०३ असार २०८३, बुधबार
युवा इन्जिनियर

ठूला विकास परियोजना हाँकिरहेका महिला ‘म्यानेजर’

जेठ १०, २०८२
बुटवल
ठूला विकास परियोजना हाँकिरहेका महिला ‘म्यानेजर’

देशका केही ठूला विकास पूर्वाधार परियोजना महिला इन्जिनियरले हाँकिरहेका छन् । राष्ट्रिय गौरव/महत्वका आयोजनामा युवा महिला ‘प्रोजेक्ट म्यानेजर’ले कुशलरूपमा नेतृत्व गरिरहेका छन् । ‘ब्यूरोक्रेसी’भित्र बलियो मानव पूँजी मानिएका उनीहरूले आफूलाई आयोजना निर्माणमा तल्लीन बनाएका हुन् । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरूसिंगे–चन्द्रौटा सडक आयोजना प्रमुख कुशलता न्यौपाने छन् । ६ वर्ष अघिदेखि विस्तार शुरू भएको बुटवल–नारायणगढ  (दाउन्ने पूर्व) खण्डको नेतृत्व अनुक्षा घिमिरेले गरेकी छन् । त्यस्तैगरी मुलुकलाई उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको नेतृत्व कल्पना अधिकारीले गरिरहेकी छन् ।

४० वर्ष मुनिका  उपसचिव  इन्जिनियरले चुनौतीपूर्ण काममा आफूलाई अब्बल सावित गराएका छन् । दृढता, लगन र निरन्तरताबाटै अहिलेको स्थानमा आफूहरू आइपुगेको उनीहरू बताउँछन् । 

गएको माघबाट विस्तार शुरू भएर तीव्रताका साथ कामअघि बढेको बुटवलदेखि पश्चिम गोरुसिंगे ५० किलोमिटर ‘हाइवे’ विस्तार आयोजना प्रमुख न्यौपाले गत असोजदेखि आयोजनाको नेतृत्वमा आएकी हुन् । आयोजना प्रमुख भएर आएपछि सिनियर डिभिजन इन्जिनियर (सीडीई) न्यौपानेले निर्माणको पूर्वतयारी कामअघि बढाइन् । इन्जिनियर न्यौपानेको कार्यशैलीले तीव्रताका विस्तारको काम भइरहेको छ ।

विसं २०७२ मा इन्जिनियरिङ उत्तीर्ण गरेकी कुशलता एक वर्षको अनुभवसँगै २०७३ मा निजामती सेवामा प्रवेश गरेकी हुन् । पुल महाशाखाबाट सेवा शुरू गरेकी न्यौपानेले देशमा सडक पुलहरूको अवस्था र त्यसका चुनौतीबारे राम्रोसँग बुझ्ने अवसर पाइन् । कुशलताको नेतृत्व क्षमता देखेर विभागले मध्यपहाडी लोकमार्गको रूकुमपूर्वदेखि अछामसम्मको ४४० किलोमिटर सडक आयोजनाको प्रमुख भएर काम गर्ने जिम्मेवारी दियो । 

लगत्तै २०७९ मा सीडीईमा बढुवा भएकी बुटवलकै छोरी बुटवलबाटै पूर्वपश्चिम राजमार्गको बुटवल गोरुसिंगे सडक आयोजना हाँकिरहेकी छन् । ‘आफूलाई प्रमाणित गर्न पनि महिलाले समकक्षीभन्दा बढी मेहनत गरेर स्थापित गर्नुपर्छ,’ कुशलता भन्छिन् । 

बुटवल–गोरुसिंगे सडक दाँयाबाँया निर्माण नभएसम्म बीचको कालोपत्रे भत्काइएको छैन । यात्रुलाई अप्ठ्यारो नहोस् भनेर यो अवधारणाका साथ काम अघि बढाइएको उनको भनाइ छ ।  

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मध्यभागमा पर्ने बुटवल–नारायणगढ सडकको दाउन्ने पूर्वी खण्डको काम अनुक्षा घिमिरेको नेतृत्वमा भइरहेको छ । उनी आयोजना प्रमुख भएर असोजमा आउँदा निर्माण कम्पनीले काम रोकेको थियो । उनकै पहलमा सरकार र ठेकेदारबीच छलफल गरेर निर्माणमा अघि बढाइएको हो । 

अहिले पूर्व खण्डको निर्माण धमाधम चलिरहेको छ । यो खण्ड ६५ किलोमिटर छ । दशैंलगतै योजना प्रमुख भएर आएकी उनकै सक्रियताले पछिल्लो तीन महिनामा आयोजनाको भौतिक प्रगति ५० बाट ६६ प्रतिशत पुगेको छ । अहिले बुटवल–नारायणगढ सडक दाउन्नेको १४ किलोमिटरबाहेक अन्य सबै एकतर्फी कालोपत्रे भएको छ । 

विसं २०७२ सालमा इन्जिनियरिङ पास गरेकी घिमिरे २०७३ मा  निजामती सेवामा प्रवेश गरेकी हुन् । निजामतीमा प्रवेशसँगै उनले थप अध्ययनलाई पनि निरन्तरता दिइन् । २०७६ मा उनले ट्रान्सपोर्टेसन इन्जिनियरिङ विषयमा मास्टर्स पास पूरा गरिन् । 

उनको काममा थप निखारता आउनेगरी विषय नि मिल्यो । उनले केही समय डिभिजन सडक बागलुङ कार्यालयमा पनि काम गरिन् । केही समय उनी मध्यपहाडी पुष्पलाल लोकमार्गमा पनि काम गर्न पुगिन् । 

उपसचिवमा बढुवा भइसकेपछि उनले दुइटा प्रमुख आयोजनामा कार्यालय प्रमुख भएर कामको अनुभव गरिन् । लोकप्रियताभन्दा परिणाममा विश्वास गरेर काम गर्दा सफल भइन्छ भन्ने उनको विश्वास छ । 

आफूले पाएको जिम्मेवारी पारदर्शी र जवाफदेही रूपमा निर्वाह गर्न आवश्यक रहेको उनी बताउँछिन् । घिमिरेले विकास परियोजनामा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन् । पूर्वाधार गुणस्तरीय र बलियो बनाउन स्पष्ट अडान राख्ने उनी निर्माणको गति बढाउन र व्यवसायीक र व्यक्तिगत जीवन सुधार गर्न सुझाव दिन्छन् ।

भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोरका रूपमा त्रिदेशीय सडक निर्माण अहिले जारी छ । राष्ट्रिय गौरवको आयोजनाको महत्वपूर्ण खण्डको सफल नेतृत्व गरिरहेकी इन्जिनियर कल्पना अधिकारी ‘आइकोनिक इन्जिनियर’मा पर्छिन् । डेढ दशकदेखि सडक पूर्वाधारका विभिन्न क्षेत्रमा इन्जिनियरको काम गरिरहेकी कल्पना इमानदार र सक्षम इन्जिनियरमध्ये एक मानिन्छिन् । धेरै चुनौती भएका आयोजनामा पनि महिलाले सफल नेतृत्व गर्न सक्छन् भन्ने उदाहरणका रूपमा अधिकारीले आफूलाई स्थापित गरेकी छन् । 

इन्जिनियर एशोसिएशनको महिला वेलफेयर विभागको प्रमुखसमेत रहेकी उनी महिला शशक्तिकरण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि काम गर्छिन् । 

पाल्पाको माथागढीमा जन्मिएकी कल्पनाले २०६४ मा पुलचोक इन्जिनियरिङ क्याम्पसबाट इन्जिनियरिङ पूरा गरेकी हुन् । २०६८ मा सरकारी सेवाको निजामती सेवामा प्रवेश गरेकी उनले सडक विभागबाट आफ्नो जागिरे यात्रा शुरू गरेकी थिइन् । 

त्यसपछि सडक सुधार तथा विस्तार आयोजना अन्तर्गतको महत्वपूर्ण आयोजनामा कायममुकायम प्रमुख (कामु)का रूपमा डोटीको दिपायलमा गएर काम गरिन् । 

त्यसपछि अर्को प्रमुख आयोजना कालीगण्डकी करिडोरमा आएलगत्तै कामु जिम्मेवारी पाइन् । २०७९ फागुनमा उनी सिनियर डिभिजनल इन्जिनियरिका रूपमा बढुवा भएकी हुन् ।

उनको कार्यशैली, चुनौतीको सम्बोधन र समस्या समाधानको क्षमता प्रशंसायोग्य छ । उनीसँग मध्यपहाडी लोकमार्गमा आयोजना प्रमुख भएर पनि भएर काम गरेको अनुभव छ । त्यहाँको कुशल नेतृत्वले उनलाई फेरि कालीगण्डकी करिडोरमै आयोजना प्रमुख बनेर आउने अवसर मिल्यो । ‘अझै पनि महिलाप्रति ‘प्री माइन्ड सेट छ,’ उनी भन्छिन्, ‘महिलाहरूले नेतृत्व गर्न सक्दैनन भन्ने गरिन्छ । अनकन्सियस बायसनेस अझै पनि हाम्रो सोसाइटीमा छ ।’ 

कालीगण्डकी करिडोर विसं २०६५/०६६ मा शुरू भएको राष्ट्रिय गौरवको आयोजना हो । त्यसअघि परिकल्पना गर्दै त्यत्तिकै रोकिएको सडकलाई २०६७ मा आयोजना कार्यालय स्थापना गरेर राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको थियो । यो आयोजनाअन्तर्गत गैडाकोटदेखि बाग्लुङको मालढुंगासम्म २४० किमी र कालीगण्डकीपारि पर्वत खण्डमा कालीगण्डकी लोकमार्ग ५३ किमीगरी २९३ किमी सडक पर्दछ ।

अब यो आयोजना आगामी आव २०८३/२०८४ मा सकिनेगरी काम भइरहेको अधिकारी बताउँछिन् । ‘अझै पनि महिलाप्रति बायसनेस छ,’ कल्पना भन्छिन्, ‘नेतृत्व तहले महिलालाई विभेद गर्नु हुँदैन । महिला सबै क्षेत्रमा अब्बल र सफल नेतृत्व गर्छन् भन्ने विभिन्न उदाहरण प्रस्तुत गरिरहेका छन् ।’

salt training

कमेन्ट गर्नुहोस्