१४ असार २०८३, आइतबार

कल्पना रिजालको 'डाँफे' लोकार्पण

जेठ ११, २०८२
काठमाडौं
कल्पना रिजालको 'डाँफे' लोकार्पण

​प्रगतिशिल साहित्यकार कल्पना रिजालद्वारा लिखित नयाँ कृति 'डाँफे'को लोकार्पण गरिएको छ ।

पूर्वी दर्शन, प्रकृति र राष्ट्रियताका विविध पक्ष समेटेर लेखिएको सो कृतिलाई काठमाडौंमा आयोजित एक समारोहबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आज लोकार्पण गरेका हुन् ।

लोकार्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री पन्तले राम्रो लेख्न राम्रो पाठक हुनुपर्ने बताए । पढेका र लेखिएका सबै विषय सत्य हुन नसक्ने भन्दै उनले प्रत्येक कृतिका फरक-फरक विशेषता हुने धारणा व्यक्त गरे ।

कृतिको समीक्षा गर्दै अग्रज साहित्यकार भागीरथी श्रेष्ठले डाँफे उपन्यासको शैली र भाषा उत्कृष्ट रहेको बताइन् ।

साहित्यकार कल्पना रिजाल सरल स्वभाव, असल नेतृत्वकर्ता र निर्भीक व्यक्तित्व भएको जानकारी दिँदै श्रेष्ठले डाँफे उपन्यास अध्ययन गर्दा लेखक रिजाललाई स्वतन्त्र रूपमा कमल चलाउन सक्ने साहित्यकारको रूपमा भेटेको पनि बताइन् ।

उपप्राध्यापक ज्ञाननिष्ट ज्ञवालीले डाँफे उपन्यासमा पूर्वी दर्शन, वैराग्य, शान्ति, प्रकृति, राष्ट्रियता लगायतका विभिन्न पक्षहरू समेटिएको हुनाले उत्कृष्ट रहेको बताए ।

विचारको माध्यमबाट जस्तोसुकै विवादहरूको समाधान गर्न सकिने हुनाले नेतृत्वमा बस्नेहरूले मुलुकको हितका लागि वार्तामा बस्नु नै पहिलो विकल्प हुने कुरासमेत उपन्यासमा लेखक रिजालले प्रस्तुत गरेकी उनले बताए ।

पुस्तक लेखक रिजालले डाँफे उपन्यास नेपालको राष्ट्रिय चरो डाँफे जस्तै विविध रंग र सज्जाले भरिएको बताइन् । उनले पुस्तकमा परम्परावादी नेपाली समाजदेखि आधुनिक समाजमा देखिएका सकारात्मक र नकारात्मक पक्ष, राष्ट्र, राष्ट्रियता, पूर्वीय दर्शन लगायतका विभिन्न पक्षहरू समेटिएको जानकारी दिइन् ।

साहित्यकार, राजनीतिज्ञ, कवि, लेखक, शिक्षक, कलाकारलगायतका झण्डै एक सय जनाको सहभागिता रहेको लोकार्पण समारोहमा प्राज्ञ बाबा बस्नेत, इरादा गौतमलगायतले डाँफे उपन्यासका विविध पक्षमा चर्चा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्