधारमा सो स्थानलाई पछि गएर कुशद्वीप भन्ने गरिएको हो । मध्य अफ्रिकामा अहिले पनि सुडान नामको देश छ, जुन नाम शिवदानकै अपभ्रंश मान्ने गरिएको पाइन्छ । (आचार्य चतुर्सेन, वयंरक्षाम रुद्रप्रकरण) पौराणिक कथनअनुसार भूमध्य सागरको तटीय क्षेत्रमा मय दानवले त्रिपुर अर्थात् फलामको, चाँदीको र सुनको तीनवटा पुर बनाएका थिए, जसलाई शिवजीले भष्म पारेका थिए ।

सो स्थान अरू नभएर हालको उत्तर अफ्रिकी मुलुक लिबियाको राजधानी त्रिपोली रहेको बलियो अनुमान गर्न सकिन्छ । किनभने अहिले पनि त्यस क्षेत्रमा शिवनगर नामक शहर रहेको छ । नागजातिको संरक्षक मानिएका शिव निषाद जातिको त मालिक नै मानिएका छन् । पहिले आदित्य आर्यहरूले शिवलाई दस्यु, अनार्य, चोर, डाँकु, तस्करहरूको मालिक भनेर खासै वास्ता गर्दैनथे तर असुरसँग भने शुरूदेखि नै उनको गहिरो सम्बन्ध छ । शिवभक्त असुरकुलगुरु शुक्राचार्य अरबतिर गएर बस्न थालेपछि सो स्थानसमेत शिवसँग जोडिएको पाइन्छ ।   

पहिले आदित्य आर्यहरू शिवलाई शिष्न देव भन्थे, घृणा गर्थे र उनीमात्र नभएर उनका पितामह मृत्युदेव यमलाई समेत सकेसम्म यज्ञभाग दिन हिच्किचाउँथे । आर्यसम्राट् दक्षप्रजातिले त बहिष्कार नै गरेका थिए । फलतः उनकी पुत्री सतीदेवीले आत्मदाहमात्र गर्नुपरेको थिएन रुद्रले रौद्ररूप नै प्रस्तुत गरेका थिए । उनले त्यतिबेला देखाएको रौद्ररूप त्यति बेला शान्त भयो, जति बेला पार्वतीको सान्निध्य प्राप्त गरेका थिए । त्यसपछि भने के आर्य के अनार्य सबैले देवाधिदेव महादेव भनेर जयजयकार गर्न थालेको पाइन्छ, जुन क्रम अद्यावधिक जारी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्