
गर्मीमा चिसो पानीले शरीर र मन दुवैलाई शीतलता दिन्छ । तर, फ्रिजको अत्यधिक चिसो पानी स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरू बताउँछन् ।
प्राकृतिक रूपमा चिसो बनाइएको पानी स्वास्थ्यका दृष्टिले अझ लाभदायक हुन्छ । तर, गर्मीमा फ्रिजबिना पानी कसरी चिसो बनाउने त ?
गर्मीमा माटोको घैँटो प्रयोग गरेर पानीलाई प्राकृतिक तरिकाले चिसो राख्न सकिन्छ । घैँटोको पानी स्वास्थ्यका लागि लाभदायक त हुन्छ नै, साथै यसले प्राकृतिक रूपमा पानीलाई चिसो पनि बनाइराख्छ । घैँटोको पानीमा पाइने प्राकृतिक खनिज तत्व र माटोको सुमधुर सुगन्ध स्वास्थ्यवर्धक हुनसक्छ । तपाईं घैँटोको पानी फ्रिजको पानीभन्दा अझ चिसो र ताजा चाहनुहुन्छ ? त्यसो हो भने सजिला उपायहरू अपनाउन सक्नुहुन्छ ।
यी घरेलु उपायबाट गर्मीमा घैँटोको पानी फ्रिजको पानीभन्दा पनि चिसो राख्न सकिन्छ ।
घैँटो छायाँमा राख्नुहोस्
घैँटोलाई सधैं सीधा घाम नपर्ने ठाउँमा राख्नुहोस् । छायाँमा राख्दा पानी बढी समयसम्म चिसो रहन्छ ।
घैँटोलाई भिजेको कपडाले बेर्नुहोस्
मटकाको चारैतिर भिजेको सुती कपडा बेरेर राख्नुहोस् । यसले वाष्पीकरण प्रक्रिया बढाउँछ र पानी झन् चिसो हुन्छ ।
घैँटोलाई स्ट्यान्डमा राख्नुहोस्
घैँटोको तल काठ वा स्टिलको स्ट्यान्ड राख्नुहोस् । यसले घैँटोलाई भूइँबाट माथि राख्छ र चारैतिर हावा बहन सहज हुन्छ ।
राति घैँटोमा पानी भरौं
जब वातावरण चिसो हुन्छ, विशेषगरी रातिको समयमा घैँटोमा पानी हाल्दा बिहानसम्म पानी झन् चिसो रहन्छ ।
घैँटोको नियमित सफा गर्नुहोस्
घैँटोमा काइ जम्न नदिन वा दुर्गन्ध आउन नदिन हप्तामा कम्तीमा एकपटक सफा गर्नुहोस् । यसले घैँटोको चिसोपन कायम राख्छ ।
रातो माटोको घैँटो प्रयोग गर्नुहोस्
रातो वा कालो माटोबाट बनेका घैँटो चिसोपन कायम राख्न अझ सक्षम हुन्छन्।
घैँटो सधैं ढाकेर राख्नुहोस्
घैँटोलाई खुला नराख्नुहोस् । माथि काठ वा स्टिलको ढकनी लगाउनुहोस् ताकि चिसोपन ह्रास नहोस् र धुलो तथा फोहोर नपरोस् ।