
विशाल ताल र हिउँ थुप्रिएका पर्वतहरूले घेरिएको मनमोहक सियाटल (अमेरिका)मा नेपथ्यले शुक्रबार शानदार उपस्थिति जनाएको छ । ब्यान्डले नयाँ-पुराना लोकरक गीत प्रस्तुत गरेर दर्शक-श्रोतालाई भरपूर मनोरञ्जन दियो ।
सातौं अमेरिका यात्रामा रहेको नेपथ्य सियाटलमा पहिलोपटक प्रस्तुत भएको हो । यस वर्षको अमेरिका यात्रामा भने ब्यान्डको यो दोस्रो शो हो । नेपथ्यले एक साताअघि टेक्सास राज्यको राजधानी अस्टिनमा पहिलो कन्सर्ट गरेको थियो ।
नेपथ्यका मुख्य गायक अमृत गुरुङले गीत गाउँदा दर्शकले पनि सँगसँगै गाए, नाचे, रमाइलो गरे ।
संगीतमा रमाउने संसारभरिका श्रोता-दर्शकलाई नेपालीपनका माध्यमबाट जोड्दै आएको अग्रणी ब्यान्डलाई हेर्न यहाँ विभिन्न ठाउँबाट नेपाली ओइरिएका थिए । अमेरिकी शहरको कन्सर्टमा झुम्न क्यानाडाबाट समेत नेपाली दर्शक आइपुगेका थिए ।
दर्शकमा नेपाली मात्रै थिएनन् । विदेशी अनुहार पनि देखिन्थे । तिनैमध्येका थिए जोन सिमिङटन र कोल फोरम्यानको जोडी । भूकम्प गएका बेला एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रतिनिधि भई नेपालको सेवामा लामो समय खटिएका जोनले नेपाली भाषा र संस्कृतिको पनि थोरै ज्ञान लिएका रहेछन् ।
‘मैले नेपथ्यबारे उतै थाहा पाएको थिएँ । त्यसपछि युट्युब र स्पोटिफाईमार्फत पछ्याउँदै आएको छु,’ जोनले सुनाए, ‘यो ब्यान्ड सियाटलमै आउँदै छ भन्ने थाहा पाएपछि पार्टनरसमेत लिएर आएको हुँ ।’
मञ्चमा मुख्य गायक तथा अगुवा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।
टेक्सासको अस्टिन र वासिङ्टन राज्यको सियाटलपछि तेस्रो प्रस्तुतिका निम्ति ब्यान्ड थोरै तल ओर्लिएर क्यालिफोर्नियाको लस एन्जलस शहर पुगेको छ । सिनेमा निर्माणका लागि विश्वमै अग्रणी मानिने हलिउड अटाएको यस सहरको ‘हाउस अफ ब्लुज’मा मे २६ मा ब्यान्डले लोकरक गीत सुनाउनेछ ।
ब्यान्ड मे ३१ मा पेन्सिलभेनियाको पिट्सबर्ग, जुन ७ मा इलिनोइसको सिकागो, जुन ११ मा म्यासाचुसेट्सको बोस्टन र अन्त्यमा जुन १४ मा नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो शहर पुग्नेछ ।