
देशका केही ठूला विकास पूर्वाधार परियोजना महिला इन्जिनियरले हाँकिरहेका छन् । राष्ट्रिय गौरव/महत्वका आयोजनामा युवा महिला ‘प्रोजेक्ट म्यानेजर’ले कुशलरूपमा नेतृत्व गरिरहेका छन् । ‘ब्यूरोक्रेसी’भित्र बलियो मानव पूँजी मानिएका उनीहरूले आफूलाई आयोजना निर्माणमा तल्लीन बनाएका हुन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरूसिंगे–चन्द्रौटा सडक आयोजना प्रमुख कुशलता न्यौपाने छन् । ६ वर्ष अघिदेखि विस्तार शुरू भएको बुटवल–नारायणगढ (दाउन्ने पूर्व) खण्डको नेतृत्व अनुक्षा घिमिरेले गरेकी छन् । त्यस्तैगरी मुलुकलाई उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको नेतृत्व कल्पना अधिकारीले गरिरहेकी छन् ।
४० वर्ष मुनिका उपसचिव इन्जिनियरले चुनौतीपूर्ण काममा आफूलाई अब्बल सावित गराएका छन् । दृढता, लगन र निरन्तरताबाटै अहिलेको स्थानमा आफूहरू आइपुगेको उनीहरू बताउँछन् ।
गएको माघबाट विस्तार शुरू भएर तीव्रताका साथ कामअघि बढेको बुटवलदेखि पश्चिम गोरुसिंगे ५० किलोमिटर ‘हाइवे’ विस्तार आयोजना प्रमुख न्यौपाले गत असोजदेखि आयोजनाको नेतृत्वमा आएकी हुन् । आयोजना प्रमुख भएर आएपछि सिनियर डिभिजन इन्जिनियर (सीडीई) न्यौपानेले निर्माणको पूर्वतयारी कामअघि बढाइन् । इन्जिनियर न्यौपानेको कार्यशैलीले तीव्रताका विस्तारको काम भइरहेको छ ।
विसं २०७२ मा इन्जिनियरिङ उत्तीर्ण गरेकी कुशलता एक वर्षको अनुभवसँगै २०७३ मा निजामती सेवामा प्रवेश गरेकी हुन् । पुल महाशाखाबाट सेवा शुरू गरेकी न्यौपानेले देशमा सडक पुलहरूको अवस्था र त्यसका चुनौतीबारे राम्रोसँग बुझ्ने अवसर पाइन् । कुशलताको नेतृत्व क्षमता देखेर विभागले मध्यपहाडी लोकमार्गको रूकुमपूर्वदेखि अछामसम्मको ४४० किलोमिटर सडक आयोजनाको प्रमुख भएर काम गर्ने जिम्मेवारी दियो ।
लगत्तै २०७९ मा सीडीईमा बढुवा भएकी बुटवलकै छोरी बुटवलबाटै पूर्वपश्चिम राजमार्गको बुटवल गोरुसिंगे सडक आयोजना हाँकिरहेकी छन् । ‘आफूलाई प्रमाणित गर्न पनि महिलाले समकक्षीभन्दा बढी मेहनत गरेर स्थापित गर्नुपर्छ,’ कुशलता भन्छिन् ।
बुटवल–गोरुसिंगे सडक दाँयाबाँया निर्माण नभएसम्म बीचको कालोपत्रे भत्काइएको छैन । यात्रुलाई अप्ठ्यारो नहोस् भनेर यो अवधारणाका साथ काम अघि बढाइएको उनको भनाइ छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मध्यभागमा पर्ने बुटवल–नारायणगढ सडकको दाउन्ने पूर्वी खण्डको काम अनुक्षा घिमिरेको नेतृत्वमा भइरहेको छ । उनी आयोजना प्रमुख भएर असोजमा आउँदा निर्माण कम्पनीले काम रोकेको थियो । उनकै पहलमा सरकार र ठेकेदारबीच छलफल गरेर निर्माणमा अघि बढाइएको हो ।
अहिले पूर्व खण्डको निर्माण धमाधम चलिरहेको छ । यो खण्ड ६५ किलोमिटर छ । दशैंलगतै योजना प्रमुख भएर आएकी उनकै सक्रियताले पछिल्लो तीन महिनामा आयोजनाको भौतिक प्रगति ५० बाट ६६ प्रतिशत पुगेको छ । अहिले बुटवल–नारायणगढ सडक दाउन्नेको १४ किलोमिटरबाहेक अन्य सबै एकतर्फी कालोपत्रे भएको छ ।
विसं २०७२ सालमा इन्जिनियरिङ पास गरेकी घिमिरे २०७३ मा निजामती सेवामा प्रवेश गरेकी हुन् । निजामतीमा प्रवेशसँगै उनले थप अध्ययनलाई पनि निरन्तरता दिइन् । २०७६ मा उनले ट्रान्सपोर्टेसन इन्जिनियरिङ विषयमा मास्टर्स पास पूरा गरिन् ।
उनको काममा थप निखारता आउनेगरी विषय नि मिल्यो । उनले केही समय डिभिजन सडक बागलुङ कार्यालयमा पनि काम गरिन् । केही समय उनी मध्यपहाडी पुष्पलाल लोकमार्गमा पनि काम गर्न पुगिन् ।
उपसचिवमा बढुवा भइसकेपछि उनले दुइटा प्रमुख आयोजनामा कार्यालय प्रमुख भएर कामको अनुभव गरिन् । लोकप्रियताभन्दा परिणाममा विश्वास गरेर काम गर्दा सफल भइन्छ भन्ने उनको विश्वास छ ।
आफूले पाएको जिम्मेवारी पारदर्शी र जवाफदेही रूपमा निर्वाह गर्न आवश्यक रहेको उनी बताउँछिन् । घिमिरेले विकास परियोजनामा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन् । पूर्वाधार गुणस्तरीय र बलियो बनाउन स्पष्ट अडान राख्ने उनी निर्माणको गति बढाउन र व्यवसायीक र व्यक्तिगत जीवन सुधार गर्न सुझाव दिन्छन् ।
भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोरका रूपमा त्रिदेशीय सडक निर्माण अहिले जारी छ । राष्ट्रिय गौरवको आयोजनाको महत्वपूर्ण खण्डको सफल नेतृत्व गरिरहेकी इन्जिनियर कल्पना अधिकारी ‘आइकोनिक इन्जिनियर’मा पर्छिन् । डेढ दशकदेखि सडक पूर्वाधारका विभिन्न क्षेत्रमा इन्जिनियरको काम गरिरहेकी कल्पना इमानदार र सक्षम इन्जिनियरमध्ये एक मानिन्छिन् । धेरै चुनौती भएका आयोजनामा पनि महिलाले सफल नेतृत्व गर्न सक्छन् भन्ने उदाहरणका रूपमा अधिकारीले आफूलाई स्थापित गरेकी छन् ।
इन्जिनियर एशोसिएशनको महिला वेलफेयर विभागको प्रमुखसमेत रहेकी उनी महिला शशक्तिकरण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि काम गर्छिन् ।
पाल्पाको माथागढीमा जन्मिएकी कल्पनाले २०६४ मा पुलचोक इन्जिनियरिङ क्याम्पसबाट इन्जिनियरिङ पूरा गरेकी हुन् । २०६८ मा सरकारी सेवाको निजामती सेवामा प्रवेश गरेकी उनले सडक विभागबाट आफ्नो जागिरे यात्रा शुरू गरेकी थिइन् ।
त्यसपछि सडक सुधार तथा विस्तार आयोजना अन्तर्गतको महत्वपूर्ण आयोजनामा कायममुकायम प्रमुख (कामु)का रूपमा डोटीको दिपायलमा गएर काम गरिन् ।
त्यसपछि अर्को प्रमुख आयोजना कालीगण्डकी करिडोरमा आएलगत्तै कामु जिम्मेवारी पाइन् । २०७९ फागुनमा उनी सिनियर डिभिजनल इन्जिनियरिका रूपमा बढुवा भएकी हुन् ।
उनको कार्यशैली, चुनौतीको सम्बोधन र समस्या समाधानको क्षमता प्रशंसायोग्य छ । उनीसँग मध्यपहाडी लोकमार्गमा आयोजना प्रमुख भएर पनि भएर काम गरेको अनुभव छ । त्यहाँको कुशल नेतृत्वले उनलाई फेरि कालीगण्डकी करिडोरमै आयोजना प्रमुख बनेर आउने अवसर मिल्यो । ‘अझै पनि महिलाप्रति ‘प्री माइन्ड सेट छ,’ उनी भन्छिन्, ‘महिलाहरूले नेतृत्व गर्न सक्दैनन भन्ने गरिन्छ । अनकन्सियस बायसनेस अझै पनि हाम्रो सोसाइटीमा छ ।’
कालीगण्डकी करिडोर विसं २०६५/०६६ मा शुरू भएको राष्ट्रिय गौरवको आयोजना हो । त्यसअघि परिकल्पना गर्दै त्यत्तिकै रोकिएको सडकलाई २०६७ मा आयोजना कार्यालय स्थापना गरेर राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको थियो । यो आयोजनाअन्तर्गत गैडाकोटदेखि बाग्लुङको मालढुंगासम्म २४० किमी र कालीगण्डकीपारि पर्वत खण्डमा कालीगण्डकी लोकमार्ग ५३ किमीगरी २९३ किमी सडक पर्दछ ।
अब यो आयोजना आगामी आव २०८३/२०८४ मा सकिनेगरी काम भइरहेको अधिकारी बताउँछिन् । ‘अझै पनि महिलाप्रति बायसनेस छ,’ कल्पना भन्छिन्, ‘नेतृत्व तहले महिलालाई विभेद गर्नु हुँदैन । महिला सबै क्षेत्रमा अब्बल र सफल नेतृत्व गर्छन् भन्ने विभिन्न उदाहरण प्रस्तुत गरिरहेका छन् ।’