
गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेश सरकारले ‘कन्सर्ट’ गर्ने भएको छ । यही जेठ १५ गते कोशी प्रदेश सरकारले कन्सर्ट गर्न लागेको हो ।
कोशी सरकारले महेन्द्रचोकमा दिउँसो ३ बजे आयोजना गर्ने कन्सर्टमा गायिकाहरू रचना रिमाल, गंगा गौतम, अञ्जु गौतम, सृष्टि हिङ्माङ र गायक सुमित खड्काको प्रस्तुति रहने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
कलाकार ल्याउने जिम्मा भने कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले लिएका छन् । ‘कलाकारको लागत कति हो भन्ने भीम दाहाललाई नै थाहा छ,’ आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव कमल थापाले भने, ‘प्रदेश सरकारसँग युवालाई जोड्नका लागि कन्सर्ट राखिएको हो ।’
यस्तै, कार्यक्रममा नेपाल प्रहरीको ब्याण्डको पनि प्रस्तुति रहनेछ । कन्सर्टको बीचबीचमा भने गणतन्त्रसँग जोडिएका गीत तथा भनाइ राखिने थापाले बताए । कार्यक्रमको मञ्च तथा साउ सिस्टमको व्यवस्थापन उद्योग वाणिज्य संघ कोशी प्रदेशले गर्नेछ ।
गणतन्त्र दिवसकै अवसरमा जेठ १४ गते ‘संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि, अवसर, सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको मूल समारोह समितिले जनाएको छ ।
कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्ने तथा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल र नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले टिप्पणी गर्ने बताइएको छ ।
यसअघि संविधान दिवसको अवसरमा गत असोज ३ गते संघीय सरकारले पनि दरबारमार्गमा कन्सर्ट आयोजना गरेको थियो ।
गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री हिक्मत कार्कीको अध्यक्षतामा मूल समारोह समिति समेत गठन गरिएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री रेवती रमण भण्डारीको संयोजकत्वमा निर्देशक समिति बनाइएको छ ।