०७ साउन २०८३, बिहीबार

सुरक्षा निकायलाई आवश्यक हातहतियार र सामग्री सम्पन्न गराइने

जेठ १५, २०८२
काठमाडौं
सुरक्षा निकायलाई आवश्यक हातहतियार र सामग्री सम्पन्न गराइने

सरकारले सुरक्षा निकायलाई आवश्यक हातहतियार र अन्य सुरक्षा सामग्रीको व्यवस्था गर्ने लक्ष्य लिएको छ । 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको रक्षा गर्दै सामाजिक सद्‌भाव र राष्ट्रिय एकतालाई बलियो बनाइने बताएका हुन् । 

‘सुरक्षा निकायलाई आवश्यक पर्ने सैन्य सामग्रीहरू, हातहतियार तथा सुरक्षा उपकरणको व्यवस्था गरिने छ’, मन्त्री पौडेलले भने,‘नेपाली सेनाको क्षमता अभिवृद्धि गरि राष्ट्रिय सुरक्षा, विकास निर्माण र विपद् व्यवस्थापनमा परिचालन गरिने छ ।’ 

पौडेलले नेपाली सेनाले सञ्चालन गर्दै आएको ‘बंकरदेखि ब्यारेक’ कार्यक्रममा निरन्तरता दिएका छन् । 

उनले नेपाल प्रहरीलाई शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्न सक्षम तुल्याइने बताए । सशस्त्र प्रहरीलाई सीमा सुरक्षा, विपद् व्यवस्थापन र शान्ति सुरक्षामा परिचालन गरिने पौडेलले बताए । 

अर्थमन्त्री पौडेलले अध्यागमन प्रणालीको स्तर वृद्धि गरेर अनलाइन पेमेन्ट सिस्टम र अनलाइन भिसा प्रणालीमार्फत् भिसा दिइने बताए । 

स्टार्टअप व्यवसायमा काम गर्ने लगानीकर्तालाई नि:शुल्क आवासीय भिसा उपलब्ध गराइने जानकारी पौडेलले दिए । 

उनले युवा तथा बालबालिकालाई लागूऔषध दुर्व्यसनीबाट जोगाउन समुदायसँगको सहकार्यमा कार्यक्रम विस्तार गर्ने बताए । 

कारागारलाई सुधार गृहमा रूपान्तरण गर्न भौतिक पूर्वाधार विकास, सीपमूलक तालिम र मनोसामाजिक परामर्श उपलब्ध गराउने जानकारी पौडेलले दिए ।

कमेन्ट गर्नुहोस्