२७ जेठ २०८३, बुधबार
डजको नेतृत्वबाट मस्कको राजीनामा

डजबाट एलन मस्कको बिदाइ– अब के हुन्छ उनले शुरू गरेको खर्च कटौती प्रक्रिया ?

जेठ १५, २०८२
काठमाडौं
डजबाट एलन मस्कको बिदाइ– अब के हुन्छ उनले शुरू गरेको खर्च कटौती प्रक्रिया ?
AFP - OLIVER CONTRERAS - copyright Shutterstock via indiandefencereview

एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पका शीर्ष सल्लाहकारको हैसियतमा रहेको आफ्नो सरकारी भूमिका त्यागेका छन् ।

उनले संघीय प्रशासनको संरचना घटाउने र सुधार गर्ने अभियानको नेतृत्व गर्दै आएका थिए ।

बुधबार साँझ गरिएको यो घोषणा मस्कको एउटा हलचलपूर्ण अध्यायको अन्त्यको रूपमा आएको हो, जसमा हजारौं कर्मचारीहरूलाई हटाइएको, विभिन्न सरकारी निकायहरू कमजोर पारिएको र धेरै मुद्दाहरू उठाइएको थियो ।

तर, यी सबै प्रयासबीच पनि वाशिङ्टनको अपरिचित वातावरणमा उनले सहज महसुस गर्न सकेनन्, र आफूले चाहेजति उपलब्धि हासिल गर्न सकेनन् ।

मस्कले खर्च कटौती गर्ने आफ्नो लक्ष्यलाई पहिलो चरणमा २ ट्रिलियन डलरबाट घटाएर १ ट्रिलियन र अन्ततः १५० अर्ब डलरमा झारे ।

उनले आफ्नो योजनामा देखिएको अवरोधप्रति बारम्बार असन्तुष्टि जनाए । कहिलेकाहीँ ट्रम्प प्रशासनका अन्य उच्च अधिकारीहरूसँग उनको असमझदारी समेत भयो, जसले मस्कको हस्तक्षेपलाई असहज ठाने ।

मस्कका योजनाहरूका कारण उनी राजनीतिक आलोचनाको घेरामा पनि परे ।

मस्कको सरकारी भूमिका सधैं अस्थायी हुने भनिएको थियो र उनले हालै आफ्ना व्यवसायहरू (विद्युतीय सवारी निर्माता टेस्ला र रकेट कम्पनी स्पेसएक्स)मा पुनः केन्द्रित हुने संकेत दिएका थिए ।

तर, प्रशासनका अधिकारीहरूले मस्क कहिले आफ्नो पदबाट हट्ने भन्नेबारे अस्पष्ट प्रतिक्रिया दिइरहेका बेला मस्कले एक्कासि आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत राजीनामा घोषणा गरे ।

'विशेष सरकारी कर्मचारीको रूपमा मेरो निर्धारित कार्यकालको अन्त्यसँगै म राष्ट्रपति @realDonaldTrump लाई फजुल खर्च घटाउने अवसर प्रदान गरेकोमा धन्यवाद दिन चाहन्छु,' मस्कले लेखेका छन्, '@DOGE (डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसेन्सी) को अभियान समयसँगै अझ मजबुत हुँदै जानेछ, किनभने यो सम्पूर्ण सरकारी निकायमा जीवनशैलीको रूपमा विकसित हुनेछ ।'

ह्वाइट हाउसका एक अधिकारीले नाम नखुलाउने सर्तमा मस्कको बिदाइ पुष्टि गरेका छन् ।

मस्कको यो घोषणा त्यसको भोलिपल्ट आएको हो, जब सीबीएस टेलिभिजनमा प्रसारित एक अन्तर्वार्तामा उनले ट्रम्पको प्रमुख कानूनी एजेन्डाको आलोचना गरेका थिए । ट्रम्पले जसलाई 'बिग ब्युटिफूल बिल' भन्ने गरेका छन्, त्यसबाट आफू निराश भएको प्रतिक्रिया मस्कले दिएका थिए ।

विधेयकमा कर कटौती र आप्रवासन कडाइजस्ता प्रावधान समावेश छन् । मस्कले यसले संघीय घाटा बढाउने र आफूले नेतृत्व गरेको डजको कार्यलाई कमजोर पार्ने आरोप लगाएका थिए ।

'विधेयक ठूलो हुन सक्छ, वा राम्ररी डिजाइन गरिएको हुन सक्छ, तर दुवै एकैपटक सम्भव छैन जस्तो लाग्छ,' मस्कले भने ।

बुधबार ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त विधेयकको बचाउ गरेका थिए ।

'म केही पक्षहरूबाट सन्तुष्ट छैन, तर अन्य पक्षहरूबाट निकै खुसी छु,' उनले भने ।

राष्ट्रपतिले विधेयकमा अझै केही परिवर्तन सम्भव हुने संकेत पनि गरे । 'हेरौं के हुन्छ, अझै प्रक्रियामा बाँकी धेरै कुरा छन्,' उनले भनेका छन् ।

हालै उक्त विधेयक हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट पारित भएको छ र अहिले सिनेटमा छलफल भइरहेको छ ।

मस्कको चिन्तालाई रिपब्लिकन सांसदहरूले पनि शेयर गरेका छन् । विस्कन्सिनका सिनेटर रन जोनसन ले भनेका छन्- 'म एलनको निराशालाई पूर्णरूपमा बुझ्छु । म ढुक्क छु कि खर्च कटौतीप्रति हाम्रो नेतृत्व गम्भीर नहुँदासम्म यो विधेयक प्रक्रियामा ढिलाइ गराउने पर्याप्त आधार हामीसँग छ ।'

हाउस स्पिकर माइक जोनसनले सेनेटमा विधेयकमा सकेसम्म थोरै संशोधन गरियोस् भन्ने चाहना व्यक्त गरेका छन् ।

बुधबार जोनसनले मस्कको योगदानप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ खर्च कटौती गर्न हाउस तयार रहेको बताएका छन् ।

'हाउस डजका निष्कर्षहरूप्रति प्रतिबद्ध छ र कार्यान्वयन गर्न तयार छ,' उनले भने ।

ट्रम्प प्रशासनमा काम गर्ने शुरूआति दिनहरूमा मस्क निकै उत्साहित थिए ।

उनले राष्ट्रपति ट्रम्पको उम्मेदवारीमा कम्तीमा २५० मिलियन डलर लगानी गरेका थिए । आफ्नै र्‍यालीहरू आयोजना गरेका थिए र सरकारको खर्चलाई अस्तित्व संकटको रूपमा चित्रित गरेका थिए ।

उनले ट्रम्पको बारम्बार खुलेर प्रशंसा पनि गरे । 'राष्ट्रपति ट्रम्पलाई चिनेपछि म उहाँलाई झन् बढी मन पराउन थालेको छु,' मस्कले फेब्रुअरीमा भनेका थिए, 'खुलारूपमा भन्नुपर्दा, म उहाँलाई माया गर्छु ।'

ट्रम्पले पनि मस्कको प्रशंसा गर्दै उनलाई सच्चा महान् अमेरिकी भनेका थिए । टेस्लाको बिक्रीमा गिरावट आउँदा ट्रम्पले ह्वाइट हाउसको ड्राइभवेमा टेस्ला गाडी प्रदर्शन गराएका थिए ।

तर, मस्कले विधेयकबारे व्यक्त गरेका आलोचनाले अहिलेको कानूनी बहसमा कस्तो प्रभाव पार्नेछ भन्ने स्पष्ट छैन ।​

  • एपीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्