
खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सबैभन्दा बढी ‘जीपीए’ ल्याएर उत्तीर्ण गर्ने एक/एक जना छात्रछात्रालाई नगद पुरस्कार प्रदान गरेको छ ।
गत वर्षको एसईईमा गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयबाट सबैभन्दा बढी जीपीए ल्याएर उत्तीर्ण गर्ने छात्रतर्फ थर्पुडाँडा माध्यमिक विद्यालय सप्तेश्वरका शिवकुमार राई र छात्रातर्फ सोही विद्यालयकी क्याल्सी राईलाई नगद एक/एक लाख पुरस्कार प्रदान गरिएको हो ।
शिवकुमारले ३.४५ जीपीए र क्याल्सीले ३.३९ जीपीए ल्याएका थिए । सिर्जनशील भरिया समाज र जी–फाउण्डेसनसँगको सहकार्यमा गाउँपालिकाले आयोजना गरेको बृहत् कृषि, जडीबुटी तथा शैक्षिक मेला एवं साकेला सिली प्रदर्शनी कार्यक्रममा पुरस्कृत विद्यार्थीका अभिभावकलाई नगद पुरस्कारको ‘चेक’ हस्तान्तरण गरिएको छ ।
विद्यार्थीलाई सामुदायिक विद्यालयमा पढ्न अभिप्रेरित गर्दै शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले बढी जीपीए ल्याएर एसईई उत्तीर्ण गर्ने छात्रछात्रालाई प्रोत्साहनस्वरूप नगद पुरस्कार दिइएको गाउँपालिका प्रमुख समिर राईले बताए । गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएर आर्थिक वर्ष २०७९/८० देखि सो पुरस्कार प्रदान गर्दै आएको छ ।
गाउँपालिकाले गत वर्षबाट ‘बुहारी शिक्षा कार्यक्रम’ पनि कार्यान्वयन गरेको छ । पढ्न मन हुँदाहुँदै वैवाहिक बन्धनमा बाँधिएका बुहारीलाई कक्षा–१२ सम्म निःशुल्क अध्ययन/अध्यापन गराउने उद्देश्यले सो कार्यक्रम ल्याइएको हो ।
गाउँपालिकाको नीतिअनुसार विवाहपछि पढ्न चाहने बुहारीहरुले कम्तीमा कक्षा–८ अनिवार्य उत्तीर्ण गरेको हुनुपर्नेछ । विवाह गरेर अध्ययन गर्न चाहने बुहारीलाई विद्यालयमा नाम लेख्न, फर्म भर्न, पुस्तक तथा स्टेसनरीका सामान र पोशाक उपलब्ध गराउने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिए ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको गृहकार्य परीक्षण कार्यक्रमसमेत गाउँपालिकाले कार्यान्वयनमा ल्याएको छ । कक्षाकार्य र गृहकार्य गर्नेक्रममा भरिएको कापीलाई सम्बन्धित विद्यालयका प्रधानाध्यापकले गाउँपालिकामा बुझाएर नयाँ कापी लैजाने व्यवस्था गरिएको छ ।
विद्यार्थीको कापी चेक गर्दा विद्यालय र शिक्षकको शैक्षेणिक क्रियाकलापबारे गाउँपालिकालाई जानकारी हुने भएकाले सो कार्यक्रम लागू गरिएको गाउँपालिकाका उपप्रमुख गुरुराज राईले जानकारी दिए ।